अर्थ

एक सय १० मुलुकसँग व्यापार घाटा

काठमाडौं - स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ। नेपालले एक सय ४० भन्दा बढी मुलुकसँग कारोबार गर्दै आए पनि न्यून कारोबार हुने आइसल्यान्ड, मालदिभ्स, सुडान, अफगानिस्तान, मंगोलिया, कंगो, पूर्वी टिमोरलगायत ३० मुलुकबाहेक सबैसँग ठूलो व्यापार घाटा छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ व्यापार घाटा छ। गत वर्षभन्दा व्यापार घाटा केही कम भए पनि अहिले पनि मुलुकले मासिक एक खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरिरहेको भन्सार विभागले जनाएको छ। मुलुकको व्यापार घाटा भयावह बन्दै गएको भन्दै पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले चिन्ता व्यक्त गरे। स्वदेशमा उत्पादन वृद्धि नहुँदासम्म व्यापार घाटा नघट्ने ओझा बताउँछन्। आयात रोकेर व्यापार घाटा कम गर्ने प्रयासले अर्थतन्त्रमा नकरात्मक असर पर्ने उनको धारणा छ। ‘आयात रोकेर मात्र हुँदैन,’ उनले भने, ‘स्वदेशी उत्पादन बढाए विदेशी वस्तुको प्रतिस्थापन गरेमात्र घाटा कम हुन्छ।’ स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने ओझा बताउँछन्।

भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, क्यानाडालगायत मुलुकसँग धेरै घाटा रहेको छ। भारतबाट चार खर्ब २३ अर्ब ८३ करोड रुपैयाँका वस्तु आयात भएकोमा ४० अर्ब रुपैयाँको मात्र निर्यात भएको छ। कुल व्यापार घाटाको आधा भारतसँग छ। विभागका अनुसार भारतसँग तीन खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ घाटा छ। चीनसँग एक खर्ब १७ अर्ब २३ करोड, इन्डोनेसियासँग २० अर्ब ११ करोड रुपैयाँ, युनाइटेड अरब इमिरेट्ससँग १० अर्ब २३ करोड, अमेरिकासँग चार अर्ब  ६० करोड, क्यानाडासँग ६ अर्ब ५८ करोड, स्विजरल्यान्डसँग पाँच अर्ब २८ करोड रुपैयाँ घाटा छ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ व्यापार घाटा छ। मुलुकले मासिक एक खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ।
 

चालु आवको ६ महिनामा २५ अर्ब रुपैयाँको फलफूल र तरकारीमात्र आयात हुनु सुखद पक्ष नभएको पूर्वसचिव ओझाले टिप्पणी गरे। ‘स्वदेशमा उत्पादन गर्न सकिने वस्तु विदेशबाट आयात गर्दा ठूलो घाटा भएको हो,’ ओझाले भने, ‘स्वदेशी उत्पादन बढाउनु पर्छ।’ यो वर्ष आयात घटेको भए पनि त्यसको असर राजस्व संकलनमा देखिएको छ। आयात घट्दा व्यापार घाटा घटेपनि सरकारको लक्ष्य अनुसार राजस्व उठ्न नसकेको अर्थ मन्त्रालयले जनाएको छ। यहाँ उत्पादन गर्न नसकिने इन्धन, मेसिनरी वस्तु विदेशबाट आयात गरे पनि स्वदेशमै उत्पादन गर्न सक्ने वस्तु उत्पादन गर्नुपर्ने ओझाले बताए। ‘कुन–कुन वस्तु उत्पादन बढाउन सकिन्छ सरकारले कार्ययोजना बनाउनुपर्छ,’ ओझाले भने।

एक दशकको तथ्यांक हेर्दा मुलुकको व्यापार घाटा ६ गुणाले बढेको छ। मुलुकको वार्षिक बजेटभन्दा ठूलो व्यापार घाटा रहेको छ। आव ०६५/६६ मा व्यापार घाटा दुई खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा गत आवमा ०७५/७६ मा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन मुलुकको बजेट बराबर हो। सरकारले मुलुकमा औद्योगिकीकरण गरेर उत्पादन बढाउने बताइरहँदा मुलुकको व्यापार घाटा अपेक्षित रुपमा घट्न सकेको छैन। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्दा व्यापार घाटा भएको हो। उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थलगायत सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्नलगायत वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था चिन्ताजनक छ।

स्वदेशी उद्योगको संरक्षण गर्न यहाँ उत्पादन भएका वस्तुको प्रयोग अनिवार्य गराउने प्रयास गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। चिया, कफी, दुग्ध पदार्थ, घिउ, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाललगायत कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाएको छ। निर्माण सामग्री प्रयोग गर्दा सिमेन्ट, काठ, छड, रङलगायत स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारले नीति लिएको छ। उत्पादन बढाउनका लागि चालु आवको बजेटमा स्वदेशमा उत्पादन हुने वस्तुलाई आयातमा कडाइ गरेको छ।

६ महिनामा धेरै व्यापार घाटा रहेका मुलुक
देश    व्यापार घाटा (रुपैयाँ)
भारत    ३ खर्ब ८३ अर्ब ६९ करोड
चीन    १ खर्ब १७ अर्ब २३ करोड
इन्डोनेसिया    २० अर्ब ११ करोड
युनाइटेड अरब इमिरेट्स    १० अर्ब २३ करोड
अमेरिका    ४ अर्ब  ६० करोड
क्यानडा    ६ अर्ब ५८ करोड
स्रोत : भन्सार विभाग

प्रकाशित: २१ माघ २०७६ ०३:३१ मंगलबार

व्यापार_घाटा आर्थिक_वर्ष