अर्थ

चिया पलाउन डेढ महिना ढिलो

इलाम – फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।

इलाम, झापा, धनकुटा र पाँचथरका चिया बगानमा हरियोपत्ती उत्पादन पोहोरको तुलनामा एक तिहाइ मात्रै छ। श्रमिक आन्दोलनले पूर्ण प्रभावित भएका सरकारी बगानको हरियोपत्ती उत्पादनमा सबैभन्दा बढी असर पुगेको छ। बगानमा करिब डेढ महिना ढिलो पत्ती पलाउँदा उत्पादन घटेको बगान व्यवस्थापनले जनाएका छन्।

सरकारी स्वामित्वको सबैभन्दा ठूलो कन्याम चिया बगानमा पोहोर यतिबेला दैनिक नौ हजार किलोसम्म हरियोपत्ती उत्पादन थियो। अहिले दैनिक तीन हजार किलोमात्रै उत्पादन भइरहेको छ। ‘श्रमिक आन्दोलनकै कारण यो वर्ष चिया उत्पादनमा ठूलो गिरावट आउँदैछ,’ बगान व्यवस्थापन स्रोतले भन्यो, ‘श्रमिकका माग पूरा गर्नु नै परेपछि चिया टिपाइ चाहिँ रोकिन दिन हुने थिएन।’ कन्याम बगानमा गत वर्ष करिब ३० हजार किलो तयारी चिया उत्पादन भएको तथ्यांक छ।

सरकारी स्वामित्वकै इलाम चिया बगानमा पनि यतिबेला दैनिक तीन सय किलो हाराहारी मात्रै हरियो चिया उत्पादन हुँदैछ। गत वर्षको यहीबेला दैनिक ५–६ सय किलो उत्पादन हुने यो बगानमा यो वर्ष भर्खर हरियो पत्ती पलाउन सुरुमात्र गर्दैछ। ‘श्रमिक आन्दोलनका बेला पलाएको हरियोपत्ती पछि फाँड्नुप-यो, कुनै पत्ती काम लागेन,’ बगान प्रबन्धक इन्दिरा गुरुङले भनिन्, ‘डेढ महिना ढिलोगरी मात्रै हरियोपत्ती पलाउँदा उत्पादन कम त हुने नै भयो।’ इलाम बगानमा फस्ट फ्लसमा मात्रै ३० हजार किलो हरियोपत्ती उत्पादन हुन्थ्यो। यो बगानमा बर्सेनि १० हजार किलो तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुनेगरेको छ।

श्रम ऐन, सामाजिक सुरक्षा ऐन र न्यूनतम् ज्याला कार्यान्वयन माग गर्दै चिया श्रमिकले गत चैत १७ देखि जेठ १ सम्म आन्दोलन गरेका थिए। आफू कार्यरत सबै उद्योग–प्रतिष्ठान बन्द गरेर आन्दोलन गरिएका कारण चियाको मुख्य सिजनमा हरियोपत्ती नष्ट भएको थियो। वर्षभरकै सबैभन्दा गुणस्तरीय मानिने पहिलो टिपाइको पत्ती सबै नष्ट भएपछि उद्योगले लाखौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो। पहिलो टिपाइको हरियोपत्ती र तयारी चिया दुवै वर्षभरकै महँगो मूल्यमा बिक्री हुन्छ।

श्रमिक आन्दोलनले पूर्ण प्रभावित भएका सरकारी बगानको हरियोपत्ती उत्पादनमा सबैभन्दा बढी असर पुगेको छ।    

इलामकै सोक्तिम, चिलिमकोट र झापाको बारादसी चिया बगानमा चार लाख किलो हरियोपत्ती नष्ट भएको छ। ‘श्रमिकले उद्योग–बगान ४५ दिन बन्द गराउँदा लाखौं रुपैयाँको चिया नष्ट भयो,’ तीनवटै बगान व्यवस्थापन गरिरहेका कृष्ण प्रसाईंले भने, ‘पहिलो टिपाइ त काम लागेन नै, पहिले पलाएका हाँगा फाँड्दा दोस्रो चोटी पलाउन महिना दिन ढिलो भयो।’ उनले यो वर्ष गत वर्षहरूभन्दा उत्पादन ज्यादै कम हुने बताए। गत वर्ष यहीबेला दैनिक तीन हजार किलो हरियोपत्ती उत्पादन हुने सोक्तिम बगानमा अहिले एक हजार किलोमात्रै भइरहेको छ।

