अर्थ

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाको अवरोध

बन्दै गरेको एयरपोर्ट । तस्बिर: मोहम्मद/नागरिक

भैरहवा - बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ। सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ। तर, यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो। पहिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ।

उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ। उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको थियो। सम्झौता र कार्यादेश समेत दिइसकेको उपमहानगरपालिकाले पछिल्लो समय उत्खनन गर्न नदिएको स्वासम कन्सट्रक्सन प्रालिका सञ्चालक प्रितेशराज पोखरेलले जानकारी दिए। उनले पटकपटक आग्रह गर्दा पनि उत्खनन गर्न नदिएपछि अहिले आफूले जम्मा गरेको रकम फिर्ताका लागि निवेदन दिएको बताए।

उनकाअनुसार नदीजन्य पदार्थकै अभावमा अहिले विमानस्थलको काम प्रभावित हुन थालेको छ। धावनमार्ग, टर्मिनल भवन लगायत अन्य निर्माण कार्य नदीजन्य पदार्थकै अभावमा प्रभावित भएको उनले जानकारी दिए। विमानस्थलको मुटु मानिने धावनमार्ग निर्माणको अन्तिम तयारीमा रहेको अवस्थामा रकम अभावमा निर्माण कार्य सुस्त भएको छ। ठेकेदार कम्पनीसँग कामदारलाई तिर्ने पारिश्रामिक, इन्धन लगायत अन्य कच्चा पदार्थको अभाव भएको हुँदा कम साधनहरु मात्र निर्माण कार्यमा प्रयोग गरिएका छन्।

विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा भुक्तानी रोकिएको छ भने ढुंगा गिटी पनि पाएको छैन।

यस्तै अवस्था रहिरहे यसले विमानस्थल निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यमा धक्का पुग्ने देखिन्छ। गौतम बुद्ध विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ नदिए छिमेकी जिल्लाबाट ल्याएर भए पनि आयोजना निर्धारित समयमै सकाउने प्रतिबद्धता जनाए। धावनमार्ग, ट्याक्सी वे, स्ट्रिप वे, पेरिमिटर, टर्मिनल, टावरजस्ता काम असार १५ मै सक्ने र आउने मंसिरदेखि व्यावसायिक उडान गर्ने सरकारी घोषणा रहे पनि निर्माण काम फुल फेजमा सुरु भएको १० दिनमा धावनमार्ग र ट्याक्सी वे कालोपत्रे सकिने अधिकारीले बताए।

नदीजन्य पदार्थको अभाव भइरहेकै बेला मन्त्रालयले समयमै फाइल अगाडि नबढाउदा रकमको समेत अभाव भएको छ। पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लापारबाहीको कारण राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य प्रभावित बनेको छ। १०–१५ दिनदेखि चिनियाँ ठेकेदारले उधारोमा समान ल्याए पनि अहिले उधारो नपाएको हुँदा काम नै बन्द गर्नुपरेको आयोजना प्रमुखले जनाए।

अहिले आयोजनाले भोगिरहेका समस्याबारे नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयलाई जानकारी दिँदै आएको र छिट्टै समस्या समाधान हुनेमा विश्वस्त रहेको आयोजनाका इन्जिनियर अधिकारीले बताए। उनले विमानस्थल निर्माण नियमित गर्न मन्त्रालयमा पनि समन्वय गरिरहेको बताए। उनले सोमबार मात्रै अर्थ मन्त्रालयले ७० करोड रकमान्तर गरेको मौखिक खबर आएको र यो रकम ठेकेदारसम्म पुग्न न्यूनतम पाँच दिन लाग्ने र सोही अवधिसम्म मात्र निर्माण कार्य प्रभावित हुने अधिकारीले जनाए।

चिनियाँ कम्पनीले काम गरे बराबर बिल नम्बर २० रोकिएको हो। करिब १६ करोड रकम रहेको यो बिलको ३७.४ प्रतिशत रकम आयोजना आफैंले वैशाख ३ गते भुक्तानी गरेको थियो। बाँकी ६२ प्रतिशत रकम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै एसियाली विकास बैंकमा पुगेर स्वीकृत भएपछि भुक्तानी हुन्छ। सो रकम भुक्तानीको लागि राष्ट्रिय गौरवको आयोजनामार्फत मन्त्रालय पठाइएको फाइल अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा अड्केर एडिबी पुग्न नसकेपछि बाँकी रकम निकासा हुन सकेको छैन।

प्रकाशित: ३१ वैशाख २०७६ ०१:२८ मंगलबार

गौतम-बुद्ध-अन्तर्राष्ट्रिय-विमानस्थल बुटवल_उपमहानगरपालिका