अर्थ

एउटै सडकमा तीन सरकारको लगानी

दमौली – एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरबाटो कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्।

दमौलीदेखि छाब्दीसम्मको सात किलोमिटर कच्ची सडक कालोपत्रे गर्न ब्यास नगरपालिकाले दुई करोड, संघीय र प्रदेश सरकारले १–१ करोड बजेट विनियोजन गरेका छन्। तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्ड कालोपत्रे गर्न काम सुरु भएको छ।

उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको बजेटले कालोपत्रेको काम सुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए। दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा संघीय सरकारले विनियोजन गरेको एक करोडबाट पक्की नाला निर्माण र करिब आठ सय मिटर सडक कालोपत्रे सुरु भएको पण्डितले बताए।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको एक करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने त्यत्ति नै दुरीमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम सुरु गर्ने तयारी गरिएको छ। यसैगरी, ब्यास नगरपालिकाले विनियोजन गरेको दुई करोड बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फ उकालोसम्म कालोपत्रेको काम भइरहेको छ। ब्यास नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने र त्यहाँका जनतालाई सबैले यो योजना हाम्रो हो भन्ने जटिल अवस्था सिर्जना भएको बताए। संघ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्सट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्सट्रक्सन प्रालि दमौलीले पाएको छ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर वर्षा सुरु हुनुअगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताए। उक्त सडक कालोपत्रे नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए। स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटकपटक दबाब दिँदै आएका थिए।

प्रकाशित: ११ वैशाख २०७६ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App