अर्थ

मूल्य नपाउँदा बारीमै तरकारी नष्ट

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा लगाइएको तरकारी बिक्री नभएपछि ट्याक्टर लगाउँदै किसान । तस्बिर : सरिता/नागरिक

धादिङ - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे। बीउ, मल र ज्याला गरी ६० हजार खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा ट्याक्टर लगाएर नष्ट गर्नुपर्‍यो। ‘खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, हजारौं खर्च लाग्यो,’ उनले भने, ‘बारीमा लगाएका मुला र बन्दाको बजार भाउ नपाउँदा ट्याक्टर लगाएर नष्ट गर्नुपरेको छ।’

बिसुरालले १२ रोपनी जग्गामा तरकारी खेती गरेका छन्। ६ रोपनी जग्गामा मात्रै मुला लगाएका छन् भने बाँकी जग्गामा बन्दा, भेडीलगायत अन्य तरकारी लगाएका छन्। गतवर्ष पनि बजार मूल्यभन्दा १५ गुणा कममा पनि तरकारी बिक्री नभएपछि ट्याक्टर लगाएर खेतमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारी नष्ट गर्नुपर्‍यो। यस वर्ष पनि खेती लगाउने बेला चर्को मूल्यमा बीउ, मलको जोहो गर्नुपर्‍यो तर प्रतिफल सून्य भएको उनले बताए। बिचौलिया व्यापारीले प्रतिकेजी दुई रुपैयाँँमा पनि बिक्री नभएपछि किसानले खेतमै थुप्रो लगाएका छन्।

‘गत वर्ष बन्दाकोभी र मुलाबारीमा ट्याक्टर लगायौं, अहिले बन्दाको भाउ केही आशलाग्दो छ तर मुला बारीमा नै कुहिने भयो,’ उनले भने, ‘भाउ आउने आशमा थियौं तर तरकारीको मूल्य नपाएपछि बाध्य भएर ट्याक्टर लगाएर नष्ट गर्‍यौं।’ सिजनमा तरकारी लगायो, आम्दानीभन्दा खर्च बढी हुने भएपछि ट्याक्टर लगाउनु बाहेक अन्य विकल्प नरहेको उनले बताए। विगत १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट बिस्तारै हात धुनुपर्ने अवस्था आएको बताउँछन्। बजारमा प्रतिकिलो मुलाको भाउ ४० देखि ५० रुपैयाँँ छ भने बन्दाकोभीको भाउ प्रतिकिलो ८० देखि एक सय रुपैयाँँ छ। किसानले बिक्री गर्दा मुला प्रतिकिलो दुई र बन्दाकोभी १५ देखि १८ रुपैयाँमा बिक्री गर्नुपरेको विशालटारका अर्का किसान धुव्र पाण्डेले बताए। ‘हामीले दुःख गरेर यसरी तरकारी उत्पादन गर्छौं, बजारभाउ छैन तर उपभोक्ताले महंगो मूल्य तिरेर तरकारी किन्नुपरेको छ,’ उनले भने, ‘बिचौलियाका कारण उत्पादन गर्ने किसानदेखि बिक्री गर्ने उपभोक्तासम्म मारमा छौं।’

‘खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, हजारौं खर्च लाग्यो। बारीमा लगाएका मुला र बन्दाको बजार भाउ नपाउँदा ट्याक्टर लगाएर नष्ट गर्नुपरेको छ।’

