अर्थ

चार जलविद्युत् आयोजनाको डिपिआर तयार

काठमाडौं – विद्युत् विकास विभागले गत आर्थिक वर्षमा चारवटा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। २५ मेगावाटको सिवा खोला, १५.५ मेगावाटको जावा खोला, ३०.२ मेगावाटको तल्लो होङ्गु खोला सानो र २१.४ मेगावाटको इन्खुखोला सानो जलविद्युत् आयोजनाको डिपिआर तयार भएको विभागले जनाएको छ। विभागकी सूचना अधिकारी निशा रिजालले आर्थिक वर्ष ०७५/७६ मा चारवटा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको जानकारी दिइन्। ‘गत आर्थिक वर्षमा चारवटा जलविद्युत् आयोजनाको डिपिआर निर्माणको काम सम्पन्न भएको छ,’ उनले भने, ‘डिपिआर निर्माण सम्पन्न भएका आयोजना सकेसम्म चालु आर्थिक वर्षभित्रै निर्माणको लागि ठेक्का सम्झौता हुनेछन्।’

सूचना अधिकारी रिजालले गत आर्थिक वर्षमा एक दर्जनभन्दा धेरै जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन र डिपिआर निर्माण सम्पन्न भएको बताइन्। ‘विभागले जलविद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्र मात्रै दिँदैन, आयोजनाको सम्भाव्यता अध्ययन र डिपिआर बनाउने  पनि गर्छ,’ उनले भनिन्, ‘गत आवमा चारवटा जलविद्युत् आयोजनाको डिपिआर तयार ग-यौं। अन्य केही जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेका छौं।’

डिपिआर तयार भएको मध्ये सिवा खोला जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा पर्छ। यसको हेड पाँच सय ९० मिटर छ। उक्त आयोजनामा जान दोवानदेखि १७ किलोमिटर पूर्वमा सोरिन हुँदै सुर्के ट्यांकसम्म पुग्नेछ। त्यसैगरी, सोरिनदेखि पन्ढुलेकसम्मको १२ किलोमिटरको पहुँचमार्ग निर्माणको काम भइरहेको छ। यो आयोजना निर्माण सम्पन्न गर्न अनुमानित ३१०२ मिलियन अमेरिकन डलर लाग्नेछ। सिवाखोला आयोजनाबाट उत्पादित बिजुली १३ किलोमिटर प्रसारणलाइन निर्माण गरेर ताप्लेजुङ जिल्ला पठाउन सकिनेछ।

त्यसैगरी, जुम्ला जिल्लास्थित जावा खोलाबाट वार्षिक ९६.७८ गिगावाट बिजुली उत्पादन गर्न सकिनेछ। उक्त आयोजनाको पहुँच मार्गको लागि तीन किलोमिटर सडक निर्माण गर्न बाँकी छ। बाँकी १२ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ। आयोजनाको हेडको लम्बाइ एक सय ५२ मिटर छ। यो आयोजनाबाट उत्पादित बिजुली १३.५३ किलोमिटरको सर्किट प्रसारण लाइन निर्माण गरेर प्रस्तावित लाम्ब्रा सबस्टेसनमा जडान गर्ने लक्ष्य राखिएको छ। जावा खोला जलविद्युत् आयोजना सम्पन्न गर्न अनुमानित लागत  ३८ अर्ब ४५ करोड लाग्नेछ।

होङगु खोला सानो जलविद्युत् सोलुखुम्बु जिल्लामा पर्छ। यो आयोजनाबाट वार्षिक १७५.८ गिगावाट बिजुली उत्पादन गर्न सकिनेछ। जिल्लाको सडकबाट पावरहाउस पुग्न ४.४ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने छ।

इन्खुखोला सानो जलविद्युत् आयोजना पनि सोलुखुम्बु जिल्लाकै हो। देवीडाँडाबाट आयोजनास्थल पुग्न २० किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्छ। यसको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न १८.२ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। विभागले गत आर्थिक वर्षमा आधा दर्जनभन्दा धेरै आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ।

४७ मेगावाटको दूधकोसी ४ को सम्भाव्यता अध्ययन सकियो

४७ मेगावाटको दूधकोसी ४ जलविद्युत् आयोजनाको पनि सम्भाव्यता अध्ययन सकिएको विभागले जनाएको छ। उक्त आयोजना नापे दूधकोसी गाउँपालिका र थुलुङ दूधकोसी गाउँपालिकामा छ। उक्त आयोजनाको हेड १३३.४ मिटरको छ। यो आयोजनाबाट वार्षिक ३०५.५६ गिगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ। उक्त आयोजनाबाट उत्पादित बिजुली१४ किलोमिटर ट्रान्सफर्मर लाइन बनाएर तिंला सबस्टेसनमा जोड्न सकिनेछ। आयोजना सम्पन्न गर्नको लागि चार सय ६० मिलियन अमेरिकी डलर खर्च लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ। ‘४७ मेगावाटको दूधकोसी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सकिएर प्रतिवेदन तयार भइसक्यो,’ विभागकी सूचना अधिकृत रिजालले भनिन्, ‘आयोजनाको  वातावरणीय अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालय पठाइसकेका छौं। केही समयभित्रै इआइए स्वीकृत हुनेछ।’

दूधकोशी चार जलविद्युत् आयोजना सोलुखुम्बु जिल्लामा अवस्थित छ। त्यसैगरी  १०२ मेगावाटको दुधकोसी ५ जलविद्युत् आयोजना, १९.२१ मेगावाटको तल्लो चमेलिया जलविद्युत् आयोजना, ४१.०६, मेगावाटको संखुवाखोला जलविद्युत् आयोजना लगायत जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सकिएको विभागले जनाएको छ।

 

 

 

प्रकाशित: १४ श्रावण २०७६ ०२:४९ मंगलबार

जलविद्युत् आयोजना डिपिआर