अर्थ

पर्यटन वर्ष सफल पार्न सार्वजनिक सफत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई।

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले देशभरका पर्यटन व्यवसायीलाई टुडिखेलमा बोलाएर सार्वजनिक सफत खुवाउने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल बनाउन देशभरबाट पर्यटन व्यवसायमा संलग्न व्यवसायीलाई आफ्नो व्यक्तिगत तथा संस्थागत रुपमा गर्न सक्ने सहयोगबारे सामूहिक प्रतिबद्धता गराउने उनको भनाइ छ।

प्रधानमन्त्रीको उपस्थितिमा सरकार र व्यवसायीलाई पर्यटन प्रवद्र्धनमा कुनै न कुनै भूमिका निर्वाह गराउन आफूले उक्त कार्ययोजना ल्याउन लागेको उनले बताए।

नेपाल वायुसेवा निगमलाई कुनै पनि हालतमा थला पर्न नदिने जनाउँदै उनले निगम सञ्चालनका लागि कार्यदल बनिसकेको र कार्यदलले काम गर्दैगर्दा आफूहरु पनि सँग–सँगै क्रियाशील रहने उनको भनाइ छ।

निगमलाई उन्नत र व्यवस्थापनमा सफल बनाउन आफ्नो प्रयास रहने जनाउँदै उनले निगमलाई निर्विवाद ढंगले अमेरिका, युरोप तथा एसियालगायत देशमा उड्न सक्ने वातावरण बनाउने उनले बताए।

पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने धारणा राख्दै उनले सरकारले पूर्वाधार विकासमा जोड दिने बताए। ‘सरकार आफैले बस वा रेस्टुरेन्ट नचलाए पनि वातावरण बनाउन प्रयास गर्न तयार रहेको छ,’ उनले बताए।

पर्यटन प्रवद्र्धनकै लागि विभिन्न देशमा रहेका कूटनीतिक नियोगका पदाधिकारी तथा राजदूतरुलाई आफू कार्यरत देशबाट पर्यटन वर्षलाई प्रोमोट गर्न केही योजना बनाएर अगाडि बढ्न आग्रह गरिने उनको भनाइ छ।

एनआरएन, विदेशमा कार्यरत नेपाली समुदाय तथा विद्यार्थीले पनि नेपालमा पर्यटक पठाउन आफ्ना संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग गर्न पनि उनले आह्वान गरे। विदेशमा अध्ययन गरिहेका विद्यार्थीले आफ्ना प्रोफेसरलाई र मजदुरले आफ्ना मालिकलाई नेपाल भ्रमणबारे जानकारी गराउँदा पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने उनको विश्वास छ। उनले भने, ‘हरेक एक जनाले एक पर्यटक नेपाल पठाउन सके २० लाख होइन ५० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ।’

प्रकाशित: २६ श्रावण २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App