अर्थ

नेपालको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

काठमाडौं – नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइज एक्सभियर लेगरले नेपालको विकासका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको बताएका छन्।

राजदूत लेगरले नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालको औद्योगिक, पर्यटन एवं हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको बताए।

नेपालको वर्तमान अवस्थामा फ्रान्सको लगानी नेपालमा ल्याउन दूतावासका तर्फबाट सक्दो पहल भइरहेको विचारसमेत उनले व्यक्त गरे। नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको प्रभावकारीताका लागि समेत दूतावासबाट पहल भइरहेको उनले बताए।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा अहिले लगानीको वातावरण सिर्जना भएको भन्दै  फ्रान्सेली उद्योगीको लागि नेपाल लगानीको राम्रो क्षेत्र हुने बताए। अध्यक्ष मोरले नेपालको पूर्वाधार विकासमा फ्रान्सका लगानीकर्ता इच्छुक रहेको पाइएको हुँदा परिसंघबाट आयोजित आगामी तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा फ्रान्सका लगानीकर्ताको सहभागिताका लागि दूतावासबाट सहयोगको अपेक्षा गरेको धारणा राखे।

प्रकाशित: १९ भाद्र २०७६ ०२:१९ बिहीबार

नेपाल फ्रान्स विकास सहकार्य