अर्थ

अण्डामा आत्मनिर्भर झापा, बिचौलियाका कारण न्यून मूल्य

दमक– मागभन्दा बढी अण्डा उत्पादन हुन थालेपछि झापाका कुखुरा पालक किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता छ। झापामा रहेका साना ठूला ५ हजार लियर्स कुखुरा फार्म छन्। तीनले दैनिक अढाइ लाख अण्डा उत्पादन गर्ने गरेको झापा जिल्ला अण्डा उत्पादक संघको आँकलन छ।

कुखुरामा उच्च लगानीका कारण झापाको दमकमा अण्डाको मागभन्दा बढी उत्पादन हुन थालेको छ। जसका कारण बजारीकरण मुख्य चुनौती बनेको छ। कुखुरापालन तथा अण्डा उत्पादनका लागि यो ठाउँ व्यावसायिक हब बन्दै गएको हो। करोडौंको लगानी गरी किसानहरूले व्यावसायिक रुपमा फार्म सञ्चालन गर्ने क्रम बढेको छ भने दमकमा उत्पादित अण्डाले पूर्वको बजार ढाक्दै गएको छ।

अण्डा उत्पादनका लागि पालन गरिने लियर्स कुखुरापालनमा किसानले करिव ५० करोड रुपैयाँको लगानी गरेका छन्। अण्डा उत्पादक संघका अनुसार दमकमा मात्र २७ वटा व्यावसायिक फार्म रहेका छन् भने ती फार्ममा १ लाख ५० हजारको हाराहारीमा कुखुरा पालिएका छन्।

अण्डा उत्पादक संघ झापाका पूर्वअध्यक्ष भरत चम्लागाईंले पोल्ट्री किसानलाई अहिले मुख्य बजारीकरणको समस्या रहेको बताए। ‘झण्डै ९ रुपैयाँ उत्पादन लागत पर्छ’, उनले भने, ‘६ रुपैयाँ २० पैसामा अण्डा बेच्नुपर्ने बाध्यता छ।’ संघका उपाध्यक्षसमेत रहेका दमक एग्रीकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रसाईंले पालन गरिएका कूल कुखुराको संख्यामा आधाले नियमित अण्डा उत्पादन गर्ने गरेको बताएका छन्। यस अनुपातमा हेर्दा दमकमा मात्रै दैनिक ६० देखि ८० हजार अण्डा उत्पादन हुने गरेको छ।

अधिक उत्पादनका कारण अण्डाको बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको मेघा एग्रीकल्चर फार्मका सञ्चालक चौलागाईंले बताए। लगानी बढे पनि अस्वस्थ प्रतिस्पर्धाका कारण बजारीकरणमा समेत समस्या रहेको उनले उल्लेख गरे। ‘उच्च प्रतिस्पर्धा छ, बिक्री हुने जोखिमका कारण किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्ने गरेका छन्’, चौलागाईंले भने, ‘व्यवसायमा पनि जोखिम बढ्दै गएको अवस्था छ।’ मध्य नेपालमा चितवनपछि सबैभन्दा बढी कुखुराको व्यावसायिक पालन झापाको दमकमा छ।

झापा अण्डामा आत्मनिर्भर
अण्डा उत्पादक व्यवसायी संघ प्रदेश समितिका संयोजक माधव पराजुलीले दमकलाई पोल्ट्री उद्योगको नगरका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए। ‘पोल्ट्री( कुखुरा, अण्डा)मा आत्मनिर्भर बन्ने क्रममा छ’, उनले भने, ‘झापा जिल्लामा नै बाहिरबाट वस्तु आयात गर्नु नपर्ने स्थिति तयार भएको छ।’ पराजुलीका अनुसार दमक पोल्ट्री उद्योगको आशलाग्दा सम्भावना देखिएको छ। ‘यो व्यवसायभित्र चुनौती छन्’, तर पनि सुरक्षित ठानेर व्यवसायीहरू आउनुभएको छ’, पराजुलीले भने, ‘अब पोल्ट्रीको दोस्रो राजधानी बनाउन क्रियाशील छौं’।

