अर्थ

सवारी साधन उद्योगमा लगानी बढ्दै

काठमाडौं - नेपालमा सवारी साधनको बजार वृद्धि हुने देखेपछि स्वदेशी तथा विदेशी लगानीकर्ता यसको उद्योगमा लगानी गर्न उत्सुक देखिएका छन्। अहिलेसम्म नेपालमा बजाज बाइकको मात्र एसेम्बलिङ उद्योग रहेकोमा कोरियन लगानीकर्ताले चारपांग्रे गाडीको एसेम्बलिङ प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्।

कोरियाली कम्पनी ‘मोटेक्स’ले करिब साढे १० अर्ब रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लगानी बोर्डसँग सम्झौता गरेको छ। यहाँका बजारमा प्रयोग हुने सवारी साधन शतप्रतिशत विदेशबाट आयात हुँदै आएकोमा पछिल्ला वर्ष मोटरसाइकल र चारपांग्रे एसेम्बलिङ उद्योगमा लगानी बढ्दै गएको हो।

गोल्छा अर्गनाइजेन अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज बाइक उत्पादन गर्दै आएको छ। टिभिएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले करिब सय करोड रुपैयाँ लगानीमा टिभिएस मोटरसाइकलको एसेम्बलिङ उद्योग निर्माण गरिरहेको छ। अर्को व्यापारिक घराना ज्योति ग्रुपले होन्डाको प्लान्ट स्थापना गर्ने गृहकार्य गरिरहेको छ।

सडक पूर्वाधार निर्माण, सवारी साधन अनिवार्य आवश्यकताको वस्तु बनेपछि स्वदेशी तथा विदेशी लगानीकर्ताले नेपालमा सवारी साधन एसेम्बलिङ उद्योगमा लगानी गर्न उत्सुक देखिएका हुन्। अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष शम्भु दाहाल सवारी साधन उद्योगमा अवसर रहेकाले लगानी गर्न आएको बताउँछन्। ‘दुईपांग्रे सवारी उद्योगका लागि नेपालमा ठूलो अवसर छ,’ उनले भने, ‘सवारी साधान उद्योगमा लगानी आउनु सकारात्मक छ।’

दुईपांग्रेका लागि सहज भए पनि चारपांग्रे सवारी साधन उद्योगका लागि भने चुनौती रहेको उनले बताए। ‘चारपांग्रे सवारीले गुणस्तर मेन्टेन गर्न जटिल छ,’ उनले भने। कोरियन कम्पनीले नेपालमा लगानी गर्न खोज्नु राम्रो भए पनि उसले अघि सारेका सर्तहरु ठीक नभएको दाहालले बताए। कोरियाली कम्पनी मोटेक्सले सात वर्षसम्म गाडी उत्पादनका लागि अर्को कम्पनी आउन नपाउने, अहिलेको सर्त परिवर्तन गर्न नपाइने लगायत सर्त राखेको छ।

सवारी साधनको बजार प्रतिस्पर्धी रहेको दाहालले बताए। ‘सवारी साधन उद्योग आउनु मुलुकका लागि फाइदाजनक छ,’ उनले भने। मुलुकमा पूर्वाधार विकास बढेर गाउँ–गाउँमा सडक पुगेसँगै मोटरसाइकलको माग बढिरहेको छ। ज्योति ग्रुपका कार्यकारी निर्देशक सौरभ ज्योति मोटरसाइकलका लागि अवसर रहेको बताउँछन्। नेपाली बजारमा मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि अवसर रहेको उनको भनाइ छ। ‘वार्षिक सवा दुई लाख मोटरसाइकल नेपाली बजारमा बिक्री हुन्छ,’ उनले भने, ‘अवसर भएको क्षेत्रमा लगानी गर्नु स्वाभाविक हो।’ ज्योति ग्रुपले होन्डा बाइक नेपाली बजारमा बिक्री गर्दै आएको छ।

लगानी बोर्ड र कोरियाली कम्पनी मोटेक्सबीच नेपालमा गाडी एसेम्बलिङ प्लान्ट खोल्ने विषयमा प्रारम्भिक सम्झौता भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोटेक्सका प्रमुख कार्यकारी अधिकृत लीबीच प्रारम्भिक सम्झौता भएको हो।

