अर्थ

‘बूढो बेर्ना रोप्दा आठ प्रतिशतसम्म उत्पादन घट्छ’

ललितपुरको छप्पीमा असार १५ गते रोपाइँका क्रममा धानको बेर्ना फाल्दै एक रोपाहार। फाइल तस्बिरः नागरिक

काठमाडौ – यो वर्ष समयमा बर्खा सुरु नहुँदा अहिलेसम्म एक चौथाइ मात्र धान रोपाइँ भएको छ। असार मसान्तसम्म पनि धान रोपाइँ गर्न नसके बूढो बेर्ना रोप्दा उत्पादनमा आठ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।

धान विज्ञका अनुसार असारमा रोप्ने गरी उमारिएका धानका बेर्ना मसान्तसम्म पनि नरोपे बूढो हुनेछन्। एक महिनाभन्दा धेरै उमेरका बेर्ना रोप्दा उत्पादकत्व आठ प्रतिशतसम्मले घट्ने गर्छ।

धानविज्ञ भोलामानसिंह बस्नेतले बूढो बेर्नाको उत्पादकत्व क्षमता घटने भन्दै यस्ता बेर्ना रोप्दा धान उत्पादनमा कमी आउने जानकारी दिए।

‘समयमा रोपाइँ गर्न नपाउँदा किसानले ब्याडमा राखेका धानका बेर्ना बूढा भएका छन्,’ विज्ञ बस्नेतले मंगलबार नागरिकसँग भने, ‘बूढो बेर्ना रोप्दा करिब आठ प्रतिशतसम्म उत्पादन घट्छ।’

बस्नेतका अनुसार किसानले समयमै (असारसम्म) रोप्न धानको ब्याड राख्छन्। तर असार अन्तिम सातासम्म पनि रोप्न नपाए बिरुवा बूढो हुने र यसले उत्पादकत्वमा असर गर्छ। विज्ञ बस्नेतका अनुसार अहिलेसम्मको अवस्था हेर्दा धान उत्पादनमा करिब सात/आठ प्रतिशत गिरावट आउँछ। ‘धानको बिरुवा बूढो भएपछि रोप्दा गाँज हाल्दैन,’ बस्नेतले भने, ‘यसको कारण उत्पादन घट्ने हो।’

ढिला रोप्दा धानको बाला कम लाग्ने र धान ठाडै हुने उनले बताए। ‘समयमा रोप्न नपाएपछि पाक्न पनि ढिला हुन्छ,’ सिंहले भने, ‘धानको उत्पादनमा पानीको प्रमुख भूमिका हुन्छ।’

गत वर्षको तुलनामा यो वर्ष २९.१९ प्रतिशत कम धान रोपाइँ भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार २२ गतेसम्म मुलुकभर २३.७६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा ५२.९५ प्रतिशत रोपाइँ भएको थियो।

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। समयमा रोपाइँ हुँदा चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

खाद्यान्नको भण्डारण मानिने तराइमा गत वर्षभन्दा यो वर्ष करिब ३१ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष ५१.५८ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष २०.६१ प्रतिशत मात्र भएको छ। तराइमा धेरै धान खेती हुने भएकाले यसको असर मुलुकको अर्थतन्त्रमा पनि पर्छ। उच्च पहाडमा ३४.६४ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष उक्त क्षेत्रमा ६१.६५ प्रतिशत रोपाइँ भएको थियो। यो गत वर्षभन्दा २७.०१ प्रतिशतले थोरै हो।

त्यसैगरी, मध्य पहाडमा गत वर्षभन्दा २४.४६ प्रतिशतले कम रोपाइँ भएको छ। मध्य पहाडमा गत वर्ष ५५.६१ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष ३१.१५ प्रतिशत कम रोपाइँ भएको छ।

