अर्थ

म्याद गुज्रिएका सामान बिक्रिमा रोक

सोलुखुम्बु – जनप्रतिनिधिको बैठकले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै वडाभित्र सञ्चालित होटल पसलले म्याद गुज्रिएका सामग्री बिक्री गर्न नपाउने नियम लागू गरिएको छ।

नियम कार्यान्वयनका लागि वडाध्यक्ष भुपालसिं राईको नेतृत्वमा सोमबारदेखि हाटबजारबाट अनुगमन पनि थालिएको छ। स्थानीय व्यापारीलाई भेला गरी म्याद गुज्रिएका सामग्री पहिचान गरी त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको विषयमा अभिमूखीकरणसमेत गराइएको छ।

प्रभावकारी रुपमा निर्णय कार्यान्वयन गर्नका लागि व्यापारीकै समिति बनाइएको छ। उक्त समितिले म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्रीमा कडाइ गर्नेछ। स्थानीय व्यापारीलाई नै अखाद्य वस्तु बिक्रीमा रोक लगाउन जिम्मेवार बनाउन खोजिएको वडाध्यक्ष राईले बताए।

साथै स्थानीय व्यापारीसहितको भेलाले वडा क्षेत्रभित्र सुर्तिजन्य र मादक पदार्थ उधारोमा बिक्री नगर्ने र बालबालिकाले खरिद बिक्री गर्न नपाइने गरी निर्णय गरेको छ। सो नियम पनि कार्यान्वयनमा आइसकेको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७६ ०३:०८ बुधबार

जनप्रतिनिधि म्याद_गुज्रिएका सामग्री बिक्री राेक