अर्थ

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

लामीडाँडा विमानस्थलमा मंगलबार अवतरण गरिएको जहाज हेर्न भेला भएका स्थानीय। तस्बिर : दमन राई/नागरिक

खोटाङ – ‘त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटकले बाह्रैमास लामीडाँडा विमानस्थल प्रयोग गर्न सक्ने भएका छन्। लामीडाँडा ओर्लेर सोलुखुम्बुसम्म पैदल यात्रा गर्ने र फर्केर यहींबाट काठमाडौं जाने पर्यटकका लागि पनि उपयोगी रुट खुलेको छ।’ यो भनाइ खोटाङ, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका फटिक श्रेष्ठको हो। झन्डै दुई वर्ष सात महिना लगाएर कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको जहाजले परीक्षण उडान भरेपछि आयोजित कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन्। कांग्रेस नेता श्रेष्ठले विमानस्थल स्तरोन्नतिका कारण नयाँ सम्भावनाको ढोका खुलेकाले रावाबेंसी गाउँपालिकाका स्थानीयको भविष्य उज्वल रहेको उल्लेख गरे।

यस्तै, नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले हलेसी आउने हिन्दु तथा बौद्धमार्गी र किरात राईको ऐतिहासिकस्थल तुवाचुङ जायजुम आउने स्थानीयका कारण लामीडाँडा व्यस्त विमानस्थलकारुपमा स्थापित हुने दाबी गरे। ‘नजिकै हलेसी भएकाले लामीडाँडा विमानस्थल व्यस्त बन्छ,’ दंगालले भने, ‘सोलुखुम्बुमा मौसम खराब भएका बेलामा पर्यटक यही विमानस्थलमा बिसाउने भएकाले यो ठाउँ पर्यटकीय दृष्टिले पनि ट्रान्जिट प्वाइन्ट बन्ने छ। तर, डलर पाइन्छ भन्दैमा यहाँको सेड्युल क्यान्सिल गरेर अन्यत्र उडान लैजान पाइन्न।’

२०२८ देखि सञ्चालनमा आएको कच्ची विमानस्थल कालोपत्रे गरेर स्तरोन्नति एवं परीक्षण उडान गरिएपछि जिल्लाको यातायात, पर्यटन, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा महŒवपूर्ण टेवा पुगेको स्थानीयको भनाइ छ। कालोपत्रेको गर्नकै लागि झन्डै दुई वर्षदेखि उडान बन्द रहेको विमानस्थलमा जहाज देख्दा स्थानीय हर्षित भएका छन्। विमानस्थल स्तरोन्नतिका कारण तत्काल उपचारमा लैजानुपर्ने पर्ने प्रकृतिका बिरामीलाई अस्पताल पु¥याउन पनि सहज भएको छ। रावाबेंसी गाउँपालिकामा उत्पादित सुन्तला, लिचीलगायत फलफूल निकासी गर्ने बाटो खुलेको छ। पर्यटकको निरन्तर ओहोर–दोहोर हुँदा स्थानीयको आयआर्जनमा टेवा पुग्ने रावाबेंसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए। स्तरोन्नतिको काम थालिएपछि ठप्प भएको लामीडाँडाका होटल तथा पसल पुनः जाग्नेमा स्थानीय आशावादी देखिएका छन्।

एकपटक थप भएको म्याद गुज्रेको झन्डै आठ महिनापछि कालोपत्रे गर्ने काम पूरा गरिएको लामीडाँडा विमानस्थलमा समिट एयरलाइन्सको विमानले सफल परीक्षण उडान भरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ३४ लाख लगानीमा एकैसाथ दुईवटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको विमानस्थल आयोजना प्रमुख बिनायक भट्टराईले बताए। विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा परीक्षण उडान कार्यक्रम राखेको थियो।

कुल पाँच सय ६० मिटर लम्बाइ भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाई र २० मिटर चौडाईमा कालोपत्रे गरिपछि विमानस्थल हिउँद वर्षा याममा सञ्चालन हुनेगरी स्तरोन्नति भएको छ। निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो। सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गुज्रेपछि थप भएको ७ महिनाको म्याद पनि ठेकेदारले गत २०७५ साल असोजमै गुजारेको थियो। सँगै ठेक्का लागेको खोटाङकै खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलभन्दा चार महिना ढिलागरी लामीडाँडा विमानस्थल कालोपत्रे गरिएको हो। थामखर्क विमानस्थल कालोपत्रे गरिएपछि २०७५ माघ २८ देखि सञ्चालनमा आइसकेको छ। ‘धेरै ठाउँमा विमानस्थल कालोपत्रे भए तर नियमित उडान हुन सकेको छैन। तर, लामीडाँडामा हप्ताको दुई–तीन उडान भर्ने व्यवस्था मिलाउने छौं,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘नजिकै रहेको त्रि–धार्मिकस्थल हलेसी अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्दै छ। ६ सय ३५ मेगावाटको दूधकोसी हाइड्रोपावर यही ठाउँमा सञ्चालन भइरहेकाले यो विनमास्थलमा नियमित उडानको व्यवस्था हुन्छ।’ लामीडाँडा विमानस्थल जिल्लाको तीन विमानस्थलमध्ये सबैभन्दा पुरानो हो। सो विमानस्थल रावाबेंसी, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका सर्वसाधारणले उपयोग गर्दै आएका थिए।

प्रकाशित: ५ असार २०७६ ०६:२४ बिहीबार

विमानस्थल स्तरोन्नति उत्साह