अर्थ

मूल्य बढाउन अण्डा र चल्ला नष्ट

तनहुँको भिमाद नगरपालिका–८ अरौंदीस्थित पोल्ट्री फार्ममा पालिएका कुखुरा । तस्बिर : बिनोद ढुंगाना/नागरिक

काठमाडौं - खुला बजारमा माग र आपूर्तिको आधारमा वस्तु तथा सेवाको मूल्य निर्धारण हुन्छ भन्ने मान्यता राखिन्छ। तर यहाँ माग र आपूर्तिले होइन व्यापारीको मिलेमतोमा मूल्य घटबढ हुन्छ। यसको पछिल्लो उदाहण हो– कुखुराको मासु र अण्डाको मूल्य वृद्धि। एक महिनाको अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय ७० रुपैयाँ बढेको छ। कुखुरा व्यवसायीको मिलेमतोमा दुई सय ५० रुपैयाँबाट चार सय २० रुपैयाँ किलो पु-याइएको हो। यस्तै अण्डाको मूल्य गोटाको १५ रुपैयाँ पुगेको छ। सरकारी निकायमा बस्नेले यो सबै बुझेका छन्। सरकारको नीति र उनीहरुका भाषणमा सर्वसाधारण उपभोक्ताको हित गर्ने भनिन्छ। व्यवहारमा हेर्दा उपभोक्ता सधै लुटिएका छन् भने व्यापारी मोटाइरहेका छन्।

गत मंसिर २९ देखि पुस ८ सम्म अण्डा र चल्ला नष्ट गरेका थिए, त्यो काम मूल्य बढाउनका लागि भन्ने अहिले पुष्टि भएको छ।

पछिल्लो समय प्रतिस्पर्धाका कारण कुखुराको मासुको मूल्य केही तल झरेको थियो। तर मूल्य बढाउन व्यवसायीको मिलेमतोमा गत मंसिर २९ देखि पुस ८ सम्म अण्डा र चल्ला नष्ट गरियो। त्यस क्रममा ३० लाख चल्ला र तीन करोड ५० लाख अण्डा नष्ट गरेको दाबी व्यवसायीको छ। व्यवसायीले त्यसबेला उत्पादन लागतका आधारमा प्रतिफल नपाएको बहाना बनाएर अण्डा र चल्ला नष्ट गरेको भनेका थिए। अहिले आएर मासुको मूल्य बढेसँगै उनीहरुको बहाना लागतसँग होइन मूल्य बढाउनका लागि हो भन्ने स्पष्ट भएको छ। व्यवसायीको दाबी अनुसार अण्डा र चल्ला पनि नष्ट नगरेकोे देखिन्छ। कुखुरा व्यवसायीको डिजाइनमा कुखुराको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। ‘योजनाबद्ध रुपमा मूल्य बढाउन पहिला चल्ला र अण्डा नष्ट गरे,’ उनले भने, ‘डेढ महिनापछि भाउ बढाए।’ सरकारी निकायको नियमन नहुँदा बजार अनियन्त्रित भएको उनले बताए।

ह्याचरीबाट कुखुराजन्य वस्तु अण्डा, चल्ला बजारमा पठाएनन्। बजारलाई माग र आपूर्तिले सन्तुलित गर्ने भए पनि निश्चित व्यवसायीको मुठ्ठीमा रहेको बजारलाई नियन्त्रण गर्दै अहिले मूल्य बढाएका हुन्। अण्डा र चल्ला नष्ट गरेका ह्याचरी सञ्चालकले अहिले चल्लाको मूल्य करिब ६ गुणा बढाएका छन्। १०–१५ रुपैयाँ गोटाका चल्लाको मूल्य वृद्धि भएर अहिले ६०–६५ रुपैयाँ पुगेको छ। चल्लाको मूल्य बढेपछि स्वतः कुखुराको लागत बढेर मासुको मूल्य वृद्धि भएको छ। व्यवसायीले भने कुखुरापालक किसान घटेको दाबी गर्दै आएका छन्। कुखुरापालक संघले भने उत्पादन घटेकाले मूल्य बढेको बताउँदै आएको छ। संघका अनुसार मुलुकमा दैनिक नौ लाख किलो कुखुराको मासु खपत हुन्छ।

