अर्थ

'माग पुरा नभए विदेश जाने रोक्छौ'

काठमाडौं - वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।  

संघका अध्यक्ष रोहन गुरुङका अनुसार सरकारले व्यवसायीले राखेका माग जेठ १६ सम्म पूरा नगरे विदेश पठाउने काम बन्द गरिनेछ। ‘सरकारले हामीलाई हेरेन भने जेठ १७ देखि २३ सम्म युवालाई विदेश पठाउने काम ठप्प पार्नेर्छौ,’ संघको विज्ञप्तिमा छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्षको जेठ ३ गतेदेखि मलेसियाको रोजगारी रोकिराखेको छ। एक वर्षदेखि मलेसिया रोक्दा एकातिर उक्त मुलुक जान खोज्न बेरोजगार समस्यामा परेका छन् भने अर्कोतर्फ म्यानपावरले कामदार पठाउन पाएका छैनन्।

बन्द हुनुअघिसम्म मलेसिया नेपालको पहिलो गन्तव्य थियो। जहाँ वर्षमा एक लाख बढी नेपाली जान्थे। देशमा भित्रिने कुल रेमिट्यान्समा मलेसियाको योगदान ३० प्रतिशत हाराहारी थियो। कामदार पठाउने विषयमा नेपाल र मलेसियाबाट कात्तिक १२ गते श्रम समmभदारी (एमओयू) भने भइसकेको छ। त्यस्तै, मन्त्रालयले गन्तव्य मुलुकबाट कामदारको मागपत्र ल्याउँदा सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासले रोजगारदाता राम्रो अवस्थामा रहेको प्रमाणित गर्नुपर्ने नियम बनाएको छ। सोही नियमका कारण नेपाली राजदूतावास नरहेका मुलुकबाट कामदारको माग ल्याउन कठिन भएको व्यवसायीको गुनासो छ।

सरकारले संस्थागत रूपमा विश्वका एक सय आठ (हाल दुई बन्द) गन्तव्य मुलुकका लागि श्रम स्वीकृति दिने गरे पनि नेपाली नियोग भने ३० देशमा मात्रै छन्। जसले गर्दा राम्रा गन्तव्य मुलुकको माग आउन नसकेको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार मन्त्रालयले दूतावासबाट माग प्रमाणीकरण गर्ने निर्णय गरेका कारण यतिखेर राम्रो गन्तव्य मानिएका पोल्यान्ड, पोर्चुगल जस्ता देशबाट कामदारको माग ल्याउन सकिएको छैन। सरकारी निर्णयका कारण वैदेशिक रोजगारी तहसनहस हुँदै गएको र त्यसको मारमा अर्थतन्त्र पर्ने भएकाले सरकारले समयमै सोच्न व्यवसायीको माग छ।

 

प्रकाशित: ६ जेष्ठ २०७६ ०५:४५ सोमबार

वैदेशिक_रोजगार_व्यवसायी_संघ कामदार म्यानपावर मलेसिया_रोजगारी