अर्थ

कीर्तिपुरको पहिलो जित

काठमाडौं – अतिरिक्त समयमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।

महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा सम्पन्न खेलमा पाहुना टोली कीर्तिपुरले २ स्कोरको जित निकाल्दै पहिलो जित दर्ता गर्न सफल भएको हो। अतिरिक्त समयमा कीर्तिपुरले घरेलु टोली पुलिसमाथि १५–१३ को जित निकालेको हो। निर्धारित चार क्वार्टरमा दुवै टोलीले समान ७३/७३ अंकको स्कोर निकाल्दा खेलको निर्णय अतिरिक्त समयमा लिइएको हो।

२३–८ को स्कोर निकाल्दै पहिलो क्वार्टरमा जित हात पारेको कीर्तिपुरले दोस्रो क्वार्टरमा १८–१५ स्कोर हात पारेको थियो। पछि परिसकेको पुलिसले तेस्रो क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। २५–१६ को जित निकालेको पुलिसले चौथो क्वार्टरमा पनि नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो। अन्तिम क्वार्टरको समाप्तिसँगै दुवै टोलीले ७३ अंक जोड्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा कीर्तिपुरले बाजी मार्दा जारी प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो।

खेलमा कीर्तिपुर बास्केटबल टिमका सुरज खड्गीले सर्वाधिक ३१ स्कोर गर्दै म्यान अफ दी म्याच घोषित भए।   यसअघि सम्पन्न ५ खेलमा पराजित भएको कीर्तिपुरले पहिलो जितसँगै तालिकामा ७ अंक बनाएको छ। उता दोस्रो पराजय भोगेको पुलिसको ५ खेलबाट ७ अंक रहेको छ।

यस्तै बुधबारै सम्पन्न अर्को खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी टाइम्स इन्टरनेसनल कलेजसँग पराजित भएको छ। टाइम्यसले आमीलाई डबल ओभर टाइमा १०३ का विरुद्ध ९६ को स्कोरले स्तब्ध बनाउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ। योसँगै आर्मीले जारी प्रतियोगितामा पहिलो पराजय भोगेको छ भने टाइम्सले सम्पन्न सबै ६ खेलमा जित निकाल्न सफल भएको छ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा नेपाल पुलिस क्लबले बुढानीलकण्ठ नगरपालिकालाई घरेलु मैदानमा आतिथ्य गर्दा अर्को खेलमा साउथ साइडर्स बास्केटबल क्लबले गोल्डेनगेट इन्टरनेसनल कलेजको सामना गर्नेछ।

प्रकाशित: २६ वैशाख २०७६ ०२:२० बिहीबार

विभागीय_टोली नेपाल_पुलिस_क्लब बास्केटबल