अर्थ

सबैखाले उपभोग्य वस्तुको मूल्यवृद्धि

पोखराको चिप्लेढुंगामा रहेको मुनाल स्टोर्समा उपभोग्य वस्तु किन्न पुगेका उपभोक्ता । तस्बिर : नागरिक

कोरोना संक्रमणका कारण मुलुकमा झन्डै दुई महिनादेखिको लकडाउन जारी रहँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै वृद्धि भएको छ । लकडाउनका कारण काम गर्न नपाएका तल्लो वर्ग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले झनै मारमा परेका छन् । सबैजसोे उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा उपभोक्ताको भान्सा महंगो बनेको छ ।  

व्यवसायीका अनुसार अहिले चामलमा भन्दा पनि अरु उपभोग्य वस्तुको मूल्य बढी वृद्धि भएको छ । चिप्लेढुंगाको मुनाल स्टोर्सका सञ्चालक मोति भुजेलका अनुसार नुन र चिनीबाहेक अरु सबैजसो उपभोग्य वस्तुको मूल्य बढेको छ । कतिपय व्यवसायीले चामलमा पनि केही मूल्य बढाएका छन् । भूजेलका अनुसार सबैखाले गेडागुडीको लकडाउनअघिको मूल्यमा प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । त्यस्तै खानेतेलमा प्रतिलिटर १० रुपैयाँसम्म बढेको छ । मैदामा प्रतिकिलो २, आँटामा ३ रुपैयाँसम्म मूल्य बढेको छ ।  

‘चामलको मुल्यमा खासै अन्तर छैन । तर कतिपय व्यवसायीले केही मूुल्य बढाएर चामल बेचेका हुन सक्छन्,’ भूजेलले भने, ‘अरु उपभोग्य वस्तुको मूल्य भने बढेको छ । यसले उपभोक्ता मारमा परेका छन् ।’ मूल्यवृद्धि हुनुमा ढुवानी खर्चदेखि मजदुरको ज्याला बढ्नु मूल कारण हो । लकडाउनको अप्ठेरो अवस्थामा बढी भाडा तिरेर भए पनि उपभोग्य वस्तु ढुवानी गर्दा र मजदुरलाई बढी ज्याला दिनुपर्दा उपभोग्य वस्तुको मूल्य बढेको उनले बताए ।  

‘प्रतिट्रक पाँचदेखि आठ हजार रुपैयाँ ढुवानी भाडा बढेको छ । त्यस्तै उपभोग्य वस्तु लोड र अनलोड गर्दा पनि मजदुरलाई बढी ज्याला दिनुपरेको छ,’ भूजेलले भने, ‘बढी ज्याला र भाडा नपाउने हो भने अहिले उपभोग्य वस्तु ढुवानी नै हुँदैन । व्यवसायीले बढी तिरेको भाडाको रकम उपभोग्य वस्तुको मूल्यमा थपेर असुल गर्नुको विकल्प छैन ।’ मजदुरले अहिले जोखिम मोलेरै उपभोग्य वस्तु ढुवानी गरेकाले पनि बढी भाडा र ज्याला तिर्न व्यवसायी मञ्जुर भएको उनले बताए । ‘उद्योगले खासै मूल्य बढाएका छैनन् । तर, ढुवानीमा पहिले जस्तो एकरुपता छैन,’ उनले भने, ‘आफू अनुकूल ढवानी भाडा परेको छ ।’

ढुवानी भाडा र मजदुरको ज्याला बढ्यो भनेर गुनासो गर्ने अवस्था पनि नरहेको उनले बताए  । ‘अहिले गुनासोभन्दा पनि कसरी उपभोग्य वस्तु सहजै पाइन्छ भन्ने अवस्था छ । कामदारलाई खुुसी बनाउँदा बढी मूल्य तिर्नु परेको छ । उद्योगले नै मजदुरलाई बढी ज्याला लिएर काम लगाएका छन्,’ उनले भने, ‘अहिले ढुवानीमा प्रतिस्पर्धा पनि गर्ने अवस्था छैन । सबैतिर असहज हुँँदा पनि उपभोग्य वस्तु सहजै ढुवानी भइरहेकाले त्यसैमा चित्त बुझाउनुपरेको छ ।’

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला पनि उपभोग्य वस्तुको मूल्य बढ्दा यो बेला तल्लो वर्गका नागरिक बढी मर्कामा परेको बताउँछन् । कोइरालाले पनि बजार अनुगमन गर्दा सबैजसो उपभोग्य वस्तुको मूल्य बढेको जानकारी दिए । बजारमा अहिले खानेतेल, मैदा, आँटा, चामल, साबुन, दाल, गेडागुडीलगायत सबै उपभोग्य वस्तुको मूल्य बढेको अनुगमनका क्रममा पाएको कोइरालाले बताए । अध्यक्ष कोइरालाले चामलको किलोमा ५ रुपैयाँसम्म मूल्य बढेको बताए ।

‘पहिला प्रतिस्पर्धाका आधारमा केही सस्तोमा बजारमा चामल सस्तोमा किन्न पाइएको थियो । तर, अहिले त्यो मूल्य बढेको छ,’ कोइरालाले भने । उनका अनुसार गेडागुडी र दालको मूल्य बढी वृद्धि भएको छ । लकडाउन अवधिम मात्र मसुरोको दालको मूल्य तीनपटकसम्म बढेको अनुगमनका क्रममा पाएको उनले बताए । लकडाउनअघि बजारमा मसुरोको दाल प्रतिकिलो ८८ रुपैयाँ रहेकोमा बारम्बारको वृद्धिपछि अहिलेसम्म प्रतिकिलो १ सय २४ रुपैयाँ पुगेको उनले बताए  

म्ूल्य वृद्धिभन्दा सहज आपूर्ति आवश्यक रहेकाले पनि उपभोक्तको गुनासो कम सुनिएको उनले बताए । ‘बढी ढुवानी भाडा लिएको भनेर व्यवसायी र ढुवानीकर्तालाई कारवाही गरेर आपूर्ति नै हुन नदिने हो भने त भोकमरी निम्तिन सक्छ,’ उनले भने, ‘त्यही भएर सहज आपूर्तिलाई पहिलो प्राथमिकता दिइएको छ । यस्तो बेलामा चालकले रिस्क लिएर भए पनि खाद्यान्न आपूर्ति गरेका छन् ।’ सबै नागरिकको आम्दानी घटिरहेको बेला उपभोग्य वस्तुको पनि भाउ बढ्दा कम आयस्रोत हुने मजदुर झनै मर्कामा परेको उनले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:२० मंगलबार

लकडाउन कोरोना सङ्क्रमण