अर्थ

मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा (भिडियो)

तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं– इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ।

नागरिक नेटवर्कसँगको भिडियो कुराकानीमा सचिव ठाकुरले मन्त्री मगरले मौखिक आदेशमा आफूलाई काम लगाउन खोजेको बताएका छन्। उनले भने, ‘मैले लिखित मागें। मन्त्रीले मौखिक आदेश दिएर हामीलाई अप्ठेरो पार्ने काम गर्न खोज्नुभयो। उहाँले कहिल्यै पनि लिखित दिनुहुँदैन।’

काठमाडौंमा वार्षिक चार अर्ब रुपैयाँको पानी कारोबार हुँदै आएको सचिव ठाकुरले दाबी गरे। उनले भने, ‘मेलम्ची समयमा आयो भने यो सबै कारोबार ठप्प हुन्छ। उनीहरू सकेसम्म मेलम्चीको पानी समयमा नल्याउने बाटो खोज्दै छन्।’

सुरुङ निर्माणको काम पाएको इटालियन कम्पनी सीएमसीको ठेक्का यसअघि नै तोडिइसकेको छ। सन् २०१९ को नयाँ वर्ष मनाउन जाने क्रममा सरकारले सीएमसीका कर्मचारीहरुको राहदानी नियन्त्रणमा लिएको थियो। उनीहरु काम छाडेर भाग्ने आशंकामा यसो गरिएको सरकारले बताउँदै आएको छ।

सुरुङ खन्ने काम सकिए पनि अहिलेसम्म मेलम्चीको सुरुङ पूर्ण रुपमा तयार छैन। अस्थायी रुपमा मेलम्चीको पानी सुरुङमा फर्काउने काम अहिलेसम्म थालिएको छैन। सरकारले सीएमसीलाई दिनुपर्ने भुक्तानी र सम्पत्ति जफत गरेर अहिले सात अर्ब रुपैयाँ नेपाल सरकारको नियन्त्रणमा रहेको सचिव ठाकुरले बताए।

‘मन्त्रीले त्यो रकम भुक्तानी दिन मौखिक आदेश दिनुभयो। सीएमसीले भोलि काम गर्छ भन्ने ग्यारेन्टी छैन’, सचिव ठाकुरले भने, ‘भोलि काम गर्छ भन्ने ग्यारेन्टी नभई सीमसीलाई यति ठूलो रकम किन भुक्तानी दिने?’ मन्त्रीसँग मिलेर आयोजनाबाट पैसा खाने गरेको विषयमा सोधिएको प्रश्नमा उनले अनभिज्ञता व्यक्त गरे।

प्रकाशित: ७ फाल्गुन २०७५ १०:४५ मंगलबार

मेलम्ची_खानेपानी_आयाेजना सीएमसी बिना_मगर गजेन्द्र_ठाकुर