किसानले सिजन अनुसारको तरकारी लगाए पनि बिक्री नहुँदा विशालटारका किसान चिन्तित छन्। विशालटारमा मात्रै करिब ३० जनाले व्यावसायिक रुपमा तरकारी लगाउँदै आइरहेका छन्। धान लगाउन छाडेर लगाएको तरकारीले किसानलाई घाटा बनाएपछि अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको किसानले बताए। अघिल्ला वर्षमा तरकारी खेतीले मनग्य आम्दानी हुँदा घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले उल्टै ऋणको भारी बोक्नुपरेको किसानको भनाइ छ। पाण्डेले किसानी पेसा अँगालेको १० वर्ष भयो। दुई रोपनी जग्गामा तरकारी खेती सुरु गरेका उनले अहिले २० रोपनी जग्गामा खेती गर्छन्। उत्पादन गरिएको तरकारी सहकारी र स्थानीय व्यापारीमार्फत बिक्री गर्छन्। सहकारीको गैरजिम्मेवारी र लथालिंग व्यवस्थापनले किसान मर्कामा परेका छन्। गत वर्ष १४ रोपनी जग्गामा लगाएको बन्दा र मुलाखेतीमा ट्याक्टर लगाउनु पर्दाको पीडा नभुल्दै फेरि त्यही पीडा थपिएको छ। साढे दुई लाख लगानी माटोमा मिसिएको उनले बताए। उनी राज्यले किसान किन्नुपर्ने माग गर्छन्।

विशालटारकै किसान केशवराज नहर्कीले खेतमा लगाएको मुला बिक्री नभएपछि हैरान हुँदै ट्याक्टर लगाएका छन्। केही उखेलेर छेउकुनामा थुपारेका छन् भने केही खेतछेउकै बाटोमै फ्याकेका छन्। ‘खर्च लगाएर प्रतिकिलो दुई रुपैयाँमा बेच्नुभन्दा उखेलेर फ्याक्नु नै ठीक लाग्यो’ उनले भने, ‘फूलेका मुला केही उखेलेर फ्याकेका छौं भने केहीमा ट्याक्टर लगाएर नष्ट गरेका छौं, यो वर्ष आम्दानी आउँछ कि भन्ने आशामा थियौं तर निराशा बनायो।’ ५० हजार खर्च गरेर लगाएको तरकारीले आम्दानी नपाएपछि अर्को सिजनको तरकारी लगाउने कि नलगाउने किसानमा अन्यौल छ। पुस्तौदेखि यही पेसाले घरखर्च टारिरहेका नहर्कीको परिवार कृषि पेसाले आजित भएको छ। प्रतिफल नपाएपछि दुई रोपनी जग्गामा लगाएको मुला धमाधम ट्याक्टर लगाएर नष्ट गर्नुपर्ने बाँध्यता रहेको उनले सुनाए। किसानको मिहेनत माटोमा मिसिएको उनको भनाइ छ।   

विशालटारका अधिकांश किसानले तरकारी खेती गरेका छन्। राज्यले खेतबारी बाँझो नराख्न किसानलाई आग्रह गरेको छ, खेती गर्‍यो, उल्टै घाटा हुने भएपछि अब खेती छाड्नुपर्ने अवस्था भएको छ। तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन्। मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले बेहोरिरहनु परेको छ। तीन वर्ष अघिसम्म तरकारी खेती गरेर लाखौं कमाउने किसान अहिले घाटा बेहोर्नु परेकामा चिन्तित छन्। धादिङलगायत काठमाडौं, नारायणघाट, पोखराका जनतालाई यहाँको तरकारीले धानेको छ। राजमार्गको छेउमा रहेको यस क्षेत्रमा तरकारीमा भएको नोक्सानीले किसान अब भने तरकारी उत्पादन नगरी विदेश पलायन हुनुपर्ने बाध्यता आएको बताउँछन्। यहाँका प्रत्येक किसानले ५० देखि एक लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ। अब बर्खे तरकारी लगाउनका लागि किसानले तयारी गरिरहेका छन्। खुल्ला नाका, भारतबाट तरकारी आउनु र बजारसम्म किसानको पहुँच नहुनुका कारण किसानले उत्पादन गरेको तरकारी बिक्री नभएको किसानको भनाइ छ।

धादिङ जिल्लामा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ। काठमाडौंमा बिक्री हुने तरकारीको १८ प्रतिशत तरकारी धादिङ जिल्लाबाट जाने गरेको छ। स्थानीय किसानले उत्पादन गरेको तरकारीभन्दा भारतबाट ल्याएका तरकारीले बजार लिने भएका कारण किसानको मेहनत खेर जाने गरेको छ। 

प्रकाशित: २ चैत्र २०७६ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App