अर्थ

आन्तरिक पाहुनाको पोखरा बास ‘एकरात’ मात्र

पोखरा फेवातालमा डुंगा सयर गर्दै पाहुना। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – पोखराले पछिल्लो केही वर्षदेखि आन्तरिक पर्यटनबाट राम्रो लाभ पाउँदै आउँदा यहाँका पर्यटन व्यवसायी निकै खुसी थिए। वर्षमा ५० प्रतिशत हाराहारीको ‘अकुपेन्सी’ आन्तरिक पाहुनाले ओगट्न थालेको भन्दै व्यवसायीले विदेशी सरह आन्तरिक पाहुनालाई उत्तिकै महत्व दिन थालेका थिए। आन्तरिक पाहुनाको पोखरा आगमन, बसाइँ अवधि र खर्च गर्ने क्षमता देख्दा यहाँका व्यवसायी निकै हौसिएका पनि थिए।

तर, यो दसैंमा यहाँका व्यवसायीले आन्तरिक पर्यटकको फरक स्वभाव र अनुभव बटुलेका छन्। त्यो हो– आन्तरिक पर्यटक पोखरा अडिनै छाडेका छन्। आन्तरिक पाहुनाको पोखरा बसाइँ अवधि घट्दै गएको छ। पछिल्लो समय आन्तरिक पाहुनाको पोखरा बसाइँ अवधि कम भएको यो दसैंको लामो बिदामा घुम्न आएका पाहुनाबाट व्यवसायीले अनुभव बटुलेका छन्। यसअघि तीन रातसम्म पोखरा बसाइँ अवधि हुने आन्तरिक पाहुनामध्ये अधिकांशले यो पटक एक रातमात्र पोखरामा होटलमा बिताएका छन्। त्यसो भए, ती पाहुना कहाँ गए त ? पर्यटन व्यवसायी भन्छन्– सिधा र सुविधासम्पन्न यातायातले पाहुनालाई सिधै अन्यत्रका पर्यटकीय गन्तव्यसम्म पु-याएको छ। गन्तव्य घुमेर फर्केका पाहुना पनि सिधै घर फर्किन थालेका छन्।

‘आन्तरिक पाहुना पोखरा अडिनै छाडे। पहिला पहिला तीन–चार रातसम्मको बसाइँ हुने पाहुना अहिले एकरात बसेर भोलिपल्टै हिँड्न थालेका छन्,’ होटल रानीवन आर्केडका सञ्चालक हरि भुजेल भन्छन्, ‘आन्तरिक पाहुना नआएका होइनन्, तर, उनीहरुको पोखरा बसाइँ अवधि भने पक्का घटेको हो।’ उनका अनुसार काठमाडौंबाट बिहानै गाडीमा आएका पाहुना अहिले बेलुकीसम्म पोखरा आसपासका ग्रामिण पर्यटकीय गन्तव्यसम्म सहजै पुगिसक्छन्। त्यस्तै आसपासका क्षेत्र घुमेर बेलुकी पोखरा झरेका पाहुना पनि यहाँबाट चल्ने सुविधासम्पन्न सवारी चढेर घरसम्म फर्किन सक्छन्।

काठमाडौं–पोखरा रुटमा बिहान ७ बजे नै हवाई उडान हुन्छ। त्यसबाहेक साना सवारी र ठुला बस चढेर दिउँसोसम्म पोखरा आएका पाहुना बेलुकीसम्म सहजै पोखरा आसपासका ग्रामिण पर्यटकीय क्षेत्रमा बास बस्न पुग्दा ती पाहुनाको पोखरा बसाइँ अवधि कम हुन थालेको भुजेलले बताए। घान्द्रुक, घोरेपानी, सिक्लेस, धम्पुस, पोथना, अस्ट्रेलियन क्याम्पलगायत पर्यटकीय गन्तव्यसम्म सवारी पहुँच पुग्दा पाहुनालाई ती ठाउँसम्म एकै दिनमा पुग्न सहज भएको उनले बताए। ‘केही वर्ष अघिसम्म ती सबै गन्तव्यमा मोटर पुगिसकेको थिएन। त्यसले गर्दा अधिकांश पाहुना पोखरामै बास बस्थे। केही मात्र घुम्न जान्थे। पैदल हिँड्न नसक्नेहरु त पोखराबाटै फर्किन्थे,’ भुजेलले भने, ‘तर, अहिले भने सबैखाले पाहुनालाई सवारीले सिधै गन्तव्यसम्म पु-याउन सकेको छ। ती गन्तव्य अधिक पाहुनाका लागि नयाँ पनि हुन्।’

