अर्थ

६ वर्षसम्म दिइएन चुनढुंगा खानी

काठमाडौं – सरकारले विदेशी लगानी ल्याउन पहल गरिरहेको बताइरहँदा नाइजेरियाबाट यहाँ लगानी गर्न आएको डांगोटे सिमेन्ट कम्पनीले ६ वर्षदेखि चुनढुंगा खानी पाएको छैन। सरकारी असहयोग कै कारण खानी नपाएपछि ५५ अर्ब रुपैयाँको विदेशी लगानी अनिश्चित बनेको छ।

अफ्रिकामा सिमेन्ट उत्पादनमा ख्याति कमाएको डांगोटे ५५ अर्ब रुपैयाँ लगानी गरेर दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने योजनासहित नेपाल आएको थियो। उक्त कम्पनीले २०७० मा उद्योग सञ्चालन अनुमति लिएको थियो।

६ वर्षदेखि चुनढुंगा खानीको खोजी गरिरहे पनि सरकारले उपलब्ध नगराएको डांगोटेका नेपाल प्रतिनिधि रुपबहादुर रावलले बताए। खानी उपलब्ध गराउन खानी तथा भू–गर्भ विभाग, लगानी बोर्ड र सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको रावलले बताए। ‘६ वर्षदेखि खानीका लागि भौंतारिइरहेका छौं,’ रावलले भने, ‘खानी नपाउँदा ५५ अर्ब रुपैयाँको विदेशी लगानी आउन सकेन।’

खानी उपलब्ध गराए कम्पनी तुरुन्त सिमेन्ट उद्योग निर्माण गर्न तत्पर रहेको उनले बताए। ‘सरकारले विदेशी लगानी ल्याउने भनिरहेको छ,’ उनले भने, ‘लगानी गर्न इच्छुक कम्पनीलाई वातावरण तयार भएन।’

कम्पनीले मकवानपुर, धादिङ र पाल्पामा रहेका चुनढुंगा खानी लिन पहल गरिरहेको भए पनि प्रयास निरर्थक भएको जनाएको छ। डांगोटेभन्दा कम क्षमताका कम्पनीलाई खानी पाए पनि उक्त कम्पनीले पाउन सकेको छैन। उक्त कम्पनीले उद्योगका लागि यहाँ करिब ३० करोड रुपैयाँ खर्च गरिसकेको छ। कम्पनीले खानीको अध्ययन, ड्रिलिङ, अर्को सिमेन्ट उद्योग किन्न करिब २० करोड रुपैयाँ र नेपालमा भूकम्प गएको बेला १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो।

स्रोतका अनुसार सरकारी असहयोग र निजी क्षेत्रको दबाबको कारण डांगोटेले खानी नपाएको हो। डांगोटेलाई आवश्यकता अनुसारको खानी उपलब्ध गराउन नसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वीकारे। ‘ठूलो लगानीको उद्योग भएकाले चुंनढुंगा खानी पाइरहेको छैन,’ अधिकारीले भने।

सरकारले विदेशी लगानीको लागि उपयुक्त वातावरण बनाउने बताइरहँदा आउन ठिक्क परेको ५५ अर्ब फिर्ता हुने खतरा बढेको छ।

डांगोटेले दुईवटा खानी किनिसके पनि कमजोर गुणस्तरको चुनढुंगा भएकाले अर्को खानी खोजेको हो। डांगोटेले खानीका लागि विराट सिमेन्ट कम्पनी खरिद गरेको थियो। उक्त उद्योगको खानी गुणस्तरीय नभएपछि सरकारसँग अन्य खानी व्यवस्थापन गर्न आग्रह गरेको रावलले बताए। ‘खानीका लागि विराट सिमेन्ट उद्योग नै खरिद ग-यौं,’ रावलले भने, ‘उक्त उद्योगको चुनढुंगा खानी गुणस्तरीय नभएकाले उद्योग सुरु गर्न सकेनौं।’

उक्त कम्पनीले पाल्पा, धादिङ र मकवानपुरमा चुनढुंगा खानी लिने प्रयास गरे पनि पाएको छैन। ६ वर्षदेखि खानी नपाएपछि कम्पनी फिर्ता जाने कि बस्ने भन्ने अन्योलमा छ। उक्त कम्पनीले धादिङमा चुनढुंगा खानी उपलब्ध गराइदिन लगानी बोर्डमार्फत सरकारलाई अनुरोध गरे पनि सहयोग नपाएको गुनासो छ। ‘धादिङमा भएको खानी उपलब्ध गराउन लिखित रुपमा अनुरोध ग¥यौं,’ कम्पनीका प्रतिनिधि रावतले भने, ‘कहीँ खानी पाइएन।’

