बनेपा – काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा नौलो किसिमको कीराको प्रकोप देखिएपछि विषादीको व्यापक प्रयोग हुन थालेको छ।
‘मकै खेतीमा विष हाल्ने गरेकै थिएनौं। यो क्रम वर्षौंदेखि चल्दै आएको थियो। तर, यसपटक नसोचेको र नदेखेको कीराले मकै सखाप पा-यो। केही दिनमात्रै ढिलो विष हालेको भए कीराले मकैको बोट नै बाँकी नरहने गरी खाइसक्ने रहेछ,’ पाँचखाल–१२, बेलास्थित आत्मनिर्भर सहकारी संस्थाका अध्यक्ष केदारप्रसाद सापकोटाले भने।
असारको पहिलो साता उनको बारीका मकैमा यो कीरा देखिएको थियो। त्यसलगत्तै पाँचखाल नगरपालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र र एग्रोभेटमा धाउँदा पनि केही उपाय भेटिएन। ‘सुरुमा खडेरीले आएको कीरा होला भन्ने भयो। तर, हरिहरभवनस्थित केन्द्रीय कृषि प्रयोगशालामा जाँदा दुई प्राविधिक र केही बोतल विषादी दिएर पठाउनु भयो,’ सापकोटाले थपे।
प्रयोगशालाले उनलाई सिन्थेटिक पाइरेथ्रोइडस समूहको डेल्टामेथ्रिन (सामान्य नाम) विषादी दिएर पठाएको थियो। त्यो विषादीसँगै अन्य दुई किसिमका विषादी मिसाएर मकैको बोटमा तीन पटकसम्म छर्केपछि मात्रै कीरा नियन्त्रणमा आएको सापकोटाको भनाइ छ। ‘मेरो बारीमा मात्रै होला भनेको गाउँभरि सबैको बारीमा यो कीरा आइसकेको रहेछ। त्यही विधिले सबैले तीनवटा विषादी मिसाएर स्प्रे ग-यौं। अहिले कीरा नियन्त्रणमा आएको छ,’ उनल थपे।
नेपालमा पनि मकैलगायत खाद्यबालीमा खन्चुवा कीरा ‘फल आर्मी वर्म’को समस्या आइसकेको हल्ला सुनेका सापकोटासहितका किसानले एकैपटक तीनवटा विषादीलाई मिसाएर छर्नुमा रहर नभई बाध्यता भएको बताएका छन्। उनीहरुले सिन्थेटिक पाइरेथ्रोइडस समूहको साइपरमेथ्रिन र अर्गानोफस्फेट समूहको क्लोरपाइरिफसको मिश्रण विषादी र अन्य समूहको इमामेक्टिन बेन्जोएट मिसाएर मकैका बोटमा छर्केका थिए।
‘किसानले परीक्षणका क्रममा तीनथरि विषादी मिसाएर छर्दा ठीक भएको भन्दै त्यही अनुसारको विष माग्न थाल्नु भएको हो। उहाँहरुले कीराको प्रकोपअनुसार दुईदेखि तीन पटकसम्म मकैको बोटमा स्प्रे गर्दा कीरा सकिएको जानकारी दिनु भएको छु,’ साँग्रिला एग्रो भेट इम्पेक्सका सञ्चालक रमन मानन्धरले भने।
सुरुमा पाँचखाल नगरपालिका–१२ को केही भागमा देखा परेको कीराको समस्या यतिखेर नमोबुद्ध नगरपालिकाको वडा नं. ४ र ६ मा फैलिएको कृषि शाखाका प्राविधिक रेशम दाहालले जानकारी दिए। ‘यो सिजनमा हाइब्रिड मकैमध्ये किसानले धेरै परिमाणमा सिपी–८०८ जातको मकै लगाएकाले यसमा बढी समस्या देखिएको छ। अरु हाइब्रिडमा पनि न्यून प्रकोप छ। तर, सिपी–८०८ मा ज्यादा नै भएको किसानको गुनासो छ। स्थानीय जातको मकैमा त्यति धेरै समस्या देखिएको छैन,’ उनले थपे।
