अर्थ

पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध

काठमाडौं - लकडाउनमा अत्यावश्यक सेवाका वस्तुको ढुवानी सहज गर्नुपर्ने भए पनि मुलुकका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ ढुवानीमा अबरोध सृजना भएको छ। नेपाल आयल निगमका अनुसार नेपालगन्ज, धनगढी, झापा डिपोमा इन्धन ढुवानीमा असहजता आएको हो।

ढुवानी असहज हुँदा ती क्षेत्रमा गहुँ थन्काउने बेलामा किसानले थ्रेसर चलाउन मागका आधारमा डिजेल पाएका छैनन्। नेपालगन्जका स्थानीयले पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध गरेका छन्। झापामा भारतीय कस्टमको कारण र धनगढीमा टा्यंकर चालक तेल ढुवानी गर्न भारत जान नमानेकाले ढुवानीमा समस्या सृजना भएको निगमले जनाएको छ। 

ढुवानी गर्न भारत जाने टा्यंकर चालकबाट कोरोना आउन सक्ने आशंकामा नेपालगन्जमा वडाध्यक्षको नेतृत्वमा आएका स्थानीयले अबरोध गरेका हुन्। इन्डियन आयल कर्पोरेसन (आइओसी)को गोण्डाबाट डिजेल लिएर आएका २१ टा्यंकरलाई आइतबार आयल निगम नेपालगन्ज राँझा डिपोमा छिर्न रोकेका थिए। चालकलाई क्वारेन्टाइनमा राख्नुपर्ने माग गर्दै स्थानीयले अबरोध गरेको निगमको नेपालगन्ज डिपो प्रमुख नवविनोद पोखरेलले बताए।

टा्यंकर चालक एउटै हुने भएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखेर नपठाए इन्धन आयातमा ठप्प हुन्छ। लकडाउनको कारण अन्य सवारी नचले पनि नेपालगन्जमा त्यस क्षेत्रमा खेती गर्ने सिजन भएकाले डिजलको माग छ। बाँके, बर्दिया, दाङलगायतका जिल्लाका किसान गहुँ बाली उठाउन थ्रेसर प्रयोग गर्छन्। प्रयाप्त मात्रमा ढुवानी नभएकाले मागका आधारमा डिजेल दिन नसकेको डिपो प्रमुख पोखरेलले बताए। ‘आइतबार २४ टा्यंकर माग थियो,’ पोखरेलले भने, ‘स्टक थोरै भएकलो १५ गाडीमात्र दियौं।’ डिपोमा छिर्न नदिएपछि छलफलपछि आइतबार अवेर अन्तिम पटक भन्दै छिर्न दिएका थिए। ‘अर्को पटक नआउने सर्तमा डिपोमा छिर्न दिए,’ उनले भने, अब कसरी ढुवानी सुचारु गर्ने समस्या सृजना भएको छ।‘

भारतमा कोरोनाको संक्रमण उच्च गतिमा फैलिएकाले कतिपय चालकहरु इन्धन ढुवानी गर्न जान अटेर गरिरहेको निगमले जनाएको छ। भारत जान नदिए निगमको अमलेखगन्ज डिपोबाट धनगढी डिजेल लैजान सकिने भए पनि महंगो पर्ने पोखरेलले बताए। तर, नेपागन्जबाट आइओसीको गोण्डा नजिक पर्ने भएकाले अमलेखगन्ज डिपोबाट ढुवानी गर्दा धेरै खर्चिलो हुन्छ। 

कोरोनाको सन्त्रासले निगमको धनगढी डिपोबाट पनि टा्यंकर चालक भारत जान अटेर गरिरहेको निगमले जनाएको छ। त्यहाँ एक सातादेखि भारतबाट इन्धन आयात भएको छैन। ट्यांकर चालक आइओसीको डिपो जान नमान्दा ढुवानी रोकिएको निगम धनगढी डिपो प्रमुख सर्पराज शर्माले बताए। धनगढीमा भारतको आइओसी बन्छरा डिपोबाट इन्धन आयात हुन्छ। दैनिक २० ट्यांकरले तेल ढुवानी गर्दै आएका थिए।

बन्दको समय भए पनि धनगढी आसपासका जिल्लामा दैनिक १५ ट्यांकर तेलको माग रहेको शर्माले बताए। ‘गहुँ थ्रेसिङ सिजन सुरु भएकाले डिजेलको माग छ,’ शर्माले भने, ‘मागका आधार दिन सकेका छैनौं।’ आइओसीबाट ल्याउन नसकेपछि नेपालगन्ज र भैरहवाबाट सिमित परिमाणमा लगेर बिक्री गरेको उनले बताए। नेपालगन्ज डिपोमा पनि समस्या आएपछि थप अप्ठ्यारो पर्ने उनले बताए। भैरहवाबाट तेल लैजाँदा लागत निकै महंगो पर्छ। धनगढीबाट भारतको बन्छरा जान एक सय ७० किलोमिटर मात्र छ। ‘आइओसीबाट ढुवानी सुचारु गर्ने विषयमा छलफल भैरहेको छ,’ उनले भने।

चालकको स्वास्थ्य सुरक्षामा निगम चिन्तित भएकाले सावधानी अपनाएर ढुवानी गर्न चालकलाई आग्रह गरिरहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। पौडेलका अनुसार चालकलाई सुरक्षाका लागि कपडा, ग्लोब, मास्कलगायतका सामग्री वितरण गरिएको छ। ‘चालकको सुरक्षामा संवेदनशील छौं,’ पौडेलले भने, ‘टयांकर पनि सेनिटाइज गर्छौं।’ उनका अनुसार चालकलाई प्रोत्साहन गर्नका लागि भारतबाट एक टिप तेल ढुवानी गर्नेलाई अतिरिक्त तीन हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको छ। आवश्यक सहजीकरण गर्न स्थानीय प्रशासनलाइ पनि अनुरोध गरिएको छ। सरकारले पनि अत्यावश्य सेवाका वस्तुको ढुवानीमा अबरोध नगर्न आग्रह गर्दै आएको छ। 

त्यसैगरी पूर्वका लागि झापाको काकडभित्ता नाका हुँदै आउने इन्धन ढुवानी पनि रोकिएको छ। झापामा भारतीय कस्मटका कारण इन्धन ढुवानी हुन नसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। ‘सिलगुढी हुँदै आउने इन्धन आयात रोकिएको छ,’ उपाध्यायले भने, ‘यो विषयमा भारतीय कस्टमसँग कुरा भैरहेको छ।’

अहिले झापा र त्यस आसपासका व्यवसायीले निगमको विराटनगर डिपोबाट डिजेल लगिरहेका छन्। विराटनगरमा निगमको अमलेखगन्ज डिपोबाट इन्धन लैजान्छ। निगमले त्यस क्षेत्रका पम्पका लागि झापाको डिपोबाट तेल बिक्री गर्दै आएको थियो। विभिन्न जिल्लामा देखिएको समस्या समाधान गर्नका लागि अध्ययन गरेर समस्या समाधान गर्नका लागि निगमले कार्यदल बनाएको छ।

प्रकाशित: ८ वैशाख २०७७ ०७:३९ सोमबार

पेट्रोलियम_पदार्थ ढुवानी लकडाउन