पशु विभागले मूल्य वृद्धि भएको विषयलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कृषि तथा पशुपक्षी मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको जनाएको छ। ‘एकाएक मूल्य बढेकोमा चिन्तित छौं,’ विभागका प्रवक्ता चन्द्रप्रसाद ढकालले भने, ‘कार्यदलको सुझाव आएपछि थप रणनीति बनाएर अघि बढ्छौं।’ नियामक निकायले माग र आपूर्तिले मूल्य निर्धारण हुनुपर्ने बताउँछन्। के कारणले मूल्य वृद्धि भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। कुखुराको अण्डा र चल्ला नष्ट गरेको कारण मूल्यवृद्धि भएको हो, होइन भन्ने विषयमा अध्ययन भइरहेको विभागका महानिर्देशक नेत्र सुवेदीले बताए।

‘व्यापारीले मूल्य घटाउँछौं भने पनि घटेको देखिएन,’ सुवेदीले भने, ‘सघन अनुगमन गरेर मूल्य निन्त्रणको प्रयास गर्छौं।’ कुखुराको मासुमात्र नभएर अण्डाको भाउ बढेर प्रतिगोटा १५ रुपैयाँ पुगेको छ। अण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगेको भन्दै केही समयअघि मूल्य बढाएका थिए। अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले उत्पादकले मूल्य नबढाएको दाबी गर्छन्। खुद्रा मूल्य १३ रुपैयाँ गोटा निर्धारण गरेको उनले बताए। खण्डा चितवनमा प्रतिकार्टुन २१ सय ३५ र काठमाडौंमा २२ सय ३५ रुपैयाँ रहेको उनले बताए। चितवनलाई अण्डा उत्पादनको राजधानी मानिन्छ। मुलुकमा दैनिक ३३ लाख गोटा अण्डा उत्पादन हुने व्यवसायी बताउँछन्। दाना, कामदारको ज्याला, ढुवानी, औषधीको मूल्य वृद्धि हुँदा लागत बढेको उत्पादकको दाबी छ। ‘गत वर्ष ४५ रुपैयाँको दाना अहिले किलोको ५६ रुपैयाँ पुगेको छ,’ केसीले भने। मुलुक अण्डामा आत्मनिर्भर छ।

मुलुकमा वार्षिक करिब ४० अर्ब रुपैयाँभन्दा बढीको कुखुरा तथा कुखुराजन्य वस्तुको कारोबार हुन्छ। सरकारी तथ्यांक अनुसार कुखुराको मासु साढे २० अर्ब, अण्डा नौ अर्ब १३ करोड, चल्ला तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएको पशुपक्षी विभागले जनाएको छ। पौष्टिक तत्वको रुपमा कुखुराका अण्डा प्रयोग हुने भएकाले उत्पादन पनि वृद्धि हुँदै गएको छ। कुखुरा र अण्डाको बजार विस्तार भएसँगै पोल्ट्री व्यवसायमा लगानी बढेको छ। किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाएर मनग्य मुनाफा हुने आसमा लगानी गरेका छन्। चितवन, नवलपरासी, झापा, काठाडमौं, धादिङ, कास्की लगायतका जिल्लामा करोडौंको लगानीमा कुखुरा फार्म सञ्चालन गर्ने लहर नै चलेको छ। सरकारी तथ्यांक अनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक रूपमा सञ्चालित छन्।

प्रकाशित: २६ माघ २०७६ ०३:०९ आइतबार

व्यापारी मूल्य_निर्धारण ह्याचरी