कम्पनीले प्लान्ट निर्माणका लागि करिब साढे १० अर्ब रुपैयाँ लगानी गर्ने बताइरहेको छ। उक्त कम्पनीले कोरियाली ब्रान्डका गाडी हुन्डाई र कियाको उत्पादन गर्ने दाबी गरिएको छ। गाडी उत्पादन गर्न सम्झौता गर्ने यो पहिलो कम्पनी हो। उद्योग स्थापना गरेपछि पहिलो वर्ष एक हजार र उत्पादन बढाउँदै लगेर पाँच वर्षपछि वार्षिक २० हजार गाडी उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीको दाबी छ। यसअघि हुन्डाईका गाडी नेपालमा बिक्री गरिरहेको लक्ष्मी ग्रुपले पनि एसेम्बलिङ प्लान्ट स्थापना गर्ने विषयमा छलफल गरेको बताइएको थियो।

मोटरसाइकलको बजार विस्तार भएकाले स्वदेशमै प्लान्ट स्थापना गर्न लागेको जगदम्बाले जनाएको छ। दैनिक करिब तीन सय मोटरसाइकल उत्पादन गर्ने क्षमताको उद्योग निर्माण गरिरहेको जगदम्बा मोटर्सले जनाएको छ। यसअघि चाइनिज बाइक कम्पनी अन्ना लिफानको बाइक एसेम्बलिङ र हुलासको मुस्ताङ गाडीको उत्पादन सुरु भए पनि बन्द भएको थियो।

सार्वजनिक सवारीमा बेथिती हुँदा निजी सवारीमा आकर्षण बढ्दो छ। सवारी साधन उद्योगमा लगानी बढिरहेको देखिए पनि यो वर्ष सवारी साधनको बजार वृद्धि दरमा कमी आएको छ। बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा कडाइ गरेपछि यो वर्ष सवारी साधनको आयात घटेको व्यवसायी बताउँछन्। सवारी खरिद गर्दा तिर्नुपर्ने डाउन पेमेन्टको सीमा ६५ बाट घटाएर ५० प्रतिशत र कर चुक्ताको प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि सवारी किन्नेको संख्या घटेको हो। पोहोर कात्तिकसम्ममा ३७ अर्ब आठ करोड ५३ लाख रुपैयाँका सवारी साधन र पार्टपुर्जा आयात भएकोमा चालु आर्थिक वर्ष ०७६/७७ को सोही अवधिमा ३४ अर्ब ७४ करोड रुपैयाँको मात्र आयात भएको भन्सार विभागले जनाएको छ।

जनसंख्या र आम्दानी वृद्धि भएसँगै अटो बजार वार्षिक २० प्रतिशतले बढ्नुपर्ने भए पनि पछिल्ला वर्ष उत्साहजनक रुपमा बढ्न नसकेको व्यवसायी बताउँछन्। नेपाल राष्ट्र बैंकले सवारी साधनलाई अनुत्पादक मानेर ऋण प्रवाहमा कडा नीति लिई सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि त्यसको असर बजारमा परेको छ।

नेपालमा वार्षिक करिब एक खर्ब रुपैयाँ बराबरको सवारी साधन र तिनका पार्टपुर्जा बिक्री हुन्छ। आर्थिक वर्ष ०७५/७६ मा ९१ अर्ब १५ करोड ८७ लाख रुपैयाँका सवारी साधन र पार्टपुर्जा आयात भएको थियो। मुलुकमा सवारी साधनको संख्या करिब ३६ लाखभन्दा धेरै रहेको भन्सार विभागले जनाएको छ। ३६ लाख सवारीमध्ये २५ लाखभन्दा बढी मोटरसाइकल छन्। करिब ११ लाख कार, जिप, बस, ट्रकलगायत ठूला सवारी साधन छन्।

पछिल्लो एक दशकमा सवारी साधन साढे दुई गुणा थपिएका छन्। आर्थिक वर्ष ०६६/६७ मा १० लाख १५ हजार दुई सय ७१ सवारी साधन दर्ता भएकोमा आर्थिक वर्ष ०७५/७६ सम्म आइपुग्दा यो संख्या बढेर करिब ३६ लाख पुगेको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०४:२४ आइतबार

सवारी_साधन लगानी