अर्थ

को हुन् लगानी बोर्डको सिइओका १२ प्रतिस्पर्धी ?

विगत तीन महिनादेखि रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सरकारी कर्मचारी, बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, पूर्व–प्रशासकले निवेदन दिएका छन्।  

यसअघि बोर्डको सिईओमा हाल नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी कार्यरत रहेकोमा उनी गर्भनरमा नियुक्त भएपछि उक्त पद रिक्त थियो।  

बोर्डका अनुसार लामो समयदेखि सिईओको पद रिक्त रहेकाले गत शुक्रबार ३ बजेसम्म आवेदन खुला गरिएको थियो भने सो अवधीसम्म १२ जनाले निवेदन दिएका थिए।  

बोर्डका अनुसार सीईओका लागि आवेदन दिनेहरूमा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य रहेका छन्।  

त्यसैगरी, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पूर्व सहसचिव लक्ष्मीविलास कोइराला, बोर्डमा परामर्शताका रूपमा कार्यरत इन्जिनियर आशिष गजुरेलले निवेदन दिएको बोर्डले जनाएको छ।  

बोर्डको सिइओका लागि निवेदन दिनेमा विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, विशेष आर्थिक क्षेत्र प्राधिकरणका पूर्व कार्यकारी निर्देशक चण्डीका भट्ट र सरोज कोइराला रहेका छन्। सरोज कोइरालालाई विदेशी लगानीको जानकारको रुपमा लिने गरिन्छ।  

त्यसैगरी, माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेलले बोर्डको सिइओका लागि आवेदन दिएका छन्।  

बोर्डको सीईओका लागि अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ।

त्यसैगरी, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हुनुपर्ने कानुनी व्यवस्था छ।  

बोर्डका अनुसार सिइओको लागि आवेदन दिएका १२ जनामध्ये तीन जनालाई छनौट गर्न समिती गठन गरिएको छ। अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र अर्थशास्त्री गोविन्द नेपाल सदस्य रहेको छनौट तथा सिफारिस समितिले १२ जना प्रतिस्पर्धीमध्ये ३ जनाको नाम तयार गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछन्।  

त्यसैगरी, सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गरेपछि मन्त्रिपरषद्ले तीन मध्ये एक जना लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने प्रावधान रहेको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुन्छ।

 

 

प्रकाशित: २१ असार २०७७ १०:१९ आइतबार

लगानी बोर्ड