अर्थ

व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी

केराबारीमा काटछाट गर्दै कृषक रोहितकुमार पासी। तस्बिर ः नागरिक

भैरहवा - सियारी गाउँपालिका–४ ओर्लहवाका ३७ वर्षिय रोहितकुमार पासी अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउछन्। सुरुवातदेखि नै तरकारी खेती गर्दै आएका पासीले सोचेजस्तो प्रतिफल नपाएपछि गत वर्षदेखि केरा खेतीमा लागेका हुन्। अहिले उनले व्यावसायिक केरा खेतीबाट नै  मनग्य आम्दानी लिइरहेका छन्।

केही वर्ष अघिसम्म परम्परागत तरकारी खेती गर्दै आएको नदी किनारको जग्गालाई अहिले केरा बगैंचामा परिणत गरेका छन्। अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत पाइसकेका उनले छिटो आम्दानी गर्न सकिने व्यावसायिक केरा खेतीतर्फ लागेका छन्। प्रतिकट्ठा १४ सय र एक हजार रुपैयाँका दरले पाँच र सात वर्षका लागि १० बिघा जग्गा लिजमा लिएर केरा खेती सुरुवात गरे।

‘आफूसँग केही जग्गा छैन छोराछोरीसहित परिवार पनि ठूलै छ, जग्गा लिजमा लिएर तरकारी खेतीमा जति मिहेनत गरे पनि खर्च धान्न गाह्रो थियो। दिदी भिनाजुको पनि केरा खेती छ, मलाई केरा खेतीका लागि प्रोत्साहन गर्नुभयो, सल्लाह सुझाव र फाइदाबारे बताउनुभयो, गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको छु,’ पासीले भने, ‘तरकारी खेतीमा लगानी र मिहेनत बढी छ, लगानी अनुसारको उत्पादन र मूल्य नभएकाले १० बिघा जग्गा लिजमा लिएर टिस्युकल्चर प्रविधिबाट केराखेती गरे। पहिलो लटमै सोचेभन्दा बढी आम्दानी भयो,’ पासीले भने।

पासवान एकीकृत कृषि फर्ममा अहिले केरा खेतीको साथै दुई बिघा क्षेत्रफलमा माछापालन र नौ कट्ठामा तरकारी खेती पनि गरेका छन्। व्यावसायिक रुपमा केरा खेती गर्दै आएका पासीले आफूसहित तीन जनालाई रोजगारीसमेत दिएका छन्। आवश्यकता अनुसार ज्यालामा थप कामदार राखेर खेती गरेका छन्। ‘एक वर्षमा तीन बालीसम्म फल्छ, ११ हजार केराका बिरुवा छन्। एक सिजनमा १० देखि १२ लाख आम्दानी हुन्छ भन्ने अपेक्षा छ,’ उनले भने।

पहिलो वर्ष ३५ देखि ४० रुपैयाँका दरले परासी र बेथरीबाट बिरुवा ल्याएर केराखेती गरेका उनले पहिलो लटको बिरुवामा ढगिए पनि थप बिरुवा लगाए। ती बिरुवाले अहिले उत्पादन गरिरहेको उनको भनाइ छ। हावाहुरी र कीरा मुख्य समस्या हो, रोग लागेन र हावाहुरी आएन भने केरा खेतीबाट राम्रै आम्दानी हुने उनी बताउँछन्।

जी ९ जातको केरा लगाएकामा हालसम्म चार लाखभन्दा बढीको बेचिसकेको उनले बताए। बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारी प्रतिदर्जन ३२ देखि ३४ रुपैयाँका दरले काचो केरा खरिद गर्दै लगिरहेका छन्। àकेरा र माछापालनमा समस्या छैन मूल्य पनि सन्तोषजनक नै छ,’ उनले भने, ‘कृषि कर्मबाट भएको आम्दानीले घरखर्च चल्नुका साथै छोराछोरीको अध्ययन र केही बचत पनि भएको छ।’

प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक कृषि (केरा खेती)का लागि १० लाख अनुदान र थप आफ्नो गरी २० लाखभन्दा बढी केरा खेतीमा लगानी गरेको उनले बताए। प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको उनले सुनाए। साथै नर्सरी उत्पादन गर्ने र टिस्युकल्चरमा केराखेती विस्तार गर्ने समेत उनको योजना छ। सरकारबाट पनि अनुगमन, निरीक्षण तथा हौसला थप्ने काम भएमा अझ बढी काम गर्न सकिने उनको बुझाइ छ।

प्रकाशित: २० पुस २०७६ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App