अर्थ

कर छुट गर्न व्यवसायीको माग

वीरेन्द्रनगर- सरकारले व्यापारी तथा उद्योगीबाट लिँदै आएको कर तथा विभिन्न शुल्क छुट गर्नुपर्ने सुर्खेतका व्यापारीहरूले माग गरेका छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय धरासय बन्दै गएको भन्दै उनीहरूको यस्तो माग गरेका हुन् ।

बिहीबार सुर्खेत उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालयमार्फत अर्थ मन्त्रालयलाई आठ बुँदे मागपत्रसमेत बुझाएका छन् । लकडाउनको अवधिभरिको ब्याज पूर्णरूपमा छुट दिनु पर्ने उक्त मागपत्रमा उल्लेख गरिएको छ । व्यापारीहरूको छाता संगठन उद्योग बाणिज्य संघले लकडाउनको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम् सहयोगको प्याकेज निर्धारण गर्न निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

यस्तै यो अवधिमा बन्द रहेका उद्योग प्रतिष्ठानलाई नगद अनुदान तथा लकडाउनको अवस्थासम्मको लागि श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागि ५० प्रतिशत आर्थिक अनुदान दिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित: १८ वैशाख २०७७ १५:३८ बिहीबार

कर व्यवसायी कोभिड–१९