अर्थ

'घर बनाउन समय तोक्ने पैसा चाँही रोक्ने'

पुनर्निर्माण हुँदै गरेको घर । फाईल तस्बिर : नागरिक

गोरखा- ‘घर बनाएर सकेको तीन महिना भयो, भूकम्पको तेस्रो किस्ता लिन धाएको दुई पटक भो, अहिले पनि पैसा छैन भनेर फर्काउँछन्’ गोरखा नगरपालिका वडा नम्बर ९ का हरी खत्रीले भने। ‘घर बनाउन चाँही समय तोक्ने बनाएपछि पैसा छैन भन्दै रोक्ने?’ पुनर्निर्माण प्राधिकरण अन्र्तगतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईमा भेटिएका उनले गुनासो गर्दै भने।

खत्री जस्तै दिनहुँ भूकम्प लाभग्राहीहरु घर निर्माण गरेपछि अनुदान बापत पाउने पैसा किन आएन भन्दै कार्यालय धाउने गरेका छन्। दैनिक आठ/दश जना लाभग्राही किस्ता किन रोकिएको भन्दै गाउँगाउँबाट सदरमुकाम आउँछन्। सरकारले असार मसान्तसम्म भूकम्प पीडितले तेस्रो किस्ता लिएर घर सम्पन्न गर्नुपर्ने समयसीमा तोकेपछि लभग्राही सूचीमा रहेका तर घर नबनाएकाहरुले हतार हतारमा घर बनाए। दुई दिनअघि मात्रै २०७७ मंसिरसम्म तेस्रो किस्ता लिन पाउने प्राधिकरणले म्याद थपको निर्णय गरेको छ। घर छिटो सकेर अनुदान सिफारिस गरेकाहरु अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईमा वितरण गर्दागर्दै बजेट सकिएपछि निराश छन्।

पुनर्निर्माण प्राधिकरणले बजेट निकासा नगर्दा र भएको बजेट सकिँदा अहिले अनुदान दिन नसकिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइका प्रमुख रामशरण आचार्यले बताए। ‘हामीले साउनदेखि पुस १५ गतेसम्म ६४ करोड रुपैयाँ गोरखाका भूकम्प पीडितलाई वितरण गर्‍यौँ’ उनले भने ‘बजेट सकिएको डेढ महिना भयो, अझै कहिले आउँछ भन्न सकिन्न।’

गोरखामा ७२ हजार चार सय ६५ भूकम्प लाभग्राही कायम भएका मध्ये ६८ हजार तीन सय ६० ले पहिलो किस्ता, ६१ हजार तीन सय ८० ले दोस्रो किस्ता लिएका छन्। ती मध्ये ५६ हजार आठ सय घर निर्माण पूरा भएको छ। ‘समग्रमा ९२ प्रतिशत पुनर्निर्माण भएको छ भने ८० प्रतिशत घर निर्माण सकिएको छ’ इकाई प्रमुख आचार्यले भने। पुनर्निर्माण चलिरहेककाले घर बन्ने क्रम अन्तिम चरणमा रहेको उनले बताए। पहिलो किस्ता लिएकाले दोस्रो र दोस्रो लिएकाले तेस्रो किस्ता माग गर्दै प्राधिकरणमा फारम बुझाएका छन्। उनीहरुको अनुदान रोकिँदा घर बनाउने कामदार, निर्माण सामग्री खरिद गरेको पसलमा भुक्तानी दिन नपाएको भन्दै सर्वसाधारण सदरमुकामस्थित स्थानीय पूर्वाधार कार्यालय धाउने गरेका छन्।

अहिले करिब तीन हजार लाभग्राहीको फाईल रोकिएको छ। उनीहरुलाई अनुदान दिन तत्काल एक अर्व बजेट आवश्यक पर्ने अनुमान कार्यालयको छ। रोकिएको मध्ये अधिकांश घर निर्माण पूरा गरेर तेस्रो किस्ता लिनेहरु छन् भने केही दोस्रो किस्ता सिफारिसमा परेकाहरु पनि छन्। घर निर्माण गरेपछि प्राधिकरणबाट बजेट निकासा नभएको, तत्काल नपाउने भएपछि बाँकी रहेका लाभग्राही घर बनाउन उत्सुक छैनन्।

एक्जिम बैंकले गर्ने ऋण सहयोग आईनसकेकाले भूकम्प पीडितलाई दिने अनुदानको बजेट सकिएको प्राधिकरणले जनाएको छ। कार्यालयले भने केही दिनमा रकम निकासा हुने भएकाले घर बनाएर सक्न लाभग्राहीलाई अनुरोध गरेको छ।

 

प्रकाशित: २ चैत्र २०७६ ११:५९ आइतबार

घर समय भूकम्प पुनर्निर्माण