अर्थ

अर्गानिक कृषि अभियानमा हिराचन

नागार्जुन नगरपालिका–६ रामकोटस्थित आफ्नो अर्गानिक कृषि फार्ममा एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचन। तस्बिर : नागरिक

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष देवमान हिराचनले ‘अर्गानिक कृषि अभियान’ सञ्चालन गरेका छन्। जापानमा साढे चार दशक बिताएका हिराचनले स्वदेशमा कृषि उत्पादन वृद्धिसहित विषादीरहित तरकारी उत्पादन अभियानमा लागेका हुन्।

ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनी अन्तर्गत करिब पाँच करोड रुपैयाँ लगानीमा नागार्जुन नगरपालिका–६ रामकोट, काठमाडौंमा आयुमी हिमालयन एग्रो लिमिटेडमार्फत करिब ३० रोपनी जमिनमा अर्गानिक तरकारी उत्पादन गरेका छन्।

विदेशबाट वार्षिक अर्बौं रुपैयाँको तरकारीलगायत कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा ‘अर्गानिक कृषि’मा अवसर देखेर एनआरएन हिराचन यो क्षेत्रमा लागेका हुन्। जापानमा आफ्नो साथीले अर्गानिक खेती गरेको देखेर यहाँ आएर सुरु गरेको उनले बताए। ‘जापानमा आफ्नो राम्रो व्यवसाय भए पनि स्वदेशको कृषि क्षेत्रमा योगदान पु¥याउन अर्गानिक कृषि अभियानमा लागेको हुँ,’ उनले भने।

फार्ममा टमाटर, बन्दा, काउली, बोडी, घिरौंला, भन्टा, कांक्रो, पिँडालु, रायो, धनिया, फापर, गाजर, खुर्सानी, कुरिलोलगायत अर्गानिक तरकारी उत्पादन हुन्छ। विषादी प्रयोग गरेर उत्पादन गरेको तरकारीले मानव स्वास्थ्यमा गम्भिर असर पुगिरहेका बेला हिराचनले रासायनिक मल र विषादी प्रयोग नगरी तरकारी उत्पादन गरिरहेका छन्। त्यहाँ उत्पादन गरेको अर्गानिक तरकारी आफ्नै मार्टबाट बिक्री गर्छन्।

फार्ममा रासायनिक मल र केमिकल प्रयोग भएको विषादी प्रयोग नै हुँदैन। कम्पोस्ट मल, प्रांगारिक मल, गाई, भैंसीको गोबर, कुखुराको सुली, हड्डीको धुलो, पिना, खरानी प्रयोग हुन्छ। आवश्यक पर्ने मल, अर्गानिक विषादी सबै आफैं उत्पादन गर्ने गरेको फार्ममा काम गर्ने जेटिए घुरन चौधरीले बताइन्। ‘फार्ममा केमिकलजन्य मल र विषादीलाई निषेध नै गरिएको छ,’ चौधरीले भनिन्, ‘तरकारी बालीलाई आवश्यक पर्ने खाद्यतत्व पनि केमिकलरहित छ।’ रासायनिक मल प्रयोगले भन्दा अर्गानिक खेतीमा अझै राम्रो उत्पादन भएको जेटिए चौधरीले बताइन्। ‘टमटर एउटै बोटमा सात किलोसम्म उत्पादन भएको छ,’ उनले भनिन्। झार र किराको प्रकोपबाट जोगिनका लागि मल्चिङ गरेर खेती गरिएको छ।

हिराचनले बिउ भने जापानबाट ल्याउने गरेका छन्। कतिपय बिउ फार्ममा नै उत्पादन हुन्छ। उनले १५ वर्षका लागि जग्गा लिजमा लिएर खेती गरेका हुन्। फार्ममा ४५ जना कार्यरत छन्।

मुलुकमा धेरै जमिन खाली भएकाले यो अभियानले सफलता पाउनेमा उनी ढुक्क छन्। ‘विदेशबाट अर्बौको तरकारी आयात भइरहेको छ,’ उनले भने, ‘बजार देखेर नै यो क्षेत्रमा प्रवेश गरेको हुँ।’ उनले जापानबाट कृषिविज्ञ ल्याएर तालिम दिएका छन्। जापानको प्रविधि भिœयाएका छन्। ‘उन्नत जातका धेरै फल्ने बिउ जापानबाट ल्याएको छु,’ उनले भने। नेपाल सरकारले कृषि उत्पादन बढाउन जापानको मोडललाई प्रयोग गर्न सक्ने बताए। कृषिमा आधुनिकीकरण गर्नुपर्ने उनले सुझाव छ।

किसानलाई सफल गर्न उत्पादन बढाउन र आम्दानी बढाउने हो भने कृषिमा आकर्षण गर्न सकिने बताउँछन्। कृषि तत्काल प्रतिफल दिने भएकाले अवसर रहेको उनले बताए। हिराचनले अर्गानिक फार्म सुरु गरेपछि आसपासका किसानले पनि अर्गानिक खेती गरेका छन्। फार्ममा गाई पनि पालेका छन्। गाईको दूधबाट गुदपाक, पुष्टकारीलगायत दुग्धजन्य वस्तु तयार गर्छन्।

