धादिङ - उत्पादन क्षमता बढाउन जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौं’ भन्ने नाराका साथ आफ्नो वडाका सबै किसानको माटो परीक्षण गराएका हुन्।
वडाबासीको जीविकोपार्जनको स्रोत कृषि भए पनि पछिल्लो समय उत्पादनमा ह्रास आउन थालेपछि माटोको अवस्था पत्ता लगाउन र के कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गरिएका वडाध्यक्ष कृष्ण गुरुङले बताए।
जिल्लाका अधिकांश व्यक्ति कृषिमा निर्भर रहे पनि कृषिजन्य वस्तु उत्पादनमा ह्रास आइरहेका बेला किसानका लागि शिविर ढुंगा खोज्दा देउता मिलेजस्तै भएको किसान फणिन्द्र प्रसाद दुवाडीले बताए। ‘हामीले खेतीपाती गर्दा जुनसुकै ठाउँमा पनि गर्दै आइरहेका छौं,’ दुवाडीले भने, ‘परीक्षणपछि मात्रै माटो सुहाउँदो खेतीपाती गर्नुपर्ने रहेछ भन्ने थाहा पाइयो।’ आफ्नो खेतबारीको माटो कस्तो खालको भन्ने नै थाहा नपाई खेतीपाती गर्ने किसानका लागि शिविरले थप टेवा दिएको किसानको भनाइ छ।
समुन्दी सतहबाट पाँच सय ८४ देखि करिब १४ सय मिटरको उचाइसम्म फैलिएको ४ नम्बर वडामा स्थानअनुसार लिची, आँप, अनार, केरा, कफी, एभोकाडो, कागती, अदुवा, बेसार खेती, मौसमी तथा बेमौसमी खेती, उन्नत बीउको प्रयोग गरी मकै, धानलगायत खेती गर्न सिफारिस गरिएको छ। आफ्नै घरको आँगनबाट आफ्नो खेतबारीको माटो जाँच गर्न पाइएको र आगामी दिनमा माटो सुहाँउदो खेतीपाती गर्न सजिलो भएको भन्दै किसान खुसी भएका छन्।
गाउँमा गरिएको माटो परीक्षण शिविरमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटास परीक्षण गरिएको थियो। शिविरमा माटो परीक्षण गराएका करिब एक सयवटा व्यावसायिक ढंगबाट काम गर्न चाहने र प्लास्टिक टनेलभित्र खेती गर्न चाहने किसानको माटोको सुस्म तत्व परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशाला हरिहर भवन ललितपुर पठाइने जानकारी दिइएको छ। प्राविधिकको सिफारिस अनुरुप सर्वप्रथम माटो सुधार गर्ने कार्यक्रम गर्ने र त्यसपश्चात अनुदानमा वडा तथा अन्य निकायसंग समन्वय गरि फलफुल, घाँस, र उन्नत जातका वीउ वीजन वितरण गरिने वडा कार्यलय जनाएको छ।
फागुन महिनाभर ४ नम्वर वडा अन्तरगत साविकको ढोला गाविसको टोल टोलमै पुगेर ८ सय भन्दा बढी किसानहरुको माटो परीक्षण गरिएको थियो। प्रयोगशालामा गएर आँफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण गाउँमै सेवा दिनको लागि वडा कार्यलयले माटो परीक्षण शिविर आयोजना गरेको वडा अध्यक्ष गुरुङले बताए। ‘माटोमा अम्लियपना बढी, उत्पादकत्व घटेको अवस्थालाइ मध्यनजर गर्दै माटोको अवस्थामा सुधार ल्याउन शिविरको आयोजना गरेका हौँ’ अध्यक्ष गुरुङले भने, ‘यसले किसानलाई माटो सुहाउँदो ब्यवसायिक खेतीतर्फ आकर्षित गराउनको लागि मद्धत गर्नेछ।’
माटो परीक्षणको समग्र रिपोर्ट विश्लेषण गर्दा माटोमा अम्लियपना बढी रहेको पाइएको वडा कार्यलयले जानकारी दिएको छ। जसमा क्रमशः पिएच ४.०–५.०, प्राङगारिक पदार्थ कमदेखी मध्यम, नाइट्रोजन कम देखी मध्यम, फोस्फरस मध्ययम देखी उच्च, र पोटास उच्च रहेको पाइएको छ। माटो परीक्षणका संलग्न विज्ञ सरीता कोइरालाका अनुसार किसानले क्रमश गाइ बस्तु पाल्न छाडेको, कम्पोष्ट मल पनि नवनाउने भएकाले माटोमा प्राङगारिक पदार्थ घट्दै गएको हो। त्यस्तै खेती गर्नुभन्दा १–२ महिना पहिल्यै बारीमा मल लगेर राख्ने, उपयुक्त बाली चक्र नअपनाउने भएकाले माटोमा नाइट्रोजन कमी हुने गरेको कृषि विज्ञ सरिता कोइरालाले बताइन्। त्यस्तै बढ्दै गएको रासायकि मलको प्रयोगले पनि माटो अम्लियपना बढेको उनले बताइन्।
प्रकाशित: १० चैत्र २०७५ ०६:५६ आइतबार