प्रदेशगत आधारमा हेर्दा  धेरै धान खेती हुने प्रदेश नं २ मा सबैभन्दा कम रोपाइँ भएको छ। प्रदेश नं २ मा १०.२५ प्रतिशतमात्र रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा उक्त प्रदेशमा ५३.५७ प्रतिशत रोपाइँ भएको थियो। अन्नको भण्डार प्रदेश २ मा ४३.३२ प्रतिशत कम रोपाइँ भएको छ। प्रदेश नम्बर १ मा १८.४५ प्रतिशत, प्रदेश नं ३ मा २०.९९, गण्डकी प्रदेशमा २८.५३ प्रतिशत, प्रदेश ५ मा २९.५१ प्रतिशत, कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ४४.४९ प्रतिशत रोपाइँ भएको छ।

कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो अवधिमा ६५.८८ प्रतिशत रोपाइँ भएको थियो। त्यसैगरी, गत वर्ष यो अवधिमा ८० प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यो वर्ष ४४.४१ प्रतिशत मात्र भएको छ।

धान लगाउने खेतमा सिँचाइको व्यवस्था नभएको र मौसमको भर पर्नुपर्दा थोरै रोपाइँ भएको हो। कृषि विभागका महानिर्देशक सूर्य पौडेलले अकासे पानीको भरमा धान रोप्ने खेतमा रोपाइँ हुन नसकेको बताए। ‘२५ प्रतिशत क्षेत्रफलमा मात्र बाह्रै महिना सिँचाइ हुन्छ,’ पौडेलले भने, समयमा वर्षाद नहुँदा धान रोप्ने ७५ प्रतिशत क्षेत्रको रोपाइँ प्रभावित भएको हो।’ यो वर्ष मनसुनको ट्र्याक राम्रो नदेखिएकाले उत्पादन घट्छ कि भन्ने चिन्ता बढेको उनले बताए।’

कृषि अनुसन्धान परिषद् नार्कका वैज्ञानिक मनोजकुमार ठाकुरका अनुसार उत्पादनको बारेमा प्रक्षेपण गर्न अझै १० दिन कुर्नुपर्छ। ‘अर्ली जातको धानको उत्पादनमा असर पर्छ,’ उनले भने, ‘अब आवश्यकता अनुसार वर्षाद भएको छ। किसान धमाधम धान रोपाइँमा जुटेका छन्।’

अर्ली जातको धानका लागि ढिला भए पनि साउन १५ सम्म रोपाइँ हुने उनले बताए। पानीमात्र नभएर मल, सिँचाइ तथा धान खेती गर्ने उन्नत प्रविधिले उत्पादनमा असर पर्छ। ‘उत्पादन बढाउन वैज्ञानिक तरिकाले धान लगाउनु पर्छ,’ धानविज्ञ बस्नेतले भने, ‘सिँचाइ, प्रविधि, मल, बीउ र विज्ञको प्रयोग गर्नुपर्छ।’ मुलुकभर खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ। क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा करिब ७० प्रतिशत छ।

धान उत्पादन बढाउन सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको छ। परियोजना अन्तर्गत  झापा, कपिलवस्तु, बर्दियामा धानको सुपरजोन घोषणा गरेको छ। सुपरजोन हुन एक हजार हेक्टर बढी क्षेत्रफल हुनुपर्छ। अन्य विभिन्न जिल्लामा पनि धानको जोनमार्फत उत्पादन बढाउने प्रयास भइरहेको छ।

चामल आयात कम गरी खाद्यान्नमा परनिर्भता घटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको विभागले जनाएको छ। मसिना तथा बास्नादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। उत्पादन बढाउन नार्कले विभिन्न उन्नत जातका धान सिफारिस गरेको छ। तराई, मध्य पहाड र उच्च पहाडमा चैते सिजनका लागि सात र बर्खे सिजनका लागि एक सय १६ गरी कुल एक सय २३ वटा जातका धान सिफारिस गरेका छ। नेपालमा समुद्री  सतहबाट ६० मिटरदेखि तीन हजार ५० मिटरसम्मको उचाइमा धान खेती छ। मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा धान खेती हुन्छ। यहाँ चैते, बर्खे, भदैया, घैया र हिउँदे धान खेती गरिन्छ। कृषि विभागका अनुसार मुलुकमा करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने भए पनि ३४ लाख मेट्रिक टन चामल उत्पादन हुन्छ। कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २७ प्रतिशत कृषिको योगदान छ। त्यसमा धानको योगदान करिब २० प्रतिशत छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App