अर्थ

८० प्रतिशत विषादीको परीक्षणनै हुँदैन

काठमाडौं– भारतबाट आयातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ। 

अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये दुई समूहका करिब २० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ८० प्रतिशत विषादी परीक्षण हुँदैन। 

विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ। नेपालमा अन्य ८० प्रतिशत विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन। 
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लिराम शर्माका अनुसार नेपालमा तरकारीमा प्रयोग हुने ८० प्रतिशत विषादीको परीक्षण नै हुँदैन। ‘दुई समूहबाहेक अन्य विषादीको परीक्षण गर्न सकेका छैनौं,’ शर्माले बिहीबार नागरिकसँग भने, ‘परीक्षण हुने विषादीको हिस्सा २० प्रतिशत मात्र छ।’ 

केन्द्रका अनुसार यहाँ प्रयोग हुने विषादीमा अर्गानोफस्फेट १७.५७ प्रतिशत र कार्बामेट २.२९ प्रतिशत छ। अहिले विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले यिनै दुई समूहका किटनाशक विषादीको मात्र परीक्षण गर्छ। अन्य विषादीको अवशेषको मात्रा परीक्षण गर्ने नेपालमा प्रविधि र प्रयोगशाला नै प्रयोगशाला छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालाले अन्य केही विषादीको नमूना संकलन गरेर परीक्षण गर्ने भए पनि उसको विषादी परीक्षण गर्ने अन्य ठाउँमा संयन्त्र छैन।

तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्छ। भारतबाट आयातित तरकारीको अनिवार्य विषादी परीक्षण गर्नुपर्छ भन्ने बहस चलिरहेका बेला स्वदेशमै उत्पादित तरकारीमा विषादी परीक्षण नै नभई उपभोक्ताको भान्सामा पुगेको हो।

८० प्रतिशत विषादीको परीक्षणसमेत नहुनुले तरकारीको विषादी परीक्षण भगवान भरोसामा चलेको देखिन्छ। २० प्रतिशत विषादीको परीक्षण गरे पनि सीमित बजारमा नमूना परीक्षण हुन्छ। नेपालमा अर्गानोक्लोरिन, पाइरिथ्रोइडस ,कार्बामाइट, नेरिक्सटोक्सिकन लगायत अन्य समूहका विषादी ८० प्रतिशत प्रयोग हुन्छ। ती समूहका विषादी यहाँका प्रयोगशालामा परीक्षण नै हुँदैन। केन्द्रका अनुसार पाइरिथ्रोइडस १३.४६ प्रतिशत, निओनिकोटिनओइड १०.९८, नेरिक्सटोक्सिकन १०.४८ प्रतिशत छ। ‘प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र’मा ती इन्सेक्टिसाइड, फंगिसाइड, बायप्सिसाइड, नेमाटिसाइड, हर्बिसाइड लगायत समूह अन्तर्गत एक सय ६९ प्रकारका विषादी दर्ता भएका छन्। 

विषादी मानव स्वास्थ्यका लागि घातक भए पनि तरकारीमा किरा तथा रोग नियन्त्रण प्रयोग हुने विषादीको परीक्षण नहुनुले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिएको छ। ‘विषादी जति सबै विष नै हो,’ प्रमुख शर्माले भने, ‘अन्य विषादीको पनि परीक्षण गर्नु आवश्यक छ।’

भारतबाट आयातित तरकारीको परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि चौतर्फी विरोध भइरहेको छ। भारतबाट आयातितमात्र नभएर स्वदेशमै उत्पादित तरकारीमा पनि विषादी भेटिएको छ। विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला कालीमाटीले गरेको परीक्षणमा धादिङमा उत्पादन गरेर ल्याएका सिमी र ब्रोकाउलीमा पनि विषादी अवशेषको मात्रा ४५ भन्दा बढी भेटिएको थियो। ४५ प्रतिशत बढी विषादीको अवशेष भेटिएमा उक्त तरकारी नष्ट गर्नुपर्ने विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला कालीमाटीका निमित्त प्रमुख जागेश्वर शर्माले बताए। शर्माका अनुसार ० देखि ३५ प्रतिशतसम्म विषादी अवशेष भेटिए पनि उक्त तरकारी तथा फलफूल प्रयोग गर्न सकिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको विषादी अवशेष भेटिएको तरकारी ४–५ दिन प्रयोग गर्नु हुँदैन। ‘४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएको तरकारी नष्ट नै गर्छौं,’ शर्माले भने, ‘स्वदेशमै उत्पादन भएको तरकारीमा पनि उच्च विषादी भेटिएको छ।’

सरकारले भारतबाट आयात हुने तरकारीमा पूर्वाधार नभएको भन्दै विषादी परीक्षण स्थगन गरे पनि अहिले सञ्चालनमा रहेका झापा, सर्लाही, पोखरा, बुटवल, नेपालगन्ज, कैलालीमा रहेका विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले पनि प्रभावकारी रुपमा काम गरेका छैनन्। कालीमाटीमा रहेको केन्द्रले मुलुकका विभिन्न ठाउँबाट यहाँ आउने तरकारीको विषादी अवशेष परीक्षण गर्छ। ती क्षेत्रमा आउने तरकारीको नमूना परीक्षण भए पनि अन्य ठाउँको परीक्षण भएको छैन। विषादी व्यवस्थापन केन्द्रका प्रमुख शर्मा भने अहिलेको संरचना निकै कम भएकाले अधिकांश तरकारीमा विषादीको मात्रा परीक्षण नै नभएको बताउँछन्। ‘अब प्रदेश सरकार र हरेक स्थानीय तहले प्रयोगशाला स्थापना गरेर परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘विषादीको कारण धेरै रोग लाग्ने भएकाले पूर्वसर्तकता अपनाउनु जरुरी छ।’

झापा, सर्लाही, पोखरा, बुटवल, नेपालगन्ज, कैलालीमा आसपासका जिल्लाका किसानले उत्पादन गरेका तरकारीको परीक्षण गरे पनि अन्य ठाउँमा उत्पादन भएका तरकारीको परीक्षण हुँदैन। विदेशबाट आयात हुने तरकारी परीक्षण गर्न पूर्वाधार नभएकाले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बताएका छन्।  

सरकारले आठ ठाउँमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी गरेको छ। विदेशबाट आयात हुने खाद्यान्नको परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्छ। विभागले भारतसँगका एकीकृत जाँच चौकी (आइसिपी) र चीनका दुई नाकामा विषादी परीक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गरेको छ। वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभित्ता, नेपालगन्ज र कैलालीको गौरीफन्टा नाकामा परीक्षण केन्द्र स्थापना गर्न प्रस्ताव गरिएको छ। त्यसैगरी चीनसँगको केरुङ र तातोपानी नाकामा पनि निर्माण केन्द्र राख्ने तयारी छ। 

सरकारले विषादीको विषयमा गम्भीर हेलचेक्रयाइँ गरेको उपभोक्ता अधिकारकर्मीले बताए। राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकार उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको बताए। ‘विषादीयुक्त तरकारी प्रयोगका कारण विभिन्न रोग लागेको छ,’ उनले भने, ‘स्वस्थ्य तरकारी तथा खाद्यान्न उपभोग गर्ने उपभोक्ताको अधिकार सरकारले सुरक्षित गर्न सकेको छैन।’

प्रकाशित: २७ असार २०७६ १०:५३ शुक्रबार

विषादी तरकारी परीक्षण