त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, ६ वटा ह्याचरी उद्योग सञ्चालित छन्। व्यवसायीहरूले दमक–४ मा चितवनपछि ठूलो प्रशोधन भण्डारण केन्द्र निर्माण गरेको दाबी गरेका छन्। ‘यो उद्योग स्थापना भएपछि हामी पोल्ट्री व्यवसायमा थप आत्मनिर्भर हुँदै छाैं’, उनले भने, ‘अब पूर्वका पोल्ट्री व्यवसायीले समेत राहत महसुस गरेका छन्।’ वर्षदिनअघि सञ्चालनमा आएको भण्डारण केन्द्र करिब ५ करोडको लगानीमा स्थापना गरेका हुन्। १६ टन भण्डारण केन्द्र क्षमता प्रशोधन केन्द्रसँग छ। भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरी आएको सञ्चालक पराजुलीले बताए। प्रशोधनसहितको भण्डारण केन्द्रले कुखुरापालकका उपभोग्य मासुसमेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठामाडाैंसम्म निर्यात गर्ने गरेको छ।

बिचौलियाकै भर
प्रदेश १ मा मात्रै २० लाख संंख्यामा लियर्स र बोइलर्स कुखुरा रहे पनि मूल्यमा एकरुपता नहुँदा समस्या परेको छ। लेयर कुखुरापालनमा लागत र जोखिम दुवै उच्च रहने गरेको व्यवसायीहरू बताउँछन्। अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष प्रसार्इंका अनुसार एउटा लेयर कुखुरालाई अण्डा उत्पादन गर्ने बनाउन कम्तीमा ८ सय रुपैयाँ लाग्छ।

यस्तै खोर निर्माणका क्रममा समेत प्रतिकुखुरा एक हजारभन्दा बढी खर्च हुने गरेको छ। खोर तथा दाना दुवैको खर्च एउटा कुखुराले अण्डा उत्पादन गर्ने बनाउन झण्डै २ हजार रुपैयाँ लाग्ने गरेको छ। तर अण्डाको बजार व्यवस्थित हुन नसक्दा अझै पनि किसानले लाभ लिन सकेका छैनन्। यसको कारण बलिया बिचौलिया पनि रहेको उनको भनाइ छ। ‘जब उत्पादन हाई भयो, त्यस बेला बिचौलियाहरूले अण्डाको भाउ घटेको हल्ला फैल्याउँछन्, किसानलाई भ्रम छर्छन् र हतार हतार सस्तो भए पनि बिक्री गर्न बाध्य पार्छन्’, उनले भने, ‘भाउ तल झरेको बेला स्टोरेज गरेर राखी राख्न पनि मिलेन, सस्तैमा बेच्दा लागत पनि नउठ्ने अवस्था हुन्छ।’ एक हजार कुखुरापालन गर्दा नाफा होइन, ३० देखि ४० हजार रुपैयाँसम्म नोक्सानी सहनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

पोल्ट्री व्यवसायी मोहन बाँस्कोटाका अनुसार मूल्यमा एकरुपता नहुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको बताए। ‘व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा छ’, उनले भने, ‘यसले थप समस्या पार्दै आएको छ।’ उनका अनुसार ठूलो लगानी भए पनि सरकारले दाना, उद्योगमा सरकारी सहयोग छैन।’

अण्डा उत्पादक संघका अनुसार पोल्ट्री फार्म तराईका झापा,मोरङ र सुनसरी जिल्लामा अधिक रहेको र ती फार्ममा करिब २५ सय किसानहरू संलग्न छन्। ती फार्ममा किसानबाहेक करिब १ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारीसमेत पाएको उनले बताए। त्यस्ता उद्योगहरूमा करिब २ अर्बको लगानी रहेको छ। पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य वस्तुको बजार स्थानीयदेखि काठमाडौंसम्म निर्यात हुँदै आएको छ।

प्रकाशित: १२ असार २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App