काठमाडाैं – दसैंमा सबैभन्दा बढी चासो मासुको हुन्छ। त्यसैले त अरु बेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि च्यांग्रा भनेपछि उपभोक्ता झनै हुरुक्कै हुने गरेका छन्। हिमाली जडीबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमा किनबेच हुन्छ।
पछिल्लो समय त हिमाली जिल्लाका ती च्यांग्रा राजधानी काठमाडौंमा समेत पु-याउन थालिएको छ। खाद्य संस्थानले मुस्ताङका किसानसँग किनेको च्यांग्रा सिधै काठमाडौं लगेर उपभोक्तालाई बिक्री गर्दै आएको छ। यसपटक खाद्य संस्थानले राजधानीबासीको स्वादको चाहनालाई ध्यान दिएर आगामी सोमबार काठमाडौंमा पहिलो ‘लट’ च्यांग्रा ओराल्दै छ।
व्यवसायीका अनुसार दसैंमा मात्र पोखरा क्षेत्रमा करिब ३० हजार गोटा च्यांग्रा बिक्री हुन्छन्। पोखरामा बिक्रीका लागि झारिने च्यांग्रा किन्न व्यापारी यतिबेला हिमाली जिल्ला मुस्ताङ उक्लिसकेका छन्। व्यवसायीले केही च्यांग्रा पोखरा झारेर बिक्री पनि थालिसकेका छन्। जिउँदो खसीबोका व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष गंगाबहादुर भण्डारीका अनुसार यसपटक झन्डै ३० हजार च्यांग्रा पोखरा आउने अनुमान छ।
‘हरेक वर्ष हिमाली च्यांग्राको माग बढ्दो छ। त्यहीअनुसार माथि (मुस्ताङ) बाट च्यांग्रा तल झारिँदै छ। हामीले पहिलो लटमा दुई सय ५० गोटा च्यांग्रा पोखरा झारेर बेचिसक्यौं,’ भण्डारीले भने, ‘यसपटक कम्तीमा पाँच सय च्यांग्रा बेच्ने योजना छ। पोहोर पनि पाँच सय नै बेचेका थियौ।’ च्यांग्रा किन्नका लागि समूहका केही व्यवसायी मुस्ताङ उक्लिसकेको उनले बताए।
हिमाली जडीबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरू खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर पनि मुस्ताङबाट झारिएका हजारौं च्यांग्रा पोखरामा केही दिनको अन्तरमै किनबेच हुन्छ।
‘पोखरेली उपभोक्ताले च्यांग्रा पाएसम्म खसीबोका र कुखुराको मासु नै खाँदैनन्। हिमाली जडीबुटी र हावापानीमा हुर्केकाले पनि पोखरेली उपभोक्ताले च्यांग्रा रुचाउँछन्,’ उनले भने, ‘अहिले त पोखरा मात्र नभई कास्कीआसपासका जिल्लाका उपभोक्तले समेत च्यांग्रा रुचाउन थालेका छन्।’ कास्कीबाहेक स्याङ्जा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउने गरेको उनले बताए।
च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पुख्र्यौली स्वादको रूपमा पनि लिएकाले महँगो परे पनि खाने गरेको उनले बताए। उनका अनुसार पोखरामा साउनदेखि मंसिरसम्म च्यांग्राको मासु किन्न पाइन्छ। दसैं–तिहारताका सर्वत्र पाइने भए पनि अरू बेला भने सबैतिर च्यांग्रा किन्न नपाइने उनले सुनाए। असोजदेखि मंसिरसम्म भने पोखरामा पर्याप्त मात्रामा च्यांग्राको मासु खान पाइने उनले बताए।
मासु व्यवसायी संघका निवर्तमान अध्यक्ष भोलानाथ ओझाले पनि दसैंताका पोखरामा हिमाली च्यांग्राको मासु पर्याप्त खपत हुने बताए। उनका अनुसार अरू बेला पोखरामा दैनिकरूपमा करिब आठ हजार किलो खसी र ३५ हजार किलो कुखुराको मासु बिक्री हुने गरे पनि दसैंताका भने खसीको मासुको खपत ह्वात्तै बढेर ३५ हजार किलोजति पुग्छ। कुखुराको मासुको खपत भने घटेर २५ हजार किलो हाराहारीमा झर्ने उनले बताए। ‘खसीबाहेक च्यांग्राको खपत पनि उत्तिकै हुने गरेको छ,’ ओझाले भने, ‘च्यांग्राको खपतको हिसाबकिताबै हुँदैन। अधिक पोखरेली उपभोक्ताले च्यांग्राको स्वाद चाख्छन्।’
यतिबेला पर्यटकीय सिजन सुरु हुने र पोखरासहित आसपासका क्षेत्रमा आन्तरिक पाहुना पनि पर्याप्त संख्यामा घुम्न आउने भएकाले मासुको खपत पनि अधिक हुने उनले बताए। पोखरा आएका ती आन्तरिक पाहुनाले पनि कम्तीमा पाएसम्म च्यांग्राको स्वाद चाख्न खोज्ने हुँदा च्यांग्राको खपत बढी हुने गरेको ओझाले बताए। ‘पोखराबाहेक अन्यत्र च्यांग्राको मासु हत्तपत्ति पाइँदैन। त्यही भएर घुम्न आएका उपभोक्ताले पनि च्यांग्राकै मासुको स्वाद खोज्छन्। यहाँका हरेक होटल र रेस्टुरेन्टमा च्यांग्राको मासु खपत हुन्छ,’ उनले भने।