‘बिहान काठमाडौंबाट बस चढेर आएपछि बेलुकी घान्द्रुक पुगिन्छ। अनि पोखरा बस्नुपर्ने बाध्यतामा पाहुना परेनन्,’ उनले भने, ‘जसोतसो पोखरामा दिउँसो तीन–चार बजेसम्म आइसकेका पाहुना बेलुकी आसपासका पर्यटकीय गन्तव्यमा पुग्न सक्छन्।’ ग्रामिण पर्यटकीय क्षेत्रसम्म मोटरको पहुँच पुगेकाले पनि आन्तरिक पाहुनाको पोखरा बसाइँ अवधि कम हुँदै गएको उनले बताए। गन्तव्य घुमेर फर्केका पाहुनालाई राजधानीलगायत सहर फर्किन पनि सहजै सुविधासम्पन्न सवारी पोखरामा उपलब्ध भएकाले पनि ती पाहुनाको पोखरा बसाइँ अवधि कम हुँदै गएको उनले बताए।

अहिले पोखराबाट राती अबेरसम्म राजधानीलगायत सहरसम्म पुग्ने गरी सुविधासम्पन्न सवारी सञ्चालन हुन्छन्। ती सवारीले पाहुनालाई घरघर र होटलबाटै उठाएर राजधानीसम्म पु-याउने सुविधा दिएका छन्। त्यसले गर्दा पाहुनाले बिहानको काम भेट्नेगरी बेलुकीको यात्रा तय गर्दा पनि पोखरा बसाइँ अवधि कम हुँदै गएको उनको भनाइ छ। रात्रिकालीन सुविधासम्पन्न सवारीले पनि पाहुनाको बसाइँ अवधिलाई यात्रामा बदलिदिएको उनले बताए। सुविधासम्पन्न रात्रिकालीन यातायाताले स्वदेशी मात्र नभई विदेशी पाहुनाको पोखरा बसाइँ अवधि पनि घटाइदिएको उनले बताए।

पछिल्लो समय निजी सवारीको संख्या बढिरहेको, युवापुस्तामा मोटरसाइकलको यात्रा बढ्दो र सार्वजनिक यातायातका साधनको सहज उपलब्धताले पनि आन्तरिक पाहुनाले पोखरालाई छाड्न थालेको अर्का व्यवसायी धर्मराज पन्थीको भनाइ छ। ‘आन्तरिक पाहुना त पोखरामा बस्नै छाडेका छन्। आएका पाहुना पनि उत्तिखेरै आसपासका क्षेत्रमा बास बस्न पुगिसक्छन,’ पन्थीले भने, ‘पोखरा पहिल्यै पनि घुमिसकेकाले पनि पाहुनाले अन्यत्रका गन्तव्य रोज्ने गरेका छन्।’ पन्थीको अनुभवमा पोखरा आउजाउ र केहीबेर वा एकरातको ट्रान्जिट सहर मात्र बन्न थालेको छ।

पछिल्लो समय पोखरा मात्र नभई हिमालपारिको जिल्ला मुस्ताङलाई पनि धेरै आन्तरिक पाहुनाले गन्तव्य बनाएका छन्। पोखरा, काठमाडौं, बुटवलदेखि सिधा बस सेवा सञ्चालन हुँदा पनि पाहुनालाई मुस्ताङ पुग्न सहज छ। पोहोर एकै दिन पाँच हजार हाराहारीमा आन्तरिक पाहुना जोमसोम उक्लेका थिए। केही वर्ष अघिसम्म अधिक पाहुनाको बसाइँ र घुमघामको क्षेत्र पोखरा बन्ने गरेकामा अहिले भने जोमसोमसम्म सहज भएको पन्थीले बताए। ‘मुस्ताङको कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ, मनाङको तिलिचोसम्म पनि अहिले आउजाउ सहज छ,’ पन्थीले भने, ‘आन्तरिक पाहुनालाई अहिले पोखरामै बस्न बाध्य पार्ने अवस्था छैन। नयाँ गन्तव्य उनीहरुको रोजाइमा पर्न थालेको छ। केही वर्ष अघिसम्म हिमाली भेगका ती नयाँ गन्तव्यसम्म आउजाउ गर्न सहज नहुँदा मात्र पोखरामा अडिएका पाहुनाले अहिले भने नयाँ गन्तव्यको यात्रा तय गर्न थालेको पन्थीले बताए।

