अर्थ

शंकामा ट्राभलर असिस्ट, छानबिन गर्दै सरकार

काठमाडौं – पर्यटन क्षेत्रमा उद्धारको काम गर्दै आएको एक विदेशी कम्पनी ट्राभलर असिस्टलाई शंकाको घेरामा राख्दै सरकारले छानबिन थालेको छ।

ट्राभलर असिस्ट र त्यसका प्रतिनिधि ड्यानी केनले नेपालको पर्यटन क्षेत्रलाई असर पार्ने गरी काम गरेको भन्दै छानबिन थालेको बुझिएको छ। उक्त कम्पनीले फर्जी उद्धारको विषयलाई लिएर नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रियस्तरमा गलत अफवाह फैलाउने काम गरेको सरकारको निष्कर्ष छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार सञ्चार माध्यम प्रयोग गरेर उक्त कम्पनीले नेपालको पर्यटन क्षेत्रको बदनाम गरिरहेको छ। ‘फर्जी उद्धारको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको बदनाम गराउन ट्राभलर असिस्ट लागेको पाइयो,’ मन्त्री अधिकारीले भने, ‘नेपालको बदनाम गरेर नेपालमै व्यवसाय फैलाउन सक्रिय रहेको पाएपछि यो कम्पनीलाई निगरानीमा राखेर अनुसन्धान सुरु गरेका छौं।’ ट्राभलर असिस्टको  शंकास्पद गतिविधिबारे सक्दो चाँडो छानबिन भएर तथ्य बाहिर आउने मन्त्री अधिकारीको दाबी छ।

नेपाल वायुसेवा सञ्चालक संघको तर्फबाट पर्यटन उद्धार तथा खोजबिन निर्देशक समितिका सदस्य राजु न्यौपानेका अनुसार ट्राभलर असिस्ट बिमा कम्पनीको एजेन्ट हो। यसले नेपाल आउने पर्यटकको बिमा गरेर व्यवसाय विस्तारको लागि नेपालको फर्जी उद्धारबारे प्रचार गरेर नेपालकै बदनाम गराउने काम गरिरहेको छ। कम्पनीले नेपालको पर्यटन मन्त्रालयसँग सम्पर्कमा रहेको भन्दै पर्यटक उद्धार र बिमासम्बन्धी काम दिन नेपालका ट्राभल र ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनी र अस्पताललाई अनुरोध गर्दै आएको छ। 

यही कम्पनीले नेपालमा ‘फेक रेस्क्यू’ रहेको र त्यसलाई नरोकेमा आफू नेपाल आउने पर्यटकको बिमा नगराउने दाबी गर्दै गत जेठमा मन्त्रालयमा उजुरी दिएको थियो। जानकारका अनुसार फेक रेस्क्यूको उजुरी दिने कम्पनीले व्यवसाय विस्तार गर्नलाई गलत प्रचारको सहयोग लिइरहेको छ। 

हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल ट्राभलर असिस्टले एकातिर सरकारसँग पर्यटकको बिमा रोकिने भन्दै धम्काउने र अर्कोतिर नेपाली कम्पनीसँग व्यवसाय माग्ने दोहोरो चरित्र देखाउँदा ऊ आफैं नेपालको पर्यटन क्षेत्रलाई असर पुर्‍याउन लागिपरेको अनुमान गर्न सकिने बताउँछन्। आफ्नो व्यवसाय विस्तारको लागि कम्पनीले गरेका काम तथा फैलाएका भ्रमले पर्यटन क्षेत्रलाई असर पुग्ने हुँदा सरकारले यसलाई चाँडै छानबिन गरेर आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम आचार्य पनि ट्राभलर असिस्टले धम्काउँदै मन्त्रालयमा पत्र पठाउने काम गरिरहेको बताउँछन्।

प्रकाशित: २९ माघ २०७५ ००:३३ मंगलबार

पर्यटन_क्षेत्र ट्राभलर_असिस्ट विदेशी_कम्पनी शंका छानबिन