अर्थ

कृषिमा साढे दुई खर्ब कर्जा

काठमाडौं - कृषिमा निजी क्षेत्र आकर्षित भएपछि यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ। ताजा तथ्यांक अनुसार यस क्षेत्रमा बैंक वित्तीय संस्थाले साढे दुई खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

बैंक तथा वित्तीय संस्थाले कर्जाको निश्चित प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था आएपछि लगानी बढेको हो। कृषिको उत्पादन र उत्पादकत्व बढाउन सरकारले बैंक, वित्तीय संस्थाको कर्जाको निश्चित प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने नीति लिएको हो। बैंकहरुले दुई सय चार अर्ब र सहकारीले ५० अर्ब गरी करिब दुई ५४ अर्ब रुपैयाँ कृषिमा कर्जा लगानी भएको छ। नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार बैंकहरुले अहिलेसम्म दुई सय चार अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेका छन्। बैंक र सहकारीले कृषिमा सहुलियतपूर्ण, विपन्नसहित विभिन्न प्रकारका कर्जा प्रवाह गरेका छन्।

तरकारी, खाद्यान्न, पशुपालन अन्तर्गत गाई, भैंसी, कुखुरा, बाख्रा, माछा, नगदेबाली, फलफूल, पुष्पखेती, शीत भण्डारण, बजारलगायत क्षेत्रमा ऋण लगानी गरेका छन्।  पछिल्लो चार वर्षको तथ्यांक हेर्दा कृषि क्षेत्रमा बैंकको कर्जा प्रवाह करिब दोब्बर बढेको देखिन्छ। व्यावसायिक कृषि र पशुपन्छीपालन गर्न चाहने किसान र व्यवसायीले ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको विकास बैंक र ‘ग’ वर्गको फाइनान्स कम्पनीबाट ऋण लिँदा पाँच प्रतिशत ब्याज अनुदान पाउँछन्। सहुलियत ब्याजमा ऋण लिएका किसानले पाँच वर्षभित्र साँवाब्याज फिर्ता गरिसक्नुपर्छ।

आर्थिक वर्ष ०७३/७४ मा बैंकले कृषिमा लगानी गरेको कर्जा ९० अर्ब रुपैयाँ थियो, चार वर्षपछि यो बढेर दुई सय चार अर्ब रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष ०७३/७४ मा बैंकले कृषिमा लगानी गरेको कर्जा ९० अर्ब रुपैयाँ थियो। चार वर्षको अवधिमा बैंक कर्जा दोब्बर बढेर दुई सय चार अर्ब रुपैयाँ पुगेको छ। बैंकले लगानी गरेको कृषि कर्जा ०७४/७५ मा एक सय ३५ अर्ब ८० करोड रुपैयाँ, ०७५÷७६ मा एक सय ९३ अर्ब ५० करोड रुपैयाँ थियो। अघिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भने कम कर्जा प्रवाह भएको देखिएको छ। यो वर्ष ११ अर्ब रुपैयाँमात्र कर्जा वृद्धि भएको देखिन्छ। लगानी गर्ने र उठाउने प्रक्रिया निरन्तर चल्ने भएकाले थपघट भइरहने कार्यकारी निर्देशक भट्टले बताए। ‘पछिल्ला वर्ष कृषिमा लगानी बढेको छ,’ भट्टले भने, ‘यो सकारात्मक छ।

बैंकमात्र नभएर सहकारीले पनि कृषिमा लगानी बढाएका छन्। मुलुकभरका कृषि सहकारीमार्फत ५० अर्ब रुपैयाँभन्दा बढी पुँजी कृषि क्षेत्रमा लगानी गरेको नेपाल कृषि सहकारी केन्द्रीय संघले जनाएको छ। कृषि तथा पशुपालनमा ५० अर्ब रुपैयाँ लगानी भएको संघका अध्यक्ष खेम पाठकले बताए। ‘सहकारी संस्थाले आफ्ना सदस्यलाई लगानी गरेका छन्,’ पाठकले भने, ‘कृषि सहकारीले ९० प्रतिशत कृषिमा नै लगानी गर्छन्। सहकारीले नौ प्रतिशत ब्याज दरमा लगानी गरेका छन्,’ पाठकले भने।

कृषि सहकारी खोल्ने क्रम बढेसँगै तिनले कृषिमा लगानी गरेका हुन्। यसमा कृषि सहकारीले आफ्नै पुँजी र साना किसान विकास बैंकबाट लिएको ऋण पनि छ। व्यक्तिमात्र नभएर कतिपय सहकारीले आफैं लगानी गरेर व्यावसायिक कृषिमा लगानी गरेका छन्। झापाको पृथ्वीनगर सहकारीले १० बिघा जग्गामा चियाखेती गरेको छ। यसका २५ सय सदस्यले सामुहिक चिया खेती गरेका छन्। उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जनामा सघाउन बैंक तथा वित्तीय संस्थाले लगानी गरेका हुन्।

सरकारले कृषि, दूध, मासुमा आत्मनिर्भर बन्ने योजना अघि सारेर सोही अनुसार सहुलियत र सुविधको व्यवस्था गरेपछि सर्वसाधारण कृषिमा आकर्षित भएका हुन्। बर्सेनि अर्बौं रुपैयाँका कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा आयात प्रतिस्थापन गर्न सरकारले कृषिमा लगानी बढाउने नीति लिएको हो। यहाँ उत्पादन बढाउन सके आयात प्रतिस्थापन भई उत्पादनले सजिलै बजार पाउने उत्पादकको विश्वास छ। कृषिमा आधुनिकीकरण र व्यवसायीकरण नहुँदा उत्पादन वृद्धि हुन नसकेको बताइरहँदा पछिल्लो समय लगानी वृद्धि हुँदै जाँदा यसको प्रभाव कृषिमा पर्ने जानकार बताउँछन्।

पछिल्लो समय व्यापारिक घरानाले पनि कृषिमा लगानी गरेका छन्। गोल्यान समूहले कृषिमा करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन कृषिमा लगानी सुरु गरेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले बताउँदै आएका छन्। गोल्यान समूहले झापामा जग्ग्गा किनेर कृषि सुरु गरेको छ। यति हुँदा हुँदै पनि कृषिमा अपेक्षित रुपमा लगानी बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाले दिने सहुलियत कर्जा झन्झटिलो रहेको किसानको गुनासो छ।

बैंकहरुले लगानी गरेको ऋण साना किसानसम्म पुगन नसकेको गुनासो छ। साना किसानले धितो राख्न कठिन हुने भएकाले अहिलेको व्यवस्था अव्यवहारिक भएको राष्ट्रिय कृषक समूह महासंघको भनाइ छ। धितो राख्न सक्ने ठूला किसानले ऋण पाएका छन्,’ महासंघका पूर्वअध्यक्ष उद्धब अधिकारीले भने, ‘धितो राख्न नसक्ने साना किसानलाई अप्ठेरो छ।’ बैंकहरु नाफा कमाउने संस्था भएकाले तिनले सुरक्षित हुने ठाउँमा मात्र लगानी गर्दा किसानलाई समस्या रहेको अधिकारीले बताए।

प्रकाशित: २४ माघ २०७६ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App