अर्थ

दुई सय २८ विदेशी स्वदेश फर्किए

काठमाडौं, – शुक्रबार नेपालमा अलपत्र विभिन्न १९ मुलुकका दुई सय २८ जना स्वदेश फर्केका छन् । बेलायतबाट रित्तै आएको टाइटन एयरको बोइङ ७६७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २८ जनालाई दुबई हुँदै बेलायत उडाएको विमानस्थल कार्यालयले जनाएको छ । 

उक्त उडानमा पाँचजना बच्चासमेत छन् । नेपालस्थित बेलायती दूतावासले मगाएको टाइटनको दुई सय ६५ सिट क्षमताको उक्त उडानमा ४० जना नेपाली मूलका नागरिकसहित एक सय ८८ जना ब्रिटिस पासपोर्टधारीको उद्धार गरिएको हो ।
उक्त उडानमा यात्रा गर्नेमध्ये अधिकांश बेलायती मूलका रहे पनि अस्ट्रेलिया, अमेरिका, मेक्सिको, क्यानडा, फ्रान्स, नेदरल्यान्ड, स्विजरल्यान्ड, स्पेन, आयरल्यान्ड, बेल्जियम, पोर्चुगल, इटाली लगायत देशका नागरिकसमेत छन् । 
त्यस्तै, शुक्रबार एयर अरेबियाको जहाजले समेत नेपालबाट कार्गाे उडान भरेको छ । सारजहा एयरपोर्टबाट आएको उक्त जहाज कार्गाेसहित फर्किएको थियो । सरकारले गत चैत ८ देखि आगामी वैशाख १८ सम्मलाई अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।

यता, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले एडभाइजरी जारी गर्दै आफ्ना सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय हवाई यात्रा सहज बनाउन आह्वान गरेको छ ।

धेरैजस्तो देशमा लकडाउनका कारण उडानमा प्रतिबन्ध रहेकाले विभिन्न देशमा हवाई यात्रु अलपत्र रहेको जनाउँदै आइकाओले हवाई यात्रा सहज बनाउन आह्वान गरेको हो ।

व्यापारिक उडानलाई समेत सहज बनाउन अह्वान गर्दै आइकाओका महासचिव फाङ लिऊद्वारा जारी एडभाइजरीमा कुनै पनि मुलुकले आफ्ना नागरिक फिर्ता लैजान चाहेमा अवरोधबिना उडान अनुमति दिन सदस्य मुलुकलाई आह्वान गरिएको छ ।

 

प्रकाशित: ६ वैशाख २०७७ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App