यद्यपि कम्पनीका प्रतिनिधि खानी खोज्न अझै पहल गरिरहेको बताउँछन्। अहिले निजी क्षेत्रले खरिद गरेर राखेका केही खानी लिने प्रयास भइरहेको रावलले बताए। ‘सरकारले उपलब्ध नगराएपछि अरुले होल्ड गरेर राखेका ६–७ वटा खानीसँग कुरा भइरहेको छ,’ उनले भने, ‘नाइजेरियाबाट प्राविधिक टोली आएर अध्ययन गरेपछि थप अघि बढ्छौं।’

यहाँका उद्योगले नेपालको सिमेन्टमा विदेशी लगानी आवश्यक नरहेको भन्दै लबिङ गर्नु र डांगोटेले खानी नपाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ‘डांगोटेपछि आएका कम्पनीले खानी पाउने र उसले नपाउनुले नै सरकारी अधिकारीको नियतमा शंका देखिन्छ,’ एक व्यवसायीले भने, ‘यहाँ लगानी गर्न नपाए अर्को देशमा गएर लगानी गर्न सक्छ।’

सरकारले लगानी सम्मेलन गरेर विदेशी लगानीकर्तालाई नेपाल आउन आह्वान गरे पनि वातावरण तयार गर्न सकेको छैन। जसले गर्दा लगानी गर्न तत्पर कम्पनी फिर्ता जाने अवस्थामा पुगेको छ।

डांगोटे बहुराष्ट्रिय कम्पनी हो। यसले आफ्नो मुलुक नाइजेरियासहित दक्षिण अफ्रिका, क्यामरुन, सेनेगल, घाना, इथियोपिया, सिएरा लिओन, जाम्बिया, तान्जानिया, कंगो लगायत मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ। डांगोटे सिमेन्ट उत्पादनमा अब्बल कम्पनीको रुपमा परिचित छ। उक्त कम्पनीले अफ्रिकी मुलुकमा करिब पाँच करोड मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ। डांगोटे ग्रुपको सूचना प्रविधि, बन्दरगाह सञ्चालन, पेट्रोकेमिकल रिफाइनरी, ग्यास पाइपलाइन, रियल इस्टेट, पूर्वाधार निर्माण, रासायनिक मल, कृषिलगायत क्षेत्रमा लगानी छ।

अन्य विदेशी तथा निजी क्षेत्रका सिमेन्ट उद्योगले चुनढुंगा खानी पाएर धमाधम नयाँ उद्योग सञ्चालन गरे पनि डांगोटेले पाउन नसक्नुलाई सरकारी अधिकारीको असहयोगको रुपमा पनि हेरिएको छ। स्रोतका अनुसार डांगोटको उत्पादन क्षमता दैनिक ६ हजार टन र गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने भएकाले यहाँका सिमेन्ट उद्योग पनि त्रसित छन्। यहाँका अन्य निजी कम्पनीले डांगोटेलाई फिर्ता पठाउन अघोषित रुपमा लबिङ गर्दै आएको एक उद्योगीले बताए। ‘डांगोटेले यहाँ सिमेन्ट उत्पादन गर्ने भनेपछि सिमेन्ट उत्पादक त्रसित छन्,’ ती उद्योगीले भने, ‘खानी नदिएर सकेसम्म डांगोटेलाई फिर्ता पठाउन चाहन्छन्।’

डांगोटेभन्दा पछि आएको चिनियाँ लगानीको होङ्सी सिमेन्टले उद्योग स्थापना गरेर उत्पादन सुरु गरिसकेको छ। उक्त कम्पनी यहाँको शिवम् सिमेन्टलाई साझेदार बनाएर आएको थियो। निर्माणाधीन अवस्थाको अर्को चिनियाँ कम्पनी हुवासिन भने जग्गा विवादमा मुछिएको छ।

प्रकाशित: १० आश्विन २०७६ ०३:२४ शुक्रबार

सिमेन्ट_कम्पनी चुनढुंगा_खानी