अर्थ

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन अभियान

फेमिलिराइजेसन ट्रिपमा इन्डोनेसिया पुगेका नेपाली टोलीका साथ इन्डोनेसियाका अधिकारी। तस्बिर : नागरिक

इन्डोनेसिया - नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो।

आफ्ना देशका पर्यटकीय गन्तव्यबारे जानकारी दिन इन्डोनेसिया सरकारले नेपालीका लागि परिचयात्मक यात्रा नामक अभियानअन्तर्गत पर्यटकीय गन्तव्य चिनाउने कार्यक्रम सम्पन्न भएको छ। इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन दूतावास ढाकाको संयोजनमा उक्त यात्रा (फेमिलिराइजेसन ट्रिप) सम्पन्न भएको छ। उक्त समूहमा नौजना नेपाली सहभागी थिए। आइएमई समूहले प्रवद्र्धन गरेको आइएमई ट्राभल्स, काठमाडौंको समन्वयमा नेपालका पर्यटन व्यवसायी, मिडियाकर्मीसहितको टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेका छन्।

इन्डोनेसियाको बालीमा क्रियाशील पर्यटन व्यवसायीको सस्था जिडी टुर्स र नेपालका पर्यटन व्यवसायीबीच अन्तक्र्रियासमेत सम्पन्न भएको छ। कार्यक्रममा दुई देशका पर्यटकीय सम्भावना, अवसर र गन्तव्यबारे छलफल भएको थियो। उक्त कार्यक्रममा सहभागीले पर्यटन विकासमा आ–आफ्नो क्षेत्रबाट सघाउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा इन्डोनेसियन दूतावास ढाकाका तृतीय सचिव मुर्नी न्यारिस्टीले इन्डोनेसियाको पर्यटन विकासमा टेवा पु-याउन नेपालीको भ्रमण कार्यक्रम आयोजना गरेको बताइन्। दूतावासको सूचना, संस्कृति तथा पर्यटन विभागकी प्रमुखसमेत रहेकी मुर्नीले इन्डोनेसियामा बालीमात्र नभएर अन्य पर्यटकीय गन्तव्य रहेको जानकारी दिइन्।

पर्यटकीय सम्भावना बोकेका नेपाल र इन्डोनेसियाबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउन सरकारी तथा निजी क्षेत्रको सक्रियतामा पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको हो।

कार्यक्रममा आइएमई ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद सापकोटाले इन्डोनेसियाले पर्यटन प्रवद्र्धनमा अपनाएको पद्धति नेपालको पर्यटकीय क्षेत्रमा अनुशरण गर्न सकिने बताए। ‘पर्यटन सम्भाव्यता अध्ययन तथा प्रचारप्रसारमा सघाउन पुग्छ,’ सापकोटाले भने, ‘काठमाडौं र इन्डोनेसियाको बालीबीच भगिनी सम्बन्ध स्थापना गर्दा दुवै देशले पर्यटनबाट फाइदा लिन सकिन्छ।’ इन्डोनेसियाका नागरिकलाई नेपालको साहसिक पर्यटनमा रमाउन सापकोटाले आग्रह गरे।

पर्यटन मन्त्रालयका प्रतिनिधि डिडिन सेटिया परमानाले पर्यटन प्रवद्र्धनका लागि वन्डरफुल इन्डोनेसिया अभियान चलाएको बताए। ‘नेपालमा इन्डोनेसियाको प्रवद्र्धन होस् भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘यो अभियानले दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।’ इन्डोनेसियाका पर्यटन व्यवसायी विष्णु आरिमबावाले नेपालीले इन्डोनेसियाको समुद्री किनारमा आएर भरपूर आनन्द लिन सक्ने बताए। उनले नेपालमा पर्यटक पठाउन आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