काठमाडौंमा मोडल अर्गानिक फार्म सञ्चालन गरेका हिराचन अर्गानिक कृषि अभियानलाई विभिन्न प्रदेशमा विस्तार गर्ने तयारीमा छन्। चितवनमा पाँच हजार रोपनी जग्गामा अर्गानिक खेती गर्ने योजना बनाएको उनले बताए। सरकारी जमिनलाई लिजमा लिएर खेती गर्ने तयारीमा छन्। ‘भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालसँग छलफल भएको छ,’ उनले भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ।’ अर्गानिक कृषि अभियानमा गण्डकी प्रदेश र सात प्रदेशसँग साझेदारी गर्ने विषयमा छलफल भइरहको छ। ‘प्रदेश सरकारसँग बजेट छ, हामीसँग योजना छ,’ उनले भने, ‘स्थानीय किसानसँग मिलेर काम गर्ने योजना बनाएका छौं।’ अहिलेसम्म जापान धेरै बस्दै आएका हिराचन अब यो अभियान विस्तारमा केन्द्रित हुने बताउँछन्।

अर्गानिक विषादी उत्पादन
हिराचनले सञ्चालन गरेको फार्ममा तरकारीमा लाग्ने रोग, किरा नियन्त्रण गर्न केमिकलरहित ‘अर्गानिक विषादी’ पनि तयार गरिन्छ। एग्रो आइपी लिक्विड बनाउँदै आएको छ। ल्वाङ, टिमुर, खुर्सानी, लसुनलगायत जडीबुटी मिसाएर लिक्विड बनाउँदै आएका छन्। माटोको उर्वरा शक्ति बढाउन र रोग किरा नियन्त्रण गर्नका लागि आफ्नो फार्ममा प्रयोग गरेर बँचेको लिक्विड बिक्री गरिन्छ। करिब एक लाख लिटर ‘अर्गानिक विषादी’ उत्पादन गर्ने योजना रहेको हिराचनले बताए। ‘केमिकलको मिसावट नभएको अर्गानिक विषादीको माग देशभरबाट आइरहेको छ,’ हिराचनले भने, ‘करिब एक लाख लिटर उत्पादन गर्ने योजना बनाएका छौं।’ यो वर्षमात्र करिब १२ हजार लिटर उत्पादन गरेर मुलुकका विभिन्न जिल्लाका किसानलाई बिक्री गरेको उनले बताए।

कन्ट्र्याक फार्म
हिराचनले अर्गानिक अभियानलाई सफल पार्न कन्ट्र्याक फार्मको अवधारणा अघि सारेका छन्। मुलुकका विभिन्न जिल्लाका किसानले फार्ममा आएर ‘अर्गानिक खेती प्रणाली’बारे निःशुल्क तालिम लिन्छन्। तालिम लिएर हिराचनको कम्पनीसँग सम्झौता गरी अर्गानिक तरकारी तथा कृषिजन्य वस्तु उत्पादन गर्छन्। सयौं किसानले अर्गानिक खेतीको तालिम लिएको हिराचनले बताए। अर्गानिक उत्पादनको उच्च मूल्य पर्ने भएकाले किसान पनि आकर्षित छन्। अहिले करिब १३ किसान सम्पर्कमा रहेको उनले बताए। ‘किसानलाई आवश्यक तालिम, बिउ, मललगायत सामग्री उपलब्ध गराउछौं,’ हिराचनले भने, ‘अर्गानिक उत्पादन गर्ने पहिलै सम्झौता गरेर सामान खरिद गर्छौं।’

विभिन्न जिल्लाबाट किसान तालिम लिएको जेटिए चौधरीले बताइन्। ‘अर्गानिक खेतीको सीप सिकेर विभिन्न जिल्ला पुगेर तरकारी उत्पादन गरिरहेका छन्,’ उनले भनिन्।

कन्ट्र्याक फार्मको अवधारणाअनुसार कृषि उत्पादन बिक्रीको जिम्मा हिराचनको कम्पनीले लिएको छ। ‘मापदण्ड अनुसारको कृषिजन्य वस्तु उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘बजारको सुनिश्चितता हामीले गरेका छौं।’ धेरै नाफा नखाई खरिद गर्ने गरेको उनले बताए। ‘ठूलो भोलुममा कारोबार गर्दा थोरै मार्जिन राख्दा पनि फाइदा हुन्छ,’ हिराचनले भने, ‘किसानले धेरै मूल्य पाएपछि खेतीमा आकर्षित हुन्छन्।’ यहाँ उत्पादन भएको तरकारी उनी जापान निर्यात गर्ने योजनामा छन्। किसानलाई आवश्यक पर्दा प्राविधिक परामर्श दिनका लागि दुई जेटिए पनि नियुक्त गरिएको छ। किसानले कुनै समस्या राखे तत्काल जेटिएलाई सोधेर आफ्नो समस्याबारे जानकारी गराई सेवा लिन सक्छन्।

प्रकाशित: २३ असार २०७६ ०३:०४ सोमबार

अर्गानिक_कृषि_अभियान विषादीरहित तरकारी उत्पादन