अर्थ

‘सोलुदूधकुण्ड’ले ल्यायो ५० करोडको बजेट

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ५० करोडभन्दा बढीको बजेट ल्याएको छ। असार १० गते नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आइतबार पाँचौ नगरसभाबाट आगामी आवका वार्षिक बजेट ल्याएको हो।

मेयर नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा भएको नगर सभाबाट ५० करोड ६१ लाख ७९ हजारको बजेट पारित गरिएको छ। मोटरेबल पुल निर्माणका लागि चार करोड ४२ लाख बजेट विनियोजन गरेको नगरले सडकतर्फ तीन करोड ८६ लाख ५० हजार रकम विनियोजन गरेको छ।

नगरपालिकाले ११ वटा वडाका कार्यक्रमका लागि चार करोड ९५ लाख, ऊर्जा तथा विद्युत्तर्फ एक करोड तीन लाख, खेलकुदतर्फ ३८ लाख, शिक्षातर्फ एक करोड आठ लाख ९२ हजार, स्वास्थ्यतर्फ ५२ लाख, कृषि, पशु र सिँचाइतर्फ एक करोड २९ लाख २९ हजार तीन सय रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै खानेपानीतर्फ ६३ लाख, पर्यटन र धर्म संस्कृतितर्फ एक करोड ८५ लाख ५० हजार, फोहोरमैला व्यवस्थापनमा ५३ लाख, लक्षित वर्गतर्फ एक करोड आठ लाख ९२ हजार, मानव संशाधन विकासतर्फ नौ लाख ८४ हजार पाँच सय र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ६३ लाख बजेट विनियोजन गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्य विविध कार्यक्रम तथा कोषतर्फ ८६ लाख ८७ हजार, प्रशासनिक खर्चतर्फ सात करोड ४२ लाख ३६ हजार दुई सय र शसर्त कार्यक्रमअन्तर्गत २१ करोड ८५ लाख गरी ५० करोड ६१ लाख रुपैयाँको बजेट पारित गरिएको छ। नगर सभाले चालु आवको आम्दानी र खर्च विवरणसमेत अनुमोदन गरेको प्रवक्ता शारदामाया तामाङले जानकारी दिइन्।

प्रकाशित: २३ असार २०७६ ०३:३८ सोमबार

सोलुदूधकुण्ड_नगरपालिका आर्थिक_वर्ष बजेट