अर्थ

कर भुक्तानी अवधि सार्ने तयारीमा सरकार

काठमाडाैँ - अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीलाई कर भुक्तानीको अवधि सार्ने तयारी भइरहेको बताएका छन्। बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिएसँगै व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने दायित्व अन्तर्गत सरकारलाई बुझाउनु पर्ने कर केही समयका लागि पर सार्ने विषयमा छलफल भइरहेको बताए।

सरकारको नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्तासमेत रहेका खतिवडाले कोरोना भाइरसका कारण मुलुकमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले तत्कालै आतिहाल्नु पर्ने अवस्था नआएको बताए। ‘मुलुकको पर्यटन क्षेत्रबाहेक व्यापार, व्यवसाय, उद्योग, वित्त, निर्माण क्षेत्र स्वभाविक रूपमा अगाडि बढिरहेको छ,’ उनले भने, ‘कोरोनाले सबैभन्दा ठूलो प्रभाव मुलुकको पर्यटन क्षेत्रमा परेको छ तर, दुई महिनाका अवधिमा यो क्षेत्र प्रभावित भए पनि समस्या समाधान हुने बित्तिकै पुनः पर्यटक फर्काउने खालका योजना ल्याउछाैँ।’

मुलुकको पर्यटन क्षेत्रबाट कूल ग्राहस्थ उत्पादनमा करिब तीन प्रतिशत योगदान गरेको बताउँदै उनले पर्यटन क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा ठूलो प्रभाव नपर्ने भएकाले सबैलाई संयमता अपनाउन आग्रह गरेका छन्। कोरोना भाइरस संक्रमण बढ्न सक्ने भएकाले सबैको आग्रहमा एसइई परीक्षा सारिएको उनले बताए। विद्यार्थीलाई जोखिममा नराख्न अभिभावकसहितको आग्रहमा शैक्षिक पात्रोलाई असर नपर्ने गरी केही दिनका लागि पछाडि सारिएको उनले बताए।मन्त्री खतिवडाले दुई छिमेकी मुलुक चीन र भारतको अवस्थालाई नियालिरहेको बताउँदै उनले मुलुकको बैंकिङ प्रणालीमा पर्याप्त पुँजी रहेको पनि बताए। त्यसैगरी, होटलमा कार्यरत कर्मचारी केही प्रभावित हुने भएपनि सामाजिक सुरक्षासमेत रहेकाले उनीहरूले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।

कोरोना भाइरसका कारण चीनबाट आयात नभए पनि भारततर्फको नाकाबाट आयात भइरहेकाले खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री अभाव नहुने उनले बताए। सो अवसरमा उनले कोरोनाका कारण मुलुकमा आउने रेमिट्यान्स केही घटे पनि मुलुकको बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेकाले आत्तिइहाल्नु पर्ने अवस्था नरहेको बताए।

प्रकाशित: ७ चैत्र २०७६ ०२:१५ शुक्रबार

कोरोना_भाइरस कर_भुक्तानी