उता, नगरपालिकाले पनि केन्द्रीय कृषि प्रयोगशालालाई नमोबुद्ध नगरपालिकामा फल आर्मी वर्मले मकै सखाप पारेकाले नियन्त्रणमा सहयोग गरिदिन पत्राचार गरेको छ। ‘नगरपालिकाको पत्र आउँदा त्यहाँ ‘फल आर्मी वर्म’कै प्रकोप आइसकेको भन्ने त्रासमा थियौं। तर, फिल्डमा पुगेर हेर्दा आर्मी वर्मकै आकारका लार्भा देख्यौं। त्यसको नियन्त्रणका लागि केही विषादी छर्कन सुझाव दिएर कीराको सेम्पलसहित फर्केका छौं,’ बाली संरक्षण अधिकृत समीक्षा गौतमले जानकारी दिइन्। ‘मकै र धानमा विषादी नहालेको वर्षौं भएका किसान समस्याबाट डराइरहेका पायौं। तर, अन्यत्र विषादी छरेर नियन्त्रणमा आएको उदाहरण दिएपछि उहाँहरु ढुक्क हुनु भएको छ,’ उनले थपिन्।
सरकारी कृषि प्रयोगशालाका प्राविधिकले किसानको क्रयशक्तिले भ्याउने र कीराविरुद्ध प्रभावकारी विषादीलाई सिफारिस गर्दै रहेका बखत काभ्रेमै सञ्चालित किसान–२ परियोजनाका प्राविधिक भने ‘स्पिनोस्याड’ नामक नयाँ विषादीको सिफारिस गरिरहेका छन्। ‘जम्मा सात एमएल विषादीको तीन सय रुपैयाँ पर्ने रहेछ। हलका हल बारीमा एक दुईवटा पाकेटले स्प्रे गर्न नपुग्ने रहेछ। मकैको आम्दानीजत्ति विष किन्दैमा सकिने भयो। त्यतिमाथि नगरपालिकाको कृषि शाखाले समेत सहयोग गरेन,’ रबिओपीका एक किसानले गुनासो गरे।
हालसम्म काभ्रेको फिल्डमा आएका कृषि प्राविधिकले यहाँको मकैमा लागेको कीरालाई ‘फल आर्मी वर्म’ नै भनेर यकीनसाथ भन्न सकेका छैनन्। उनीहरु पनि पुतली प्रजाति (लेपिडोप्टेरा)को कीरा हुनसक्छ। तर, लार्भा भने ‘फल आर्मी वर्म’कै जस्तै देखिएको भन्ने रिपोर्टिङ गर्दै आएका छन्।
नेपालको प्लान्ट क्वारन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले हाल देखिएको कीरा फल आर्मी वर्म नै हो भनेर घोषणा नगरेको अवस्था छ। ‘नयाँ कीरा तथा बिरुवाका रोगबारे जसले पायो त्यसले भन्दै हिँड्न मिल्दैन। हामीले घोषणा गरेका छैनौं,’ प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले भने, ‘जेनेटिक कन्फर्मेसन’का लागि दुईपटक बैंग्लोर पठाएको सेम्पलको परीक्षणबाट ‘फल आर्मी वर्म’ होइन भन्ने रिपोर्ट आएको छ। तेस्रो सेम्पलको रिपोर्ट अबको केही दिनमा आउँदैछ। यदि त्यहाँको ल्याबले हो भनेर प्रमाणित ग-यो भने हामी नेपालमा ‘फल आर्मी वर्म’ भित्रिएको तुरुन्तै घोषणा गर्छौं र यसको नियन्त्रणसम्बन्धी आवश्यक नीतिहरु तय गर्छौं,’ उनले थपे।
प्रकाशित: २४ श्रावण २०७६ ०३:१९ शुक्रबार