अर्थ

विद्युत् व्यापार र लगानी भित्र्याउन ऊर्जा सम्मेलन केन्द्रित

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ऊर्जा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंसिरको ५ र ६ गते राजधानीमा हुने सम्मेलन विद्युत् व्यापार र लगानी भित्र्याउनेमा केन्द्रित हुने इप्पानले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

इप्पान अध्यक्ष शैलेन्द्र गुरागाईंले सम्मेलन क्षेत्रीय विद्युत् व्यापार र नेपालको जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा केन्द्रित हुने जानकारी दिए। ‘यो सम्मेलनपछि विद्युत्को क्षेत्रीय व्यापारको ढोका खुल्नुका साथै  नेपालमा जलविद्युत् क्षेत्रमा भारत र बंगलादेशको लगानी भित्रिने अपेक्षा गरेका छौं,’ उनले भने, ‘दुई दिन चल्ने सम्मेलनमा १० भन्दा धेरै सेसन हुनेछ।’

उनका अनुसार सम्मेलनमा अन्तरदेशीय प्रसारण लाइन, विद्युत् बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजना सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शन लगायत विषयमा छलफल गरिनेछ। सम्मेलनमा नेपालका विभिन्न जलविद्युत् आयोजना सोकेसमा राखिने आयोजकले जनाएको छ।

अध्यक्ष गुरागाईंले सम्मेलनमा बिजनेस टू बिजनेस मिटिङ हुने बताए। ‘सम्मेलनमा आधा दर्जनभन्दा धेरै विद्युत् व्यापारसम्बन्धी सम्झौता गर्ने कार्यक्रम छ,’ उनले भने, ‘यसले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको बिजुली सोझै विदेशमा निर्यात गर्ने ढोका खोल्नेछ।’ सम्मेलनमा भारतका जलशक्ति मन्त्री, बंगलादेशका शक्ति खनिज संसाधन राज्यमन्त्री समेत सहभागी हुनेछन्।

सम्मेलनमा विशेषगरी भारत, बंगलादेश, चीन, नेदरल्यान्ड, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा लगायत देशबाट सात सय ५० भन्दा धेरै प्रतिनिधिको सहभागिता हुनेछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। इप्पानका महासचिव आशिष गर्गले सम्मेलनमा १० वटा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए। महासचिव गर्गले सम्मेलनले भारत र बंगलादेशसँगको विद्युत् व्यापारको ढोका खोल्ने दाबी गरे। ‘अहिलेको सम्मेलनमा आधा दर्जनभन्दा धेरै सम्झौता गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘जसले गर्दा विद्युत् व्यापारमा धेरै सहज हुने अपेक्षा राखेका छौं।’

इप्पान उपाध्यक्ष कुमार पाण्डेले नेपालको नवीकरणीय ऊर्जा खरिद गर्न भारत र बंगलादेशका निजी क्षेत्र इच्छुक भएको बताए। ‘अहिले छिमेकी मुलुक भारत र बंगलादेशका सरकार मात्रै नभएर निजी क्षेत्रसमेत बिजुली खरिद गर्न इच्छुक देखिएका छन्,’ उनले भने, ‘सम्मेलनले बिजुली व्यापार र लगानीमा देखिएको समस्या हल गर्ने ठूलो अवसरको रुपमा लिएका छौं।’

प्रकाशित: ३ मंसिर २०७६ ०३:३३ मंगलबार

विद्युत्_व्यापार लगानी