अर्थ

प्याराग्लाइडिङ उडानमा कडाइ

पोखरा- पोखराको आकासमा भइरहेको प्याराग्लाइडिङ उडानको व्यवस्थापन जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)ले पाएको छ। हवाई खेलकुद संस्थालाई प्राधिकारिक निकायको रुपमा बुधबारदेखि औपचारिक रुपमा प्याराग्लाइडिङ नियमनको जिम्मेवारी दिइएको हो। अब संस्थाले नै यहाँको आकासमा हुने प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन र नियमन गर्नेछ।

अहिलेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ नियमन गर्दै आएको थियो। प्राधिकारिक निकाय बनेको हवाई खेलकुद संस्था पोखराको आकासमा उडान गर्ने प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था हो। नियमनकारी निकायको कडाइ नहुँदा प्याराग्लाइडिङ उडानमा मनपरि थियो। अब त्यो मनपरि रोक्ने जिम्मा हवाई खेलकुद संस्थाले पाएको छ।

यसअघिको नियमनकारी निकाय क्यानले मनोरञ्जनात्मक खेल गतिविधि भन्दै प्याराग्लाइडिङ माथि कडाइ गर्न सकेको थिएन। त्यस्तै अधिकार नपाएको भन्दै हवाई खेलकुद संस्थाले पनि प्याराग्लाइडिङका पाइलट र कम्पनीलाई सम्हाल्न सकेको थिएन। कतैबाट कडाइ नहुँदा प्याराग्लाइडिङ क्षेत्रमा व्याप्त बेथिति थियो। बेथिति सम्हाल्न नसक्दा पछिल्लो समय प्याराग्लाइडिङ दुर्घटना निकै बढेका थिए। कडाइका साथ नियमन नहुँदा यसअघि मनलाग्दी उडान हुने गरेको थियो। त्यसले पोखरामा प्याराग्लाइडिङ दुर्घटना बढाउँदै लगिरहेको थियो।

प्राधिकारिक निकायको जिम्मा पाएको हवाई खेलकुद संस्थाले औपचारिक रुपमा बुधबारदेखि जिम्मेवारी लिएको छ। प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठका अनुसार प्राधिकारिक निकाय बनेको हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ व्यवसायी र पाइलटलाई नियमन गर्नेछ भने संस्थाको गतिविधिमाथि प्राधिकरणले हेक्का राख्नेछ।

‘एक वर्षका लागि हामीले हवाई खेलकुद संस्थालाई नियमनको जिम्मा दिएका हौंं। हरेक तीन–तीन महिनामा प्राधिकारिक संस्थाको कामको मूल्यांकन गर्नेछौंं,’ श्रेष्ठले भने, ‘वर्ष दिनको काम सन्तोषजनक नभए नवीकरणबारे सोच्न सकिनेछ। अधिकार पाएको भन्दै संस्थालाई जे पनि गर्ने जिम्मा होइन।’ सन्तोषजनक काम गरेको खण्डमा एक–एक वर्षको अन्तरालमा हवाई खेलकुद संस्थाको नवीकरण हुने उनले बताए।

सर्तअनुसार काम नगरे हवाई खेलकुद संस्थालाई नै कारबाही हुने पनि उनले बताए। हवाई खेलकुदले जिम्मा लिएअनुसार काम नगरी कम्पनी र पाइलटको गल्ती ढाकछोपमा लागेका खण्डमा प्राधिकारिक संस्था र कम्पनी तथा पाइलटलाई नै कारबाही हुने उनले बताए । ‘यो व्यवस्थापनले प्याराग्लाइडिङमा थप कडाइ हुनेछ। अहिलेसम्म छुट पाए पनि अब हुने छैन,’ श्रेष्ठले भने, ‘प्राधिकारिक निकायले छुट दिँदैमा हुँदैन, हामी (क्यान)ले पनि आफ्नै तरिकाले हेरिरहने छौंं।’

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकारिक निकाय हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ पाइलटको लाइसेन्स दिने, नवीकरण, अनुगमन, घटना छानबिन, कसैले नियम उल्लंघन गरेमा लाइसेन्स निलम्बन, स्लट व्यवस्थापन गर्ने, नयाँ कम्पनीको सिफारिस गर्ने लगायत जिम्मा पाएको छ। ‘हामीले अहिलेका लागि प्राधिकारिक निकायको रुपमा हवाइ खेलकुदलाई जिम्मा दिएका हौंं। सधैंका लागि पाएको होइन,’ पोखरेलले भने, ‘यसले प्याराग्लाइडिङ क्षेत्रको बेथिति रोकिने विश्वास छ।’

