अर्थ

खोटाङमा साउन पहिलो सातासम्म ६२ प्रतिशत रोपाइँ

धान दिवसको अवशरमा प्लास्टिक पोखरीमा जमाएको पानीले रोपाइँ गर्दै दिक्तेलका स्थानीय। तस्बिर:दमन राई/नागरिक

खोटाङ – ढिलो वर्षा भएका कारण खोटाङमा हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ भएको छ। लामो समयसम्म खडेरी परेकाले मैझारो हुने बेलामा करिब ६२ प्रतिशत मात्र रोपाइँ भएको हो।

गत मंगलबारसम्मको तथ्यांकअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको १२ हजार आठ सय ९८ खेतमध्ये हालसम्म आठ हजार १८१.३ हेक्टरमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताए। जिल्लामा कुल १४ हजार ३६०.११ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धानखेती गरिन्छ।

हालसम्म सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकामा ८०/८० प्रतिशत रोपाइँ भएको छ। यस्तै, केपीलासगढी गाउँपालिकामा ७५ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ७० प्रतिशत, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा ६०/६० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख राईले बताए।

रावाबेंसी गाउँपालिकामा ४० प्रतिशत र सबैभन्दा कम हलेसी तुवाचुङ नगरपालिकामा ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। असार अन्तिम साता वर्षा भएपछि किसानले रोपाइँ गर्ने मौका पाएका हुन्। पानी नपर्दा सिमसार र बा-हैमास नसुक्ने पानीको मुहान भएका खेत बाहेक अन्य खेतमा रोपाइँ हुन सकेको थिएन। बेलामा रोपाइँ नहुँदा कतिपय ठाउँमा धानको बीउ हुर्केर खेर गएको किसानको भनाइ छ। प्रायः असार अन्तिम साता मैझारो हुँदै आएको दिक्तेलमा हालसम्म रोपाइँ जारी रहेको स्थानीय कोलेबारी कृषि सहकारीका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए। मुट्ठी खाएर मुरी उब्जाउने’ बेला वर्षा नहुँदा रोपाइँ ढिलाइ हुँदा यस वर्ष धान उत्पादन घट्ने भएपछि किसान चिन्तित छन्।

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ। सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकासे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन्। जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, इन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायत ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको छ। सिञ्चित ११ हजार चार सय हेक्टर र आकासे पानीको भरमा रोपाइँ हुने तीन हजार आठ सय दुई हेक्टर असिञ्चित गरी जिल्लाको कुल १५ हजार दुई सय दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०३:१० आइतबार

ढिलो_वर्षा खोटाङ रोपाइँ