अर्थ

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

वीरगन्ज -‘यो वर्ष रोपाइँको बेला पनि राम्रो पानी परिदियो भने धान मनग्य हुनेछ,’ पर्साको पोखरिया नगरपालिका–१० सिर्बावाका किसान बुनिनारायण राउत कुर्मीले भने, ‘अहिले बिउ हाल्ने बेलामा ठिक्क मात्रामा पानी परेको छ, बिउलाई राम्रो भयो ।’ जिल्लाका किसानलाई धानका लागि बिउको बिड तयार पार्न भ्याइनभ्याइ छ । धान यहाँको मुख्य बाली हो । जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसका लागि जेठभरीमा बिड तयार गरेर किसानले बिउ छर्नुपर्ने हुन्छ । असारभरी रोपाइँ चल्छ । एकातिर खेती किसानीमा काम गर्ने मानिसको संख्या घट्दो छ भने अर्कोतिर प्राविधिले सघाएको छ । रोपाइँदेखि दाईसम्म ट्याक्टर र कम्बाइनजस्ता ठूला कृषि उपकरणले काम गरे पनि बिउको बिडको लागि गोरुकै जोताइ राम्रो हुने कृषकको अनुभव छ ।

‘धानको खेत तयार गर्न माटो घामले राम्ररी सुकेको हुनुपर्छ, जोताइ गरेर खुकुलो भएको माटोमा घाम लाग्यो भने झारपात सुकेर नष्ट हुन्छ, त्यसपछि माटोलाई मसिनो पार्नुपर्छ, पानी परेपछि ‘कदई’ (गिलो मलिलो माटो) धानका लागि उपयुक्त हुन्छ,’ एक हलो गोरुबाट बिउको बिड तयार गरिरहेका पर्साको छिपहरमाई–५ जयमंगलापुरका किसान हलिम मियाँले भने, ‘बिउका लागि तयार पारिने बिडको माटो अझ मसिनो गरी तयार पार्नुपर्छ, त्यसपछि हल्का पानी परेको बेला बिउ छर्ने हो ।’ उनी आफ्नो तीन कट्ठा धानको बिड बिउ हाल्नका लागि अन्तिम जोताइ गरिरहेका थिए । बिडमा चाहिने ठिक्कको पानी यसपालि परेर उनी खुसी छन् । बिडमा हाल्नका लागि घरकै गोबरले तयार प्रांगारिक मल बयलगाडामा लिएर बिउ छर्न पुगेका उनले अल्लाह (इश्वर)लाई धन्यवाद दिन छुटाएनन् ।

अघिल्ला वर्षमा मौसमले साथ नदिँदा धान खेती पछाडि पर्ने चिन्तामा डुबेका किसान यो सिजनको सुरुमा हर्षित छन् । थोरै मात्रामा परेको पानीले बिउका लागि माटोमा चिसोपना बढाएपछि किसानलाई भ्याइनभ्याइ छ । नयाँ पुस्ता विदेशिएको वा सहर बजारतिर सरेकाले गाउँमा खेती किसानीको काम गर्नेको संख्या घटेपछि कृषिकर्म जोगाइराख्न गाउँमा श्रम सापटी सुरु भएको पर्साको जिराभवानी गाउँपािलका–३ नयकाटोलाका किसान रामेश्वर पंजियारले बताए । ‘एउटाले अर्कोको खेतमा काम गरिदिएबापत त्यो अर्को व्यक्ति आएर फेरि पहिलोको खेतमा काम गरेर हिसाबबराबर गर्ने चलन इमान्दारीसाथ गाउँमा यतिखेर कार्यान्यवन भइरहेको छ,’ पंजियारले भने, ‘यसले खेती किसानीलाई बल मिलेको छ ।’ उनका अनुसार यसरी एक अर्कालाई सघाउँदै किसानको ब्यस्तता धान रोपाइँ नसकिएसम्म हुनेछ ।

जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये एक तिहाइ भूभाग मात्र गण्डक पूर्वी नहरसँग जोडिएका छन् । नहरका केही तरसरी (कुलो) कि त व्यक्तिले मिचेर संरचना नै मेटाइदिएका छन्, कि सार्वजनिक रुपमै नहर भरेर सडकको रुपमा प्रयोगमा ल्याइसकिएको छ । यसले नहर सञ्जालमा जोडिएका खेतमध्ये ठूलो हिस्सा त्यसको सिँचाइ प्रणालीबाट अलग्गिएका छन् । मुख्य रुपमा आकासे पानीको भर छ यहाँका किसानलाई । यसपालि आकासस देउताले साथ दिएको सिबर्वाका किसान उमेश यादवले बताए । नहरले नछोएको खेतमा रोपाइँ गर्न आकासे पानीको भर छ । त्यो भएन भने ‘पम्पिङ सेट’ (दमकल)ले सिँचाइ हुन्छ । दमकलको पैसा तिरी सिँचाइ गराउँदा खेतीको लागत बढ्न जान्छ र किसानलाई महँगो पर्छ । स्थानीय भन्छन्, ‘यो वर्ष आकास देउताले सुरुमा साथ दिए, अन्तसम्म देउन् ।’

प्रकाशित: ३१ जेष्ठ २०७६ ०५:४२ शुक्रबार

रोपाइँ किसान धान बिउ