अर्थ

माथिल्लो सान्जेनको ८० प्रतिशत काम सकियो

रसुवास्थित माथिल्लो सान्जेन जलविद्युत् आयोजना। तस्बिर/ नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकिएको छ। सन् २०१९ डिसेम्बरभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। अहिले आयोजनामा पावर हाउस निर्माणको काम भइरहेको छ। पावर हाउसको फाउन्डेसनमा ढलान गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुदनसिंह महतले बताए। सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएसँगै पावर हाउसको काम सुरु गरिएको आयोजनाले जनाएको छ। ‘आयोजनामा अहिले हाइड्रो मेकानिकलको काम भइरहेको छ,’ उनले भने, ‘आगामी चैतसम्ममा हेडवक्सको काम सकिन्छ।’ 

सिभिल, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलसँग निर्माण सपन्न गर्ने समय तोक्ने काम सकिएको उनले बताए। आयोजनाको २०६८ असोज २३ गते पिपिए भएको थियो। १४.८ मेगावट क्षमताको आयोजनाको करिब ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। त्यस्तै चार सय ५० मिटर पेनस्टक पाइप राख्नुपर्नेमा ४० मिटर पाइप राखिएको आयोजनाले जनाएको छ। २०७६ असोजमा परीक्षण उत्पादन सुरु हुने आयोजना प्रमुख महतले बताए। आयोजना निर्माणका लागि हालसम्म तीन पटकसम्म म्याद थप गरिएको छ। आयोजना २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको पछिल्लो पटक थपिएको म्यादअनुसार २०७६ पुस १५ भित्र उत्पादन सुरु गरिसक्नुपर्ने छ। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रो मेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ। 

आयोजनाको सिभिलतर्फ ८०, इलेक्ट्रो मेकानिकलतर्फ ६० र हाइड्रो मेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। इलेक्ट्रो मेकानिकलतर्फ सामग्री ल्याउने काम भइरहेको छ। आयोजनाका अनुसार स्लोप प्रोटेक्सन, हेडवक्स निर्माण तथा पिकिङ पन्ड निर्माणको काम भइरहेको छ। आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर कार्य अघि बढेको आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माणका लागि २०७४ वैसाख २४ गते ठेक्का सम्झौता भएको थियो। 

प्रकाशित: १२ फाल्गुन २०७५ ०६:०० आइतबार

माथिल्लो_सान्जेन_जलविद्युत्_आयोजना काम आमाछोदिङ्मो_गाउँपालिका