घान्द्रुकका पर्यटन व्यवसायी किसम गुरुङको अनुभवमा पछिल्लो समय काठमाडौं, चितवनबाट हिँडेका आन्तरिक पाहुना त्यही दिन घान्द्रुक पुग्न थालेका छन्। ‘यो पटक अधिक पाहुना सिधै घान्द्रुक उक्लेको पाएका छौं। सिधै घान्द्रुक आएका ती पाहुनाले पोखरालाई माया नगरेको भन्न मिल्दैन। बरु पोखरा पहिल्यै घुमिसकेकाले नयाँ नलाग्न सक्छ,’ गुरुङले भने, ‘यो पटक आन्तरिक पाहुनाको भीड घान्द्रुकलगायत क्षेत्रमा लागेको छ।’ कुनै अवरोध नहुने हो भने अहिले काठमाडौंबाट ९/१० घण्टामा सहजै घान्द्रुक पुग्न सकिन्छ। पोखराबाट चार घन्टामै घान्द्रुक पुग्न सकिन्छ। बाटोको सहजताले गर्दा पनि पाहुना पोखरा रोकिन छाडेको हुनसक्ने उनले बताए।

‘हामीले त पाहुनालाई पोखरामा एकरात बिताएर मात्र घान्द्रुक उक्लिनु भनेर सुझाव दिन्छौं। तर, पाहुना सिधै आउने गरेका छन्। पहिलो पटक आएका पाहुना पोखरामा अडिएर मात्र घान्द्रुक आउँछन्,’ उनले भने, ‘तर, बारम्बार पोखरा आएका पाहुना भने अहिले सिधै घान्द्रुक, घोरेपानीको गन्तव्य तय गर्ने गरेका छन्।’ पोखरा अरुबेलाको छोटो बिदामा समेत आएर घुम्न सकिने भएकाले पनि लामो बिदाको सदुपयोग गर्न पाहुनाले घान्द्रुक, घोरेपानी, धम्पुसलगायत क्षेत्रलाई प्राथमिकता दिएका हुन्।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनको अनुभवमा कुनै दिन पदयात्राका लागि कहलिएका गाउँसम्म अहिले मोटरको पहुँच पुगेको छ। त्यसले पोखरालाई ट्रान्जिटको रुपमा मात्र आन्तरिक पाहुनाले उपयोग गर्न थालेको तुलाचन बताउँछन्। ‘पोखरामा एक वा बढीमा दुई रातमात्र बसाइँ हुन थालेको छ। किनकी पाहुना सिधै गन्तव्यसम्म पुग्नसक्ने अवस्था छ,’ तुलाचनले भने, ‘बाहिरी परिवेश, हिमाली भेगको अनुभव, हावापानीको फरक अनुभव गर्न पनि अहिले पाहुनाले पोखरालाई दोस्रो प्राथमिकताको गन्तव्य बनाएका छन्।’

कनेक्टिभिटीका कारण आन्तरिक पाहुनाले पनि पोखरालाई छाड्न थालेको उनले बताए। ‘घुम्न आउने क्रममा त अधिक पाहुना सिधै गन्तव्यसम्म पुग्छन्। कतिपय पाहुना घुमेर फर्किंदा पनि पोखरामा बस्न छाडिसकेका छन्,’ उनले भने, ‘आन्तरिक पाहुनामा घुम्ने संस्कार बढेको छ। त्यस्तै नयाँ परिवेशको अनुभव लिने पनि चाहना उनीहरुमा हामीले देखेका छौं।’ नयाँ गन्तव्यको खोजीमा आन्तरिक पाहुना अहिले पोखरा आसपासका क्षेत्रमा पुग्न थालेकाले उनीहरुलाई पोखरामा रोक्नका लागि आकर्षक कार्यक्रम गर्न जरुरी रहेको अध्यक्ष तुलाचनले बताए।

प्रकाशित: २८ आश्विन २०७६ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App