अर्थ

उधारो असुली कानून बनाउन माग

काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग–व्यापारलाई लाग्दै आएको ब्याजदर नघटेको र उद्योगको उधारो असुलीमा असहज स्थिति सृजना भएको बताएका छन्।  

परिसंघको टोलीले आइतबार राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई भेटेको थियो। सो अवसरमा अध्यक्ष मोरले यस्तो स्थितिलाई समाधान गर्न उधारो असुलीसम्बन्धी कानुनको व्यवस्था गर्न आवश्यक रहेको बताए।

उनले हाल विद्युत् उत्पादन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखिएकामा विद्युत् खपत कम गर्ने कार्यलाई समेत यस्तो क्षेत्रमा राखेर प्राथमिक क्षेत्रको कर्जाको गणना गर्न जलविद्युत् उत्पादन सरह गणना गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष मोरले रुग्ण भइरहेका र हुनसक्ने उद्योगलाई कर्जा भुक्तानीका लागि पुनः तालिकाका साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने जोखिम व्यवस्थालाई पुनर्विचार गरि कम गरिनु आवश्यक र बैंकको ब्याज तथा करको भुक्तानीको समय एकै भएकाले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न अनुरोध गरे।

उद्योग–व्यववसायीलाई व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समय–समयमा विदेश यात्रा गर्नुपर्ने तर राहदानीका आधारमा दिइने हालको सटही सुविधा अत्यन्त कम भएकाले यस्तो सटहीको सुविधा वृद्धि गर्न पनि उनले माग गरे।

नयाँ स्थापित कतिपय उद्योगको गेस्टेसन अवधि लामो हुने हुँदा त्यस्ता उद्योगलाई कम्तिमा पाँच वर्षसम्म वाच लिस्टमा समावेश गर्न नहुने माग उक्त अवसरमा गरिएको थियो।

गभर्नर चिरञ्जीवी नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशी मुद्रा सटहीमा समस्या नपर्ने गरी निजको कारोबारको आधार र नेपाली वस्तुको बाह्य मुलुकमा व्यापार प्रवद्र्धन एवं प्रचार–प्रसार आदिका लागि सटही सुविधा दिने व्यवस्था राष्ट्र बैंकले गर्न थालेको जानकारी दिए।
 

प्रकाशित: ९ मंसिर २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App