पोखरेलीलाई मात्र नभई राजधानीवासीका लागि पनि खाद्य संस्थानले यसपटक च्यांग्रा बेच्दै छ। भूकम्पपछि संस्थानले बर्सेनि दसैंमा च्यांग्रा बेच्न थालेको हो। दसैंका लागि खाद्य संस्थाले यसपटक दुई हजार च्यांग्रा बेच्ने भएको छ। पोहोर संस्थानले राजधानी लगेर एक हजार च्यांग्रा बेचेको थियो। मुस्ताङबाट झन्डै साढे तीन करोड रुपैयाँ खर्चेर खाद्यले च्यांग्रा राजधानी पु-याउँदै छ। मुस्ताङका विभिन्न गाउँमा च्यांग्रा किनेर खाद्यले राजधानी लगेर बेच्ने तयारी गरेको छ। खाद्य संस्थान मुस्ताङका विनोद चन्दका अनुसार पाँच सय गोटा हाराहारीमा चार चरणमा च्यांग्रा राजधानी पुग्नेछन्।
पहिलो चरणमा आगामी सोमबारसम्म काठमाडौं पुगिसक्ने उनले बताए। गाउँगाउँका किसानसँग खरिद गरिएका ती च्यांग्रा खाद्यले राजधानीको बिक्री केन्द्रमार्फत बेच्दै आएको छ। उनका अनुसार बुधबारदेखि चार दिनसम्म संस्थानले च्यांग्रा संकलन, खरिद र स्वास्थ्य परीक्षण गर्नेछ। त्यसपछि बल्ल ढुवानी गर्न थाल्ने चन्दले बताए। ‘हामीले गाउँका किसानबाट सिधै च्यांग्रा किन्छौं,’ उनले भने, ‘संकलित च्यांग्रा म्याग्दी सदरमुकाम बेनीसम्म हिँडाएर लगिन्छ। त्यसपछि ट्रकमा सिधै राजधानी पठाइन्छ।’ जोमसोमसम्म सवारी चले पनि मौसमसँग अनुकूलन गराउन झन्डै पाँच दिन लगाएर जोमसोमबाट बेनीसम्म हिँडाएर लैजाने उनले बताए।
‘उच्च हिमाली क्षेत्रमा हुर्केका हुनाले पनि एकैपटक गाडीमा तल (बेनी) पु-याउँदा मौसम र खानपिन बदलीले समस्या आउन सक्छ,’ उनले भने, ‘त्यही भएर हिँडाएरै लगिन्छ।’ खाद्यले हरेक वर्ष माथिल्लो भेगका किसानसँग च्यांग्रा खरिद गरेर पठाउने गरेको छ। मुस्ताङको माथिल्लो भेगका किसानले खाद्य संस्थानले मागेअनुसार च्यांग्रा संकलन गरेर तल (जोमसोम) झार्छन्। किसानले बटुलेर ल्याएका च्यांग्रा खाद्यले जोमसोममै किनेर राजधानी पठाउँछ।
पोहोर खाद्यले पाँच सय ३० रुपैयाँ प्रतिकिलोका हिसाबले किसानसँग जिउँदो च्यांग्रा खरिद गरेको थियो। यसपटक मूल्य बढाएर प्रतिकिलो पाँच सय ६० रुपैयाँ पु-याएको छ। २५ देखि ४० किलो तौलसम्मका च्यांग्रा खाद्यले खरिद गर्नेछ। किसानसँग सिधै खरिद गरिएका च्यांग्रा राजधानी पुगेपछि खाद्य संस्थानको खरिद समितिले मूल्य निर्धारण गर्ने उनले बताए। त्यसबाहेक जिल्लास्तरमा हुने खरिद समितिले किसानलाई दिने मूल्य निर्धारण गर्दछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्लास्तरको खरिद समितिले च्यांग्राको स्थानीयस्तरमा मूल्य निर्धारण गर्छ। यो समितिमा खाद्य र पशुका पदाधिकारी पनि हुन्छन्।
खाद्यले किसानले ल्याएका च्यांग्रा सिधै नगदमा किन्छ। जोमसोममा संकलित च्यांग्रा बेनीसम्म हिँडाएर ल्याउँदा त्यसको लागत पनि थपिन्छ। बेनीसम्म हिँडाएर ल्याउँदा प्रतिगोटा दुई सय २५ रुपैयाँका दरले लागत तोकिएको छ। त्यसपछि ट्रकमा काठमाडौं पु-याउँदा अतिरिक्त प्रतिगोटा झन्डै आठ सय रुपैयाँ भाडा लाग्छ। सबै खर्च जोडेर न्यूनतम मुनाफा राखेर प्रतिकिलोका दरले संस्थानले राजधानीमा मूल्य निर्धारण गर्छ।
व्यवसायीले जथाभावी मूल्य तोकेर दसैंमा उपभोक्तालाई महँगोमा च्यांग्रा बेच्न सक्ने भएकाले त्यो नियन्त्रणका लागि पनि खाद्यले पछिल्लो केही वर्षदेखि च्यांग्रा बेच्न थालेको हो। मुस्ताङस्थित पशुसेवा कार्यालयले च्यांग्रामा कुनै रोग भए/नभएको परीक्षण गरेर मात्र खाद्यका लागि खरिद गरिन्छ। च्यांग्रा किन्न खाद्यका कर्मचारी केही दिनअघि नै मुस्ताङका माथिल्लो क्षेत्रमा किसानको सम्पर्कमा पुग्छन्। वारागुँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन्। तिनै च्यांग्रा किसानसँग किनेर अरू व्यवसायीले पोखरामा बेच्नका लागि झार्छन्। खाद्यले राजधानी लैजानेबाहेक अरू व्यवसायीले पनि हजारौं च्यांग्रा किनेर बेच्न पोखरा ल्याइपु-याउँछन्। पोखरामा दसैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।
प्रकाशित: ९ आश्विन २०७६ ०३:१० बिहीबार