पोखरेलका अनुुसार मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ अनुसार प्राधिकरणबाट अनुमति लिएर मात्र उडान भर्न पाइने व्यवस्था छ। त्यसै अनुसार अहिले विदेशी पाइलटले पोखरामा उडान गर्दा कुनै एक कम्पनीको सिफारिसका आधारमा प्राधिकरणले शुल्क लिएर अनुमति दिन्छ  तर, अब हवाई खेलकुदले जिम्मा पाए पनि नियमावली संशोधन नभएसम्म उडान अनुमति प्राधिकरणबाटै लिनुपर्नेछ। नियमावलीको प्रावधान संशोधन भएपछि मात्र हवाइ खेलकुदले उडान अनुमति दिन थाल्ने उनले बताए। अहिलेका लागि प्राधिकरणबाटै अनुमति दिने काम हुने उनले बताए। प्राधिकरणले प्राधिकारिक निकाय हवाई खेलकुदलाई तत्कालका लागि केही अनुदान दिने पोखरेलले बताए। तर, तत्काल कति अनुदान दिने भन्ने निक्र्यौल भएको छैन।

पोखराको आकासमा झन्डै दुई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन गर्न मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ ल्याइएको थियो। त्यही नियमावलीमा मनोरञ्जनात्मक उड्डयन क्रियाकलापलाई व्यवस्थित गर्न भिन्दै प्राधिकारिक निकाय तोक्ने व्यवस्था थियो। त्यही अनुसार आवेदन मागेर हवाई खेलकुद संस्थालाई जिम्मा दिइएको पोखरेलले बताए। अहिलेको व्यवस्थापनले प्याराग्लाइडिङ क्षेत्रमा थप कडाइ हुने पनि उनले बताए। यसले मनपरी गर्न रोक लगाउने पनि उनले बताए।

कडाइका साथ नियमन नहुँदा गल्ती गर्ने प्याराग्लाइडिङ पाइलट र कम्पनीलाई नै कारबाही हुन सकेको थिएन। पाइलटले तोकिएको क्षेत्र तोडेर उडान गर्ने, लाइसेन्स नलिई उडान गरेमा, मादक पदार्थ सेवन गरेर उडान गरेमा, बिमा नगराई यात्रु र पाइलटले उडान भरेमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने र लाइसेन्स नै रद्द हुने गरी कारबाही गर्ने प्रावधान रहेको छ। अहिलेसम्म निकै नै कम मात्रामा कारबाही भए पनि अब गल्ती गर्नेमाथि कडाइ हुने उनले बताए।

प्राधिकारिक निकायको जिम्मा पाएको हवाई खेलकुद संस्थाले अब विज्ञसहितको टिम तयार पारेर प्याराग्लाइडिङलाई व्यवस्थापन गर्नुपर्नेछ। बेलाबेला हुने गरेका दुर्घटनाको विवरण राख्नुपर्ने, दुर्घटनालगत्तै प्राधिकरणमा जानकारी दिनुपर्ने जिम्मा पनि पाएको छ। हवाई खेलकुद गतिविधि भएकाले अन्तर्राष्ट्रिय प्रचलन पनि भिन्दै निकायले प्याराग्लाइडिङलाई नियमन गर्ने प्रचलन रहेको पोखरेलले बताए। ‘प्राधिकरणसँग भिन्दै विज्ञ पनि छैनन्। इन्जिनबाट चल्ने हवाई गतिविधिलाई मात्र प्राधिकरणले हेर्ने हो। प्याराग्लाइडिङ हवाई खेलकुद हो,’ उनले भने, ‘त्यसैले पनि भिन्दै निकायलाई हामीले उसको क्षमता हेरेर अधिकार दिएका हौं।’ बढी दुर्घटना हुन थालेकाले एकल (सोलो) उडानलाई बढी ध्यान दिनुपर्ने उनले बताए। 

प्राधिकारिक निकायको जिम्मा लिएको हवाई खेलकुद संस्थाका सचिव इन्द्र भण्डारीले जिम्मेवारी बढेकाले त्यही अनुसार काम गर्नुपर्ने बताए। ‘निगरानी गर्ने अधिकारले थप व्यवस्थित हुने अपेक्षा गरेका छौं। अहिलेसम्म प्याराग्लाइडिङ क्षेत्रलाई सबैले बेवास्ता गरेका थिए,’ उनले भने, ‘अब भने यसलाई सही बाटोमा हिँडाउने जिम्मा हामीले पाएका छौं। प्याराग्लाइडिङलाई अब थप व्यवस्थित गर्नेछौं।’

नेपालमा अहिलेसम्म ७० वटा प्याराग्लाइडिङ कम्पनीले उडान अनुमति लिएका छन्। ती मध्ये ६३ वटा पोखरामा रहेका छन्। अरु कम्पनीले काठमाडौं, तनहुँ, पाल्पा, स्याङ्जा लगायत जिल्लाबाट उड्ने अनुमति लिएका छन्। तर पोखरामा अनुमति लिए पनि अहिले ५८ वटा कम्पनीले मात्र नियमित उडान गरिरहेका छन्। पोखराको आकास प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट पाँचौ गन्तव्य रहेको व्यवसायीले बताउँदै आएका छन्।

प्रकाशित: १४ चैत्र २०७५ ०५:१७ बिहीबार

प्याराग्लाइडिङ पोखरा कडाइ