अर्थ

जनकपुर विमानस्थलमा एटिएफ रिफिलिङ सुरु

काठमाडौं – जनकपुर विमानस्थलमा उडान गर्ने हवाईजहाजले फर्किंदाका लागि पनि हवाई इन्धन (एटिएफ) लिएर जानुपर्ने बाध्यता सकिएको छ। नेपाल आयल निगमले जनकपुर विमानस्थलमा रिफिलिङ स्टेसन सुरु गरेपछि अब त्यहाँ उडान गर्ने जहाजले जनकपुरमै एटिएफ भर्न पाउने भएका छन्।

रिफ्युलिङ स्टेसनको शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बुद्ध एयरमा इन्धन भरेर उद्घाटन गरे। निगमले तत्कालका लागि १६ हजार किलोलिटर क्षमताका दुई बाउजरको व्यवस्था गरेको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘पहिलोपटक २ नम्बर प्रदेशमा रिफिलिङ सेन्टर स्थापना गरेका छौं,’ उनले भने।  जनकपुरबाट दैनिक तीन हजार लिटर एटिएफ बिक्री हुने निगमले जनाएको छ।

विमानस्थलमा हवाई इन्धनको सुविधा नहुँदा विमान कम्पनीहरुले काठमाडौंमै इन्धन भर्नुपर्ने बाध्यता थियो। मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये अहिलेसम्म नौवटा विमानस्थलमा निगमले हवाई इन्धन बिक्री गर्दै आएको थियो। अब १० वटा विमानस्थलमा यो सुविधा छ।

हवाई इन्धन डिपो नभएका विमानस्थलमा उडान भर्दा हवाई कम्पनीहरुले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको लागि पुग्ने इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोकेरै जानुपर्ने बाध्यता छ।

काठमाडौंमा सात हजार सात सय १०, विराटनगरमा दुई सय ८०, भैरहवामा ५६, पोखरामा ६४, नेपालगन्जमा दुई सय ८०, सुर्खेतमा ६० र धनगढीमा ४५ किलोलिटर क्षमता छ। मुलुकभर आठ हजार चार सय ९९किलोलिटर हवाई इन्धन भण्डारण क्षमता भएको निगमले जनाएको छ। भद्रपुर र मन्थलीमा अस्थायी रुपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ।

सिमरा विमानस्थल बारा, भरतपुर, चन्द्रगढी झापा, दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु,  रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभामा हवाई इन्धन डिपो छैन। सबै विमानस्थलमा भने डिपो जरुरी नभएको निगमले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०४:३९ आइतबार

जनकपुर_विमानस्थल रिफिलिङ_स्टेसन उडान