अर्थ

आयोजनाप्रमुख नहुँदा हुलाकी सडक निर्माण सुस्तायो

बर्दिया – लामो समयदेखि आयोजनाप्रमुख बिदामा भएकाले हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको छ। हुलाकी सडक आयोजना, बाँकेका प्रमुख युवराज पोखरेल मंसिर २ गतेदेखि पुस अन्तिमसम्म विभागबाटै बिदा स्वीकृत गराई बेपत्ता छन्। पोखरेलसँग कुनै स्रोतबाट कुरा हुन नसकिरहेको आयोजना कार्यालयका एक कर्मचारीले बताए।

लामो समयदेखि पोखरेल आफू कार्यरत आयोजनाका कर्मचारीसँग पनि सम्पर्कमा छैनन्। लामो समयदेखि बिदा भनेर हिँडेपछि कार्यालयकै कर्मचारीसँग सम्पर्क नहुँदा हुलाकी सडक निर्माण ठप्प छ। दुई अर्ब बढी लागतमा निर्माण भइरहेको आयोजनाअन्तर्गतका सडक अलपत्र भएका हुन्।

बाँके, बर्दिया र दाङमा करिब १ सय ६२ किलोमिटर निर्माण भइरहेको हुलाकी सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन। यस वर्ष बाँकेमा २६ र दाङमा ३६ किलोमिटर थप हुलाकी सडक निर्माण सुरु गरे पनि अलपत्र अवस्थामा छ। यस्तै, पप्पु कन्स्ट्रक्सनले पनि मूर्तिहा, गुलरिया र भुरिगाउँसम्मको सडक एक महिनाअघिदेखि अलपत्र पारेको छ। निर्माण कम्पनीले निर्माण सम्पन्न भएका सडकको प्रमुख नहुँदा भुक्तानी पाउन नसकेको गुनासो गर्दै आएका छन्। प्रमुख पोखरेल बिदामा बसेपछि निमित्तप्रमुख रामसागर हरिजनलाई जिम्मेवारी तोकिएको छ। तर, आर्थिक कारोबारको जिम्मेवारी नदिएकाले निर्माण कम्पनीले भुक्तानीको माग गरे पनि कार्यालयले दिन सकिरहेको छैन।

प्रमुख बिदामा बसेपछि निमित्तप्रमुख रामसागर हरिजनलाई जिम्मेवारी तोकिएको छ। तर, आर्थिक कारोबारको जिम्मेवारी नदिएकाले निर्माण कम्पनीले भुक्तानीको माग गरे पनि कार्यालयले दिन सकिरहेको छैन।

मंसिर २ गतेबाट बिदामा हिँडेपछि आयोजना प्रमुखसँग सम्पर्क नभएको उनले बताए। ‘मोबाइलमा फोन गर्दा स्विच अफ भनिरहेको छ,’ उनले भने, ‘यता, अधिकांश निर्माण कम्पनी ७० प्रतिशत काम सम्पन्न गरेको भुक्तानीमा समेत ढिलाइ भएको भन्दै आक्रोशित छन्।’

‘जति काम सम्पन्न भएको छ, त्यसको भुक्तानी दिने दायित्व कार्यालयको हो,’ निर्माण कम्पनीका एक प्रतिनिधिले भने, ‘निमित्तप्रमुख तोकिएकासँग आर्थिक कारोबार गर्ने अख्तियारी छैन, प्रमुख सम्पर्कविहीन छन्, निर्माण कम्पनीका प्रतिनिधि भागीभागी हिँडिरहेका छन्।’ प्रमुख नहुँदा ज्याला मजदुरी गर्नेलाई पनि भुक्तानी दिन नसकिएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ।

भारतीय सहयोगमा भारतीय निर्माण कम्पनीले २०६८ मा तीन खण्डमा बनाउन थालेको सडक सफल हुन सकेन। सो निर्माण कम्पनीले बर्दियामा मात्र ५७ किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो। २०७१ मा भारतीय निर्माण कम्पनीहरू ठेक्का छोडेर भागेपछि अलपत्र परेको हुलाकी सडक योजनाको काम भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले नै बनाउने सहमति भएर यतिखेर निर्माण थालिएको छ।

बर्दियामा निर्माण गरिने हुलाकी सडक तीन खन्डमा विभाजन गरिएको छ। राजापुर–बेलवा, गुलरिया –बेलवा र बेलवा–भुरिगाउँको दुरी करिब ५७ किलोमिटरको छ भने लागत करिब १ अर्ब रुपैयाँको छ। सडकको दायाँबायाँ विस्तार क्रममा भत्काएर अलपत्र छ। सडकमा निर्माणसामग्री पनि अव्यवस्थित रूपमा राखिएकाले आवागमनमा असहज भएको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार २७ जुन २००६ मा भारत सरकारले सो सडक निर्माण गर्न विस्तृत अध्ययन सकेको थियो। भारतीय सीमासम्म जोडिएको सडकखण्ड निर्माण ढिलाइ नभए आर्थिक र व्यापारिक केन्द्रको रूपमा जिल्लाको विकास हुनेमा सर्वसाधारण आशावादी छन्।

प्रकाशित: ३ माघ २०७६ ०२:५९ शुक्रबार

हुलाकी_सडक