नेपाली टोलीले बालीको हिन्द महासागर किनारमा रहेको उल्लुबातु मन्दिर, रामायणको कथासँग सम्बन्धित केचक नृत्यको अवलोकन गरेका थिए। त्यस्तै तन्जुङ बेनोआले परिचित समुद्री किनारमा जलसँग सम्बन्धित विभिन्न मनोरञ्जनात्मक खेल खेलेका थिए। समुद्रमा विभिन्न फलफूल, वन्यजन्तुका आकृतिमा बनाएका डुंगामा जलयात्राले सबैलाई आकर्षित गर्छ। बाइक बोट, बनाना बोट, फ्लाइङ फिस बोट, फिस फ्लाइङलगायत खेलमा पर्यटक रमाउँछन्। समुद्रको छालमा रमाउन पाउँदा विदेशी पर्यटक प्रफुल्लित थिए। समुद्रमा हुने जल खेलमा निकै रमाइलो भएको हेलो ट्राभल्सका जनरल मेनेजर शिव केसीले बताए।

उक्त टोलीले समुद्रको बाउन्टी क्रुजमा डिनर यात्रा, समुद्र किनारको मुसाडुवा क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत परमान्न मन्दिर, रेमा हिलमा रहेको चिकेन चर्च, जकार्तामा रहेको म्युजियम बैंक अफ इन्डोनेसिया, जकार्तामा रहेको सुल्तान प्यालेस, बोरोबुदुरबाट सूर्योदयको अवलोकन गरेका थिए। सन् २०१० मा इन्डोनेसियामा मेरापी पहाडमा भएको ज्वालामुखी विस्फोट भएको क्षेत्र, त्यसले पु-याएको असरका भग्नावशेषको पनि नेपाली टोलीले अवलोकन गरेको थियो। इन्डोनेसिया बालीकै उमापाक्यलमा कृषि पर्यटनका परिचित छ।

नेपाली टोलीले इन्डोनेसिायको बाली, जोगजकार्ता, सेन्ट्रल जाभा, जकार्ताका विभिन्न क्षेत्रको अवलोकन गरेका हुन्। नेपालबाट वार्षिक करिब २० हजार पर्यटक इन्डोनेसिया भ्रमण गर्न जान्छन्। इन्डोनेसियाका करिब सात हजार पर्यटक वार्षिक रुपमा नेपाल आउने गरेका छन्। नेपालबाट व्यावसायिक घराना, विभिन्न कम्पनीका टुर प्याकेज, सिने क्षेत्रका चर्चित हस्ती पनि इन्डानेसिया पुग्ने गरेका छन्। यात्रामा त्यहाँको भौगोलिक अवस्था, सुन्दर पर्यटकीय गन्तव्य, कला, संस्कृति, कृषि पर्यटन, संग्रहालय, विश्व सम्पदामा सूचीकृत स्थलले विदेशीलाई आकर्षित गर्छ। इन्डोनेसियामा हजारौं टापु छन्। समुद्र किनारमा रहेको यो देशमा धार्मिक सहिष्णुता छ। मुस्लिम देशले परिचित इन्डोनेसियाको बाली प्रान्तमा हिन्दुको बाहुल्य छ। सांस्कृतिक विविधता रहेको यस देशमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ।

त्यहाँका स्थानीयले धार्मिक रुपमा देवी–देवताका मन्दिर बनाएर आयआर्जनको माध्यम बनाएका छन्। अनलाइन सपिङको माध्यमबाट काठ तथा ढुंगाबाट बनाएका कलाकृति बिक्री गरेर आर्थिक रुपमा पनि सम्पन्न बनेका छन्। त्यहाँका सडक छेउ, घर, सांस्कृतिक सम्पदा वरपर सबैतिर कलात्मक रुपमा बनाएका सामग्रीले सबैको ध्यान तान्ने गरेको छ। सन् २०१९ को अनुमानित तथ्यांकअनुसार इन्डोनेसियाको जनसंख्या २६ करोड ८८ लाख ४९ हजार नौ सय ८४ छ।

प्रकाशित: २४ चैत्र २०७५ ०६:४० आइतबार

इन्डोनेसिया पर्यटन अर्थतन्त्र