अर्थ

बिउ किनेर ब्याड राख्न २४ घन्टा मात्र

बर्दिया, - यतिबेला सातामा तीन दिन चार घन्टाको दरले बजार खुल्छ । चार घन्टा अत्यावश्यक सामानका पसल खुल्छन् । दुई सातामा २४ घन्टा बजार खुल्छ । 

कृषि प्राविधिकका अनुसार जेठ दोस्रो सातासम्म धानको बिउ रोपिसक्नु पर्छ । किसानले धानको बिउ राख्न नसके हिउँदे नगदे बाली (मसुरो, तोरी, आलु, चना, मकै) उत्पादनमा समेत असर पर्छ । यही २४ घन्टाको अवधिमा बिउ किनेर ब्याड राख्न नसके किसानले वर्षभर नोक्सानी बेहोर्नुपर्छ । २४ घन्टामा बजारबाट बिउ किनेर खेतमा धानको ब्याड राखी सक्नुपर्ने भएकाले किसानलाई चटारो छ । 

जिल्लामा ५० हजार हेक्टरमा धान खेती हुन्छ । त्यसका लागि दुई हजार पाँच सय मेट्रिक टन बिउ चाहिन्छ । किसान बिउको प्रतीक्षामा छन् । तर बजारमा धानको बिउको सहज उपलब्ध छैन । कृषि ज्ञान केन्द्र, बिउबिजन कार्यालय र व्यवसायीसँग समेत बिउ अभाव छ । 

बाहिरी जिल्लाबाट आउने धानको बिउ ३० प्रतिशतले मात्र बदले पनि अभाव हुने देखिएको छ । शतप्रतिशत बिउ बदले भने किसानले बिउ नै नपाउने अवस्था छ । जिल्लामा दुई लाख मेट्रिक टन धान उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ । एक लाख टन धान जिल्लामा खपत भए पनि एक लाख टनभन्दा बढी धान जिल्लाबाहिर निकासी हुन्छ । 

प्राविधिकको सल्लाहबिना वा लोकल धानको बिउ राख्दा उत्पादनमा ह्रास आउने जोखिम बढेको कृषि ज्ञान केन्द्र प्रमुख कृषि प्राविधिक कमल तामाङ बताउँछन् । ‘अन्जानमा  बिउ लगाउँदा किसानको लगानी डुब्छ,’ उनी भन्छन्, ‘वर्षैपिच्छे फरक जातका ब्याड राख्नु पर्छ, किनभने बिउ राख्दा ठूलो, सानो हुने गर्छ र उत्पादनमा भारी गिरावट आउँछ ।’ उनका अनुसार कृषि पेसामा आश्रित अधिकांश किसान प्राविधिक ज्ञानको अभावमा छन् । 

केन्द्रले हाइब्रिड धान लगाउँदा प्राविधिक सल्लाह दिने गर्छ । सुक्खा खेत वा डुवान हुने खेतमा फरक फरक प्रजातिको धान लगाउन प्राविधिकले सुझाउने गर्छन् । तर बिउ नपाएका बेला प्राविधिक सुझाव नलिई विभिन्न जातका धानको बिउ लगाइसक्नुपर्ने बाध्यता छ । 

जिल्लामा २०५८ मा पहिलोपटक मकवानपुर जातको धान लगाउन सुरु गरिएको थियो । अधिकांश किसानले यो जातको धान लगाए पनि विस्तार गर्न सकेका थिएनन् । अहिले किसानले यो धानको नाम पनि मकवानपुर नै राखेका छन् । चिउराका लागि खपत हुने यो धानको पूर्वी जिल्लामा अहिले उच्च माग छ । कृषिमै भविष्य देखेका रामलौटन चौधरीले मकवानपुर जातको धान भिœयाएको दाबी गर्छन् ।

तर सडक सञ्जालको अभाव, नदी कटान, पुल नहुनु, सरकारको विभेदकारी दृष्टिकोणलगायत कारणले यो क्षेत्र पछि परेको स्थानीयको भनाइ छ । तर अहिले अवस्था फेरिएको छ । नयाँ जातको धानले सुरुमा राम्रो उत्पादन नभएपछि निरुत्साहित भएका किसान राजापुर क्षेत्रको पहिचानमात्र होइन त्यही धान अधिकांश कृषकको जीविकोपार्जनका लागि मकवानपुर धान मुख्य आधार बनेको छ ।

खाद्यान्न एवं तेलहन बाली बिउ उत्पादनका हिसाबले यो जिल्ला बेग्लै पहिचान बनाउन सफल छ । जिल्लामा अघिल्ला वर्षका तुलनामा धान, गहुँ, तोरी उत्पादन गत वर्ष अधिक भयो । लकडाउनको प्रभावले सबै बाली प्रभावित हुने देखिएको गोलाका चैतु थारुले बताए । 

मल अभाव
यतिबेला धानबालीका लागि एक हजार टनभन्दा बढी डिएपी मल आवश्यक छ । कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले मागअनुसार आपूर्ति गर्न सकेका छैनन् । टाढाका सहकारीलाई केही उपलब्ध गराए पनि सहज आपूर्ति हुन नसकेको साल्ट ट्रेडिङका प्रमुख हेमन्त कार्कीले बताए । ‘अधिकृत बिक्रेतामार्फत थोरै डिएपी दिएका छौं, तर किसानको मागअनुसार उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने । मल लिन संस्थान पुग्ने किसान निराश भएर फर्कनुपरेको छ । छिटफुट खुल्ने एग्रोभेटमा मल छैन । भारतबाट आउन सकेको छैन । अनुदानको मल पनि किसानले पाउन सकेका छैनन् । 

मल लिन आउनेलाई रित्तै फर्काउनुपरेको संस्थानका कर्मचारी किरण चौधरीले बताए । धानबालीका लागि युरिया मलको माग बढी छ,’ उनले भने, ‘यतिबेला युरिया अलिअलि भए पनि डिएपी छैन ।’ उनका अनुसार यसअघि टाढाका सहकारीमार्फत किसानलाई डिएपी वितरण गरेकाले अहिले गोदाम रित्तिएको हो । 

कृषि सामग्री संस्थानका अनुसार ३४ हजार आठ सय हेक्टर सिँचित र नौ हजार सात सय ५० गरेर ४४ हजार पाँच सय ५० हेक्टरका लागि रासायनिक मल आवश्यक पर्छ । 

प्रकाशित: २८ वैशाख २०७७ ०३:०५ आइतबार

कृषि बिउ धान_खेती