अर्थ

गतिरोध हटाउन राजनीतिक संयन्त्र

वीरगञ्ज - मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगञ्ज–पथलैया सडक ६ ‘लेन’ बनाउन बस्ती र अन्य संरचनाले बाधा पारेका बेला योजना कार्यालयले राजनीतिक संयन्त्रको मद्दत लिन सुरु गरेको छ। वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) नाकासँग जोड्न ६ लेनको बाटो र वीरगञ्ज सहरसँग अर्को चार लेनको बाटो यसअन्तर्गत बनाउन लागिएको हो।

यसमा ठाउँठाउँमा गतिरोध देखिएको छ। ६ लेनअन्तर्गतको बाराको पथलैयादेखि पर्साको परवानीपुरसम्मको खण्डमा पर्ने पाँच नम्बर प्याकेजमा जितपुर बजार क्षेत्रमा रहेको सडकमा परेको घर संरचना हटाउन सकिएको छैन। त्यसलाई हटाउन मंगलबार निर्वाचित जनप्रतिनिधिसहितको स्थानीय राजनीतिक संयन्त्र बनाइएको छ। पाँच किलोमिटरको उक्त प्याकेजमा एक हजार एक सय मिटरखण्डमा साविकको जितपुर बजार रहेको छ। दक्षिण वीरगञ्जतर्फबाट र उत्तर पथलैयातर्फबाट सडक निर्माण भएर सोही ठाउँमा अड्किएको छ ।  समरा जितपुर नगरपालिका–७ का वडाध्यक्ष रामबाबु गुप्ताले सडक निर्माणमा देखिएको गतिरोध पन्छाउने बताए।

योजना निर्माणमा ढिलाइ
विभिन्न बाधा अवरोधले गर्दा योजना निर्माणमा ढिलाइ भएको छ। कम्पनी र व्यापारिक मार्ग विस्तार आयोजनाबीच ६ लेन निर्माण सम्झौताका दौरान तोकिएको समयसीमा नौ महिना नाघेर नयाँ समयसीमा तोकिए पनि ६० प्रतिशत मात्र पूरा हुन सकेको छ। विभिन्न समस्याले गर्दा समयावधि पछाडि धकेलिँदै गएको योजना कार्यालयले जनाएको छ । २०७३ असार ३० गते सम्झौता भएर साउनदेखि ६ वटा खण्डमा सडक निर्माण थालिएको थियो।

देशको सबैभन्दा बढी व्यापारिक पारवहन र यातायात चल्ने यो सडक निर्माण चाँडो सम्पन्न होस् भन्ने अपेक्षा गरिएका बेला यसमा ढिलाइ हुँदै गएको छ। ‘विभिन्न चुनौतीले गर्दा तोकिएको समयावधि केही पछाडि धकेलिएको हो,’ व्यापारिक मार्ग विस्तार आयोजनाको पथलैयास्थित ६ ‘लेन’ योजना कार्यालयका इन्जिनियर अशोक यादवले भने, ‘२०७६ असार मसान्तसम्मका लागि म्याद थपिएको छ, यस अवधिमा सबै काम सम्पन्न होस् भन्ने प्रयास छ, कम्तीमा कालोपत्रे आवश्य नै सकिन्छ।’

समग्र योजनाअन्तर्गत तीन थरीका काम हुँदैछन्। एक, पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिण आउने त्रिभुवन राजपथमा पर्साको लिपनी बिर्ताको परवानीपुरसम्म जोड्ने र त्यहाँदेखि नयाँ बाइपास हुँदै अलौंस्थित सिमानामा बनेको ‘आइसिपी’मा आएर ६ लेन सडक जोडिँदैछ। दोस्रो पारवानीपुरयता गण्डकसम्म त्रिभुवन राजपथको खण्डमा चार ‘लेन’को सडक बन्दैछ। र, तेस्रो यसमा पर्ने तीनवटा पुल पनि बन्दैछन्। सबैभन्दा पछि काम थालिएको पुलमा ३५ देखि ४० प्रतिशत भौतिक प्रगति भएर काम सन्तोषजनक देखिएको इन्जिनियर यादवले बताए। ६ लेनमा ६० प्रतिशत र चार लेनमा ३० प्रतिशत भौतिक प्रगति छ।

यसमध्ये पारवानी–गण्डक चार ‘लेन’ सडकखण्डमा प्रगति अधिक सुस्त छ। यसको निर्माण २०७४ पुसदेखि सुरु भएको थियो। त्रिभुवन राजपथको हालको सडकको मध्यबिन्दुबाट २५–२५ मिटर दायाँ–बायाँ नापनक्सा सम्पन्न भइसकेर अब जग्गा खाली गराई सडक विस्तार गर्नुपर्ने छ। अहिले जग्गा खाली गराएर काम गर्ने ‘साइट’ तयार गर्ने काम भइरहेको योजना कार्यालयले जनाएको छ। उद्योगले फालेको कालो धुलो (छायी)ले गर्दा र उद्योगको संरचना हटाउन ढिलाइले गर्दा यहाँ काम सुस्त भएको बताइएको छ।

सिर्सिया परवानीपुर बाइपास सडक पनि ६ लेनअन्तर्गत पुनर्निर्माण हुन थाल्दा नेपालको ६० प्रतिशत व्यापार हुने वीरगञ्ज नाका जोड्ने त्रिभुवन राजपथको सडकखण्डले अहिलेसम्म सवारी आवागमन धानिँदै आएको छ। यससँगै सवारी चापले यात्रुलाई सास्ती थपिँदै छ भने मालसमान ढुवानीमा समस्या परेको छ। ६ लेन सडक तयार भएपछि बीचमा हरियालीसहितको दुवैतर्फ तीन–तीन ‘लेन’ बाटो हुनेछ। ‘लेन’ तीन–तीन मिटरको हुनेछ। मुल सडकको संरचनाबाहेक दुवैतर्फ पाँच–पाँच मिटरको सर्बिलेन्स ‘लेन’ पनि हुनेछ। सबै ६ ‘लेन’ गरेर ५० मिटर चौडा यो सडक बनेपछि वीरगञ्ज क्षेत्रको मुहारमात्र फेरिने छैन नेपालको अर्थतन्त्रमा पनि यसले सहयोग पु¥याउने वीरगञ्ज उद्योग वाािण्ज्य संघका अध्यक्ष गोपाल केडिया बताउँछन्।

प्रकाशित: ६ वैशाख २०७६ ०१:०९ शुक्रबार

वीरगञ्ज जाँच_चौकी जनप्रतिनिधि