अर्थ

४० लाख लगानी डुब्ने अवस्थामा

बारा - सरकारी निकायबीच समन्वय अभावमा धेरै क्षेत्रमा समस्या आउने गरेको आरोप लाग्दै आएका बेला समन्वय अभावकै कारण एक व्यापारिक घरानाको ४० लाख रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।

सुरभी इन्टरनेसनलले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरेको अहारपूरक वस्तुको बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएपछि लगानी डुब्ने अवस्थामा पुगेको हो। दुई सरकारी निकायको आ–आफ्नै निर्णय र तर्कका कारण उक्त कम्पनीले आयात गरेको सामान पाँच महिनादेखि बेच्न पाएको छैन। फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाले अहारपूरक खाद्य पदार्थ भनी प्रमाणित गरेको भारतीय उत्पादन अल्टिकेम क्याप्सुल, लाइकोलाइफ क्याप्सुल र लाइकोलाइफर सिरपको बिक्रीमा औषधी व्यवस्था विभागले रोक लगाएको कम्पनी सञ्चालक सौरभ क्यालले बताए।

क्यालका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई आयात गरिएको ४० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बिक्री गर्न नपाएपछि गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। सुरभीले आयात गरेका ती सामानको नाम औषधी जस्तो भए पनि औषधी नभई पौष्टिक तत्वयुक्त खाद्य पदार्थ भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मातिना बैद्यले जानकारी दिइन्।

विभागले औषधी र पौष्टिक तत्व भएको खाद्य पदार्थ छुट्ट्याएरै आयात अनुमति दिने र त्यो विभागको क्षेत्राधिकारभित्र पर्ने महानिर्देशक बैद्यको भनाइ छ। अहारपूरक खाद्य पदार्थमा फर्मास्युटिकल बनावटका ट्याब्लेट, क्याप्सुल,झोल, पाउडर, मल्टी–भिटामिन र मल्टी–मिनरल मिश्रित सबै खाद्य वस्तु पर्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि यस प्रकारका आहारपूरक खाद्य पदार्थको नियमन त्यस देशको खाद्य स्वच्छता नियमन गर्ने निकायले गर्ने गरेको खाद्य प्रविधि विभागका अधिकारी बताउँछन्।

व्यवसायी क्यालले अहारपूरक खाद्य पदार्थ राखिएको गोदाममा सिलबन्दी गरेर  बिक्री–वितरणमा रोक लगाएको जानकारी दिए। उनले औषधी व्यवस्था विभागले कसैको उस्काहटमा आफूलाई दुख दिने नियत राखेर यस्तो गरेको आरोप लगाए। २०७६ असार ३१ मा वीरगन्जको माइस्थानस्थित अहारपूरक खाद्य पदार्थ राखिएको गोदाममा औषधी व्यवस्था विभागले सिलबन्दी गरेपछि खाद्यले लिखित रुपमै यो औषधी नभई अहारपूरक खाद्य पदार्थ रहेको जानकारी औषधी विभागलाई दिएको थियो। यति हुँदा पनि औषधी विभागका कर्मचारीले नटेरेको क्यालले बताए।

औषधी व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सुरभका सञ्चालकहरुले बाहिरबाट आहारपूरक खाद्य पदार्थ भनी आयात गरेका ट्याब्लेट, क्याप्सुल र झोल औषधी रहेको देखेर बिक्री–वितरणमा रोक लगाएको बताए। अहारपूरक खाद्य पदार्थ अन्य खानेकुरामा नमिसाइएकाले गर्दा यो औषधी नै रहेको र यो मुद्दा अदालतमा समेत पुगेकाले यसबारे धेरै बोल्नु राम्रो नहुने महानिर्देशक क्षेत्रीले बताए। औषधी विभागले बिक्री वितरणमा रोक लगाएको वस्तुमा भिटामिन लगायत तत्व औषधीमा भन्दा कम रहेको सुरभीका सञ्चालक क्यालको दाबी छ।

औषधीमा हुने भिटामिन लगायत तत्वको परिमाण अहारपूरक खाद्य पदार्थमा भेटिए पनि त्यो खाद्य पदार्थ भई औषधी नहुने अवस्थालाई समेत औषधी विभागले नबुझेको व्यवसायी क्यालले बताए। भारत र नेपालका खाद्यसम्बन्धी निकायले औषधी नभएर अहारपूरक खाद्य पदार्थ रहेको प्रमाणित गर्दा पनि औषधी विभागको मनोमानीले आफ्नो लाखौं रुपैयाँ डुब्ने अवस्था आएको क्याले बताए।

प्रकाशित: २७ पुस २०७६ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App