मकवानपुर– बर्ड फ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लु प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
बर्ड फ्लु प्रभावित क्षेत्रमा ४८ वटा पोल्ट्री फार्म रहेकोमा हेटौंडाको वडा नम्बर ६, ७, १६, १७ लगायतका स्थानका कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो। बर्ड फ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णय अनुसार चैत्र ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गरिएको समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
जिल्लामा बर्ड फ्लू फैलिएको विषयलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रणको थप प्रयास भइरहेको उनले बताए। ‘बर्ड फ्लु नियन्त्रण गर्नका लागि पशु चिकित्सकको प्रमाणपत्रको आधारमा मात्र कुखुराको चल्ला जिल्लामा भित्रिन र बिक्री गर्न दिई रहेका छौं,’ उनले भने। मकवानपुरका ३२ किसानको फार्मका संक्रमित कुखुरा ३ चरणमा नष्ट गरिएको बर्डफ्लु संक्रमण नियन्त्रण इकाईका डा. सुशीला श्रेष्ठले बताइन्।
उनका अनुसार हेटौंडा उपमहानगरपालिकाको हटिया र कमानेमा बर्डफ्लूको संक्रमित थप कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ। बर्ड फ्लूका कारण हेटौंडामा कुखुराको मासु र अण्डा बिक्री बितरणमा उल्लेख्य कमी आएको व्यवसायीहरुले जनाएका छन्।
बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समितिका सचिव एवम् भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलको नेतृत्वमा नष्ट गर्ने अभियान चलाइएको थियो। प्रहरी, प्रशासनको उपस्थितीमा काठमाडौंबाट आएका र भेटेरिनरी अस्पतालका पशु चिकित्सक तथा प्राविधिक कर्मचारीले बिशेष पोशाक लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हुन्। डा. खरेलका अनुसार कुखुरा, अण्डा र दाना नष्ट गर्न २० जना बढी जनशक्ती, खाल्डो खन्न र पुर्न एक्साभेटर समेत परिचालन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्ड फ्लू प्रभावित क्षेत्रको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ती दिने निर्णय समेत गरेको थियो। जसअनुसार प्रति कुखुरा लेयर्स ९ सय रुपैयाँ, बोइलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
यता, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले क्षतिपूर्ती रकम चाँडै उपलब्ध गराउन मन्त्रालयमार्फत् पहल गरिने बताए। ‘हामीले बर्ड फ्लु रोग संक्रमित क्षेत्रको कुखुरा, अण्डा दाना नष्ट गर्न प्रशासनलाई सहयोग ग-यौ’, उनले भने, ‘ऋण लिएर व्यबसाय गरेका व्यवसायी मारमा छन्, चाँडै क्षतिपूर्ती दिन हामी माग गर्छौं।’ संघका अनुसार मकवानपुरमा करिब ३ हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झण्डै ६ अर्ब लगानी रहेको छ।
सिडिओ तामाङको अध्यक्षतामा फागुन ३० गते बसेको आपतकालिन सर्वपक्षीय बैठकको निर्णय अनुसारै चार किल्ला भित्रको कुखुरा, अण्डा र दाना नष्ट गरिरहेको हो। हेटौंडा ७ नागस्वतीका कुलप्रसाद चौलागाईंको कमर्शियल लेयर्स फर्मको मरेको लेयर्स कुखुरामा बर्ड फ्लु फेला परेपछि रोग नियन्त्रण गर्न प्रशासनले चौहदी तोकी कुखुरा, खण्डा र सुली अन्यत्र निकासीमा रोक लगाएको थियो। ठूलो संख्यामा एकै गाउँका कुखुरा मरेपछि नमुना संकलन गरेका हेटौंडा ७ मा कुखुरा बिक्रीमा फागुन १४ बाट प्रशासनले रोक लगाएको थियो।
फागुन दोस्रो सातापछि हेटौंडा ७ कमानेसहित जिल्लाका करिब २५ हजार बढी कुखुरा मरेको किसानहरुले बताएका थिए। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मरेको कुखुराको दोस्रो पटक पठाएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परिक्षण गर्दा बर्ड फ्लु फेला परेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशु सेवा विभागले पत्राचार गर्दै बर्ड फ्लु रोग नियन्त्रण(संशोधनसहित) आदेश २०६४ को दफा ६ अनुसार नियन्त्रण कार्यान्वयन गर्न मन्त्रीस्तरको निर्णय अनुसार गर्न निर्देशन दिएको थियो।
प्रकाशित: १५ चैत्र २०७५ १५:०८ शुक्रबार