अर्थ

व्यापार र पारवहन प्रमुख अजेन्डा

काठमाडौं – करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ। मंगलबारबाट काठमाडौंमा सुरु वार्तामा दर्जनभन्दा बढी एजेन्डामा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

व्यापार र पारबहनको मुद्दालाई प्रमुखताका साथ अघि सारेको वार्ताको नेतृत्व गरिरहेका मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। वार्ता बुधबारसम्म चल्नेछ। बंगलादेशसँग व्यापार घाटा बढिरहेको बेला दुई देशबीच व्यापार बढाउने योजना रहेको छ।

नेपालको बंगलादेशसँग गत वर्षको व्यापार घाटा दुई अर्ब ९४ करोड ८७ लाख रुपैयाँ छ। गत आर्थिक वर्ष ०७५/७६ मा नेपालले बंगलादेशबाट चार अर्ब २४ करोड २२ लाख ४६ हजार रुपैयाँको सामान आयात गरेको र एक अर्ब २९ करोड ३४ लाख ७५ हजार रुपैयाँको निर्यात गरेको अभिलेख छ।

वार्तामा नेपालको तर्फबाट मन्त्रालयका सहसचिव ढकालले नेतृत्व गरेका छन्। बंगलादेशी टोलीको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खानले गरेकी छिन्।

व्यापार र नेपालमा लगानी वृद्धि गर्ने विषयमा पनि छलफल भएको छ। दुई देशबीच व्यापार वृद्धि, ऊर्जा व्यापार, दुई देशको खाद्य तथा कृषि वस्तुको सहज आयात–निर्यात, खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता, यहाँको धागो बंगलादेशतर्फ सहज निर्यात, काठमाडौं–ढाका बस सेवा सञ्चालन, दुई देशबीच मालबाहक कार्गो सञ्चालन, विराटनगर–बंगलादेश क्षेत्रीय उडान गर्ने विषय पनि राखिएको छ।

एक अर्को मुलुकका सक्षम निकायले जारी गरेको आयात–निर्यात हुने खाद्य वस्तुको गुणस्तर प्रमाणपत्रलाई दुवैले मान्यता दिनुपर्ने प्रस्ताव नेपालले अघि सारेको छ। बंगलादेशले नयाँ फुड सेफ्टी अथोरिटी स्थापना गरेकाले सहकार्य गर्ने विषयमा छलफल गर्न एजेन्डा पठाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार खाद्य पदार्थ आयात तथा निर्यात गर्न सजिलो होस् भनेर दुवै देशका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन आग्रह गरिएको छ। ‘हाम्रो प्रस्तावलाई उनीहरुले स्वीकार गरेपछि थप छलफल गरेर एमओयू हुन्छ,’ महर्जनले भने, ‘अहिलेको व्यापार वार्तामा उक्त विषय समावेश गरिएको छ।’

महर्जनका अनुसार अहिले नेपालबाट अदुवा, मह, मुसुरोलगायत खाद्यवस्तु बंगलादेश निर्यात हुने गरेको छ। २०३२ मा नेपाल र बंगालदेशबीच व्यापार तथा भुक्तानी र पारबहन सम्झौता भएपछि औपचारिक रूपमा व्यापार सुरु भएको थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:२८ बुधबार

नेपाल–बंगलादेश व्यापार_वार्ता