अर्थ

फागुन पहिलो सातादेखि दोस्रो कर्णाली एक्सपो

सुर्खेत- फागुन छ गतेदेखि सुरु हुन लागेको दोस्रो कर्णाली एक्सपो सार्वजनिक–निजी–सहकारी साझेदारीको ऐतिहासिक उदाहरण हुने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन्। सरकार, निजी क्षेत्र र सहकारीसमेतको संयुक्त सहकार्यमा पहिलो पटक कर्णालीमा अर्गानिक कृषि, उद्योग, पर्यटन, घरेलु, हस्तकला, सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुँदैछ।

महोत्सवको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार साझेदार निकायहरुबीचको संयुक्त बैठकमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भारतको सिक्किमका कृषि मन्त्री, कृषि विज्ञ र अर्गानिक अभियान्ताहरुलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए। उनले सिक्किमका कृषि मन्त्री, कृषि विज्ञ र अर्गानिक अभियन्ताको उपस्थितिमा महोत्सव अवधिमै अर्गानिक कृषि सम्मेलन आयोजना गर्ने कृषि मन्त्रालयले जनाएको छ।

२०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशलाई अर्गानिक बनाउन गरेको निर्णयलाई कार्यान्वयन गर्न पनि एक्स्पो प्रभावकारी र सफल हुने विश्वास सचिव भारीले व्यक्त गरे।

जिल्ला सहकारी संघका अध्यक्ष अमृत बीसीले तीन खम्बे अर्थनीतिका प्रमुख साझेदार तीन वटा क्षेत्रले सहकार्य गरेर त्रिपक्षीय एकताको सन्देश दिएको भन्दै यो आफैमा उपलब्धि भएको दाबी गरे। सरकार, निजी क्षेत्र र सहकारीबीच प्रभावकारी समन्वय र सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुने भन्दै यो तीनै पक्षको जिम्मेवारी भएको उनको भनाई छ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक धनबहादुर रावतले नयाँ प्रविधि मात्र नभई परम्परागत सीप, कला र अर्गानिक रैथाने वालीहरु पनि समेटिनु उदाहरणीय भएको बताए। उनले एक्सपो प्रवेश गेटका रुपमा लण्डन ब्रिज र सेल्फी पोइन्टका रुपमा बुर्ज अल अरबसंगै कर्णालीका रैथाने वालीहरुको स्वाद र हलोकोदामालो समेत एकै ठाउँ समेटिनु निकै दुर्लभ र ऐतिहासिक हुने बताए।

कृषक समूह महासंघ कर्णालीका अध्यक्ष सन्तबहादुर केसीले कृषकहरुका उत्पादन एकैचोटी धेरै बिक्री भएर स्टल नै रित्तिने वा बिक्री नभएर सडेर जाने अवस्था नआउनेतर्फ आयोजकले ध्यानदिनुपर्ने सुझाव दिए।

प्रकाशित: २८ माघ २०७६ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App