पोहोर दैनिक आठ–नौ हजार किलो हरियोपत्ती हुने चिलिमकोट र बारादसीमा पनि अहिले तीन देखि चार हजार किलोमात्रै उत्पादन भइरहेको उनले बताए। चिलिमकोटमा बर्सेनि १२ लाख, बारादसीमा १० लाख र सोक्तिममा पाँच लाख किलो हाराहारी हरियोपत्ती उत्पादन हुने गरेको छ। ‘फस्ट फ्लसकै उत्पादन सदुपयोग गर्न नसकेपछि चियाबाट न राम्रो आम्दानी हुन्छ, न उत्पादनको परिमाण नै पुग्छ,’ प्रसाईंले भने, ‘सबैभन्दा ठूलो असर लामो समय हरियो पत्ती टिप्न नपाउनु नै हो।’

झापा दमकस्थित हिमालयन महालक्ष्मी चिया बगानमा पनि यो वर्ष हरियोपत्ती उत्पादन आधाभन्दा कम भएको बगानले जनाएको छ। ‘अहिले दैनिक हरियोपत्ती तीन हजार किलो हाराहारी मात्रै छ,’ प्रबन्धक रजनीश मुदालियारले भने, ‘यो उत्पादन पोहोरभन्दा आधा पनि होइन।’ यो बगान पनि श्रमिक आन्दोलनको चपेटामा परेको थियो।

डेढ महिनासम्म लगातार आन्दोलन चर्काएपछि चिया बगान व्यवस्थापनले श्रमिकका सबै माग पूरा गर्ने प्रतिबद्धता गरेका थिए। निजी र सरकारी दुवै चिया बगान व्यवस्थापनले आफूहरूका माग पूरा गर्ने भएपछि श्रमिक जेठ पहिलो साता काममा फर्किएका थिए। आन्दोलनले कम प्रभाव पारेका निजी बगानमा भने उत्पादन खास घटेको छैन। ‘निजी बगानमा त हरियोपत्ती पोहोरकै हाराहारीमा छ,’ उद्योगी पुनम राईले भने, ‘आन्दोलनले लामो समय हरियोपत्ती टिपाइ नभएका निजी बगानमा चाहिँ निकै ढिलोगरी चिया पलाएकाले पोहोरजति उत्पादन पुग्दैन।’

बन्द चिया उद्योग खुलाउने सहमति

हरियो चियापत्ती गुणस्तरहीन आउने गरेकाले किसानलाई तोकिएको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। शनिबार सूर्याेदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो।

छलफलमा सूर्याेदय नगरपालिकाले गतवर्ष लागू गरेको ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ अनुसार किसानले हरियोपत्तीमा गुणस्तर कायम राख्ने, उद्योगीले पनि गुणस्तर घटाउन नपाउने सहमति भएको हो। सूर्याेदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले नगरपालिका, उद्योगी र किसान सम्मिलित टोली बनाएर चियाको गुणस्तर अनुगमन गर्नेसमेत सहमति भएको बताए। ‘हरियो चियापत्तीको गुणस्तर कायम राख्ने, एउटा उद्योगले नलिएको गुणस्तरहीन हरियो चियापत्ती अर्काे उद्योगले नलिने सहमति भएको छ,’ सचिव कट्टेलले भने, ‘सहमतिपछि आजै (शनिबार) नै उद्योग खुलाउन हामी राजी भएका छौं।’

कार्यविधिमा व्यवस्था भएअनुसार किसानले न्यूनतम् ४० प्रतिशत सुइरो भएकै हरियोपत्ती उद्योगलाई बेच्नुपर्ने, उद्योगीले त्यस्तो पत्तीको कम्तीमा प्रतिकिलो ४० रुपैयाँ किसानलाई दिनुपर्ने उल्लेख छ। ‘कार्यविधिमा भएकै व्यवस्थालाई नगरपालिकाले उद्योगी र किसानसमेत समेटिएको टोली बनाएर अनुगमन गर्ने सहमति भएको छ,’ छलफलमा सहभागी सूर्याेदय नगरका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले भने, ‘कार्यविधि पालना गर्दा चियामा आफसे आफ गुणस्तर कायम हुन्छ।’

अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्यीय समिति बनाउने सहमति भएको छ। समितिमा नगरपालिकाबाट ३, उद्योगीबाट २, किसानबाट ४, एसोसिएसनबाट ३ प्रतिनिधि, सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य र नगरस्तरीय सहकारी शाखाका प्रमुख सदस्य–सचिव रहने सहमति पनि छलफलमा भएको छ।

भारतीय बजारमा तयारी चियाको मूल्य नपाएपनि उद्योगहरूलाई नगरपालिकाले हरियोपत्तीको मूल्य बढी दिनुपरेको भन्दै गत १२ गतेदेखि सूर्याेदय टी एसोसिएसनमा आबद्ध यहाँका ५२ चिया उद्योग बन्द थिए। उद्योग बन्द भएपछि ३ हजार हाराहारी किसान प्रभावित भएका थिए।

प्रकाशित: १५ असार २०७६ ०३:०५ आइतबार

हरियोपत्ती चिया_उत्पादन श्